site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कपाल खौरिँदाको छटपटी
Sarbottam CementSarbottam Cement

“सुरक्षा, भोलिका दिनमा कपाल काट्नुपर्ने स्क्रिप्ट आयो भने तिमी के गर्छौ ?” चलचित्र ‘घर’ छायांकनमा रहेका बेला दीपेन्द्र के. खनालले गरेको यो प्रश्नले सुरक्षा झस्किइन् । 

हो त है कलाकार हुँ, भोलि कपाल काट्नु पर्ला, सगरमाथा चढ्नु पर्ला । मोटाउनु पर्ला, दुब्लाउनु पर्ला रे, कलाकार भएपछि जे पनि गर्नु पर्ला नि । 

प्रश्नसँगै सुरक्षालाई मौन भइन् । एकछिनपछि उनले भनिन्– सायद चलचित्रमा भरपर्छ होला । 

Prabhu Bank
Agni Group
NIC Asia

ठीकै पनि हो । किन भने नायिकाले कपाल काटेका चलचित्रको समीक्षा र व्यापार पनि उनले देखेकी छिन् । त्यसैले जोस्सिएर कपाल खौरिएर चलचित्र चलेन भने त्यसको के अर्थ ? 

त्यसैले उनको जवाफ थियो– कपाल खौरिएको औचित्य स्क्रिप्ट देखिन्छ कि देखिँदैन, त्यसमा भर पर्छ । अर्को कुरा कहिले काहीँ कलाकार स्क्रिप्ट ठीकै लागे पनि राम्रो पैसा आयो भने सम्झौता गरिरहेका हुन्छन् । 

Global Ime bank

घाम ताप्दाको कुरा तर पनि सुरक्षाले अप्रत्यक्ष रूपमा थाहै नपाई आफूलाई मनोवैज्ञानिक रूपमा तयार पारिसकिछन् । भलै उनी त्यसमै घोत्लिएर बसिनन् । 

केही महिना पछिको एक दिन– सुरक्षा नाटक ‘क्लेशा’ गर्दै थिइन् । मण्डला थिएटरमा भेटिएकी सरिता गिरीले भनिन्– सुरक्षा तिमीलाई दीपेन्द्र दाइको फोन कल आउन सक्छ है चलचित्रका लागि । स्क्रिप्ट राम्रै छ । 

दीपेन्द्रको फोन
नभन्दै केही दिनमा सुरक्षाको मोबाइलमा दीपेन्द्रको फोनको घण्टी बज्यो । दीपेन्द्रले आफ्नो अफिस गहनापोखरी बोलाए । 

दीपेन्द्रले आफूसँग नयाँ चलचित्रका लागि स्क्रिप्ट रहेको सुनाउँदै भने, “तिमीले मसँग राम्रो स्क्रिप्ट भए कपाल खौरिन्छु भनेकी थियौ । के छ विचार ?” 

उनले चलचित्र आमाको वान लाइन स्टोरी पनि सुनाए । 

“तिमी काम गर्छौ भने थप कुरा गरौं, होइन भने मैले अरूसँग कुरा गर्नुपर्छ,” दीपेन्द्रले भने । 

कपाल काट्नु र खौरिनु फरक हो । कपाल रहरले काटिन्छ । त्यसमा स्टाइलका लागि केही कपाल ब्याकअप हुन्छ । तर खौरिनु ‘स्टाइल’ होइन । त्यसमा पनि महिलाले कपाल खौरिनुलाई समाजले स्विकार्दैन । त्यसैले यो महिलाका लागि चुनौती हो । 

“हिरोइनले कपाल काटेका चलचित्र पनि फ्लप भएको मैले देखेको छु । स्क्रिप्ट सेयर गर्नुस् । मलाई स्क्रिप्ट चित्त बुझेन भने पनि कम्तीमा केही न केही सुझाव दिन सक्छु,” सुरक्षाको आग्रह थियो । 

दीपेन्द्रले स्क्रिप्टको दोस्रो ड्राफ्ट तयार पारेका रहेछन्, दिए । त्यहीँ बसेर दुई घण्टा लगाएर पढिन् । राम्रो लाग्यो । तर स्क्रिप्टमा केही काम गर्न बाँकी थियो । 

कपाल काट्नुको उद्देश्य ‘क्लियर’ थियो । त्यसैले उनले भनिन्, “स्क्रिप्ट मलाई मन पर्‍यो । स्क्रिप्टमा काट्नु पर्नेरहेछ । हुन त अरू पनि विकल्प हुन्छन् कपाल छोपेर काटेको जस्तो देखाउने । तर त्योभन्दा पनि खौरिएकै राम्रो देखिन्छ । म कपाल खौरिन तयार छु । तर, अझै फिमेल प्रोटागोनिस्टलाई बलियो बनाउन काम गर्नुपर्छ ।”

दीपेन्द्रले भने, “योपटक म स्क्रिप्ट डेभलप्मेन्टमा कलाकारलाई राख्छु । यो त सेकेन्ड ड्राफ्ट मात्रै हो । फाइनल ड्राफ्टका लागि अझै समय लाग्छ ।”

स्क्रिप्ट लिएर घर गइन् । आफूलाई लागेका कुरा थपिन् । दिन बिराएर कार्यालय जान्थिन् । दीपेन्द्रसँग छलफल गर्थिन् । अन्य कलाकार पनि आउँथे, स्क्रिप्टमा छलफल गर्थे । दीपेन्द्रले १२औं ड्राफ्ट फाइनल स्क्रिप्टका रूपमा लक गरे ।

ती सर्त 
चलचित्रमा केही सर्त थिए । जस्तै– कपाल काट्ने, पानीमा खिच्ने । कलाकारहरू जुनसुकै समय उपलब्ध हुनुपर्ने । छायांकनको टाइम जोन थिएन, पानी परेका बेला जुनसुकै समय खिचिँदै थियो । 

सुरक्षालाई सर्त मञ्जुर थियो । यो वर्ष असारमा खासै पानी परेन । असारमा दुईवटा सिनबाहेक अरू खिच्न पाएनन् । साउनको पहिलो साताबाट अलि धेरै पानी पर्न थाल्यो । चलचित्र खिच्न थालियो ।

छायांकन काठमाडौं र सिन्धुलीमा थियो । 

कपाल अन्तिमा काट्ने सल्लाह भयो । कारण छुटपुट र चित्त नबुझेका सिन खिच्नुपर्ने हुनसक्छ । 

सबै सिन सकियो । मोन्टाज पनि लिइसकियो । अब कपाल खौरिने सिन मात्रै छ भनेर सुटिङ युनिट सिन्धुलीतर्फ लाग्यो । 

कपाल खौरिँदै छु भनेर उनले आफ्ना केही मिल्ने साथीहरूसँग सल्लाह लिएकी थिइन् । उनीहरूले स्टोरी मनप¥यो भने काट भने । उनीहरूमध्ये केहीले नखौर भन्ने पो हुन् कि भन्ने सुरक्षाले सोचेकी थिइन् । तर उल्टै उनीहरूले नेपाली सिनेमामा यो किन भइरहेको छैन, धेरै पहिला नै हुनुपर्ने हो भने ।

बेखबर बुबाआमा 
घरमा बुवा ममीलाई भने सुरक्षाले भनिन् । कारण महिलाको सौन्दर्य र परिचय कपाल काट्न सहजै ‘ओके’ भन्छन् भन्ने उनलाई विश्वास थिएन । “कन्भिन्स गर्दैै जाँदा एउटा पोइन्टमा त म मनाउन सक्थेँ तर त्यसमा लामै तर्क वितर्क हुन्थे । सम्झाउन समय लाग्छ त्यसमा म जान चाहिनँ,” सुरक्षा भन्छिन्, “बरु काटिहाल्छु, एकदुई दिन रिसाउनु हुन्छ । त्यसपछि त कुरा बुझिहाल्नु हुन्छ भनेर मैले घरमा खबरै गरिनँ ।” 

कपाल खौरिने अघिल्लो दिन 
कपाल भोलि काटिँदै छ भन्ने सुरक्षालाई थाहा थियो । उनी त्यो बेलासम्म क्यारेक्टरमा डुबिसकेकी थिइन् । कारण स्क्रिप्ट त्यस्तै थियो । हस्पिटलको सिन थियो । रोएको रोयै । संवेदनशील भइसकेकी थिइन् । 

ऐनाअगाडि बसेर उनी आफैंलाई हेरेर बसिरहेकी थिइन् । भोलिबाट यो मेरो कपाल हुँदैन । कस्तो देखिने होला । म कपाल किन काटिरहेकी छु ? आफैंले आफैंलाई प्रश्न गरिरहेकी थिइन् । यो मेरो कपाल मेरो पूरै उमेर हो । मेरा हरेक हरेक सुखदुःखको साक्षी र साथी हो । उनी भावुक भइरहेकी थिइन् । 

जब मान्छेले केही त्याग गर्दैन तबसम्म केही पनि पाउँदैन भन्ने पनि उनलाई चेतना थियो, त्यसैले आफैंले आफैंलाई सम्झाउने प्रयास पनि गरिरहेकी थिइन् । 

ती सपना
कपाल काट्ने अघिल्लो रात उनले अनेक सपना देखिन् । कपाल हलहली बढेको, बढेर कपालकै जङ्गल बनेको, कपालमा आगो लागेको देख्थिन् । निद्रा परेन । रातभर कोल्टो फेरिरहिन् । 

साँझको सिन थियो । खोलातिर लागे । चिता तयार पारियो । कपाल खौरिन सुरक्षा तयार थिइन् । विडम्बना ! लाइटले साथ दिएन । त्यो दिनको छायांकन निर्देशकले प्याक अप गरे । 

ओहो ! सुरक्षाका लागि फेरि २४ घण्टा छटपटिने गर्ने समय थपियो । दीपेन्द्र यो चलचित्रमा कति पनि सम्झौता गर्ने पक्षमा थिएनन् । होटल फर्किए । 

घाटतर्फ लागेको दिन
अघिल्लो दिनको जस्तै त्यो दिन पनि सुटिङ युनिट खोलातिर लाग्यो । मान्छे मरेपछि हिन्दु परम्पराअनुसार जलाउँदा गरिने सम्पूर्ण प्रक्रिया सुरु गरे । 

दाउरा खोजियो । चिता तयार भयो । मलामीका रूपमा केही ‘क्रु मेम्बर’ र दर्शकका रूपमा भेला भएका दर्शक छँदै थिए । 

कसैलाई जलाइँदै छ भन्ने वातावरणको झल्कोले सुरक्षालाई भावुक बनाउँदै लगेको थियो ।

चिसो थियो । त्यसमा पनि पानीमा डुबेर आउनुपर्ने थियो । त्यसै गरिन् । 

सुटिङ हेर्न गाउँबाट ठूलो सङ्ख्यामा मान्छे आएका थिए । अघिल्लो दिन आएर फर्किएकाहरू पनि आएका थिए । “दर्शकले पूरै घेरेका थिए । तर मलाई किन–किन दर्शकभन्दा पनि मान्छे मरेपछि आएका मलामी जस्तो लागिरहेको थियो । कोही पनि हासेका थिएनन् । त्यसले पनि होला सायद,” सुरक्षा सुनाउँछिन्, “ल अब कपाल काट्नुपर्छ भनियो । मैले पहिला नै दीपेन्द्र दाइलाई भनेको थिएँ, म धेरै रोइसकेँ अबचाहिँ म रुन्नँ । यो स्ट्रङ क्यारेक्टर पनि भएकाले म आफूलाई बलियो देखाउने प्रयास गर्छु । म इमोसनल हुन्छु । तर रुन्नँ ।”

उनी बसिरहेकी छिन् । चिसोले सताइरहेको छ । गुनगुन गुनगुनको आवाज आउँछ । तर उनको कपाल काट्न कोही आउँदैन । “सायद म अर्ध चेतमै गइसकेको थिएँ । जाडो भइरहेको थियो । तर लौन छिटो भनेर भन्न मैले सकिरहेको थिइनँ,” त्यो दिन सम्झिँदै सुनाउँछिन्, “सायद रियल लाइफमा पनि त्यस्तै हुन्छ होला । आफन्त गुमाएर घाट पुगेको मान्छे होसमा हुँदैन होला ।” 

ब्लेडले कपालै काटेन
कपाल काटिदिने क्यारेक्टर ब्लेड लिएर आए, कपाल खौरिन थाले । सुरक्षा अब त काटेर सकियो होला भन्ने सोच्दैथिइन् । एकदुई वटा कपाल झरिरहेको थियो । तर ब्लेडले कपाल नै काटेन भनियो । एक्सन त कट भयो । फेरि ब्लेड खोज्न कसैलाई पठाइयो । 

त्यहीबेला त्यहाँ सुटिङ हेर्न आएका एक वृद्धले भने, “कपाल काट्न मलाई आउँछ, मैले काट्न मिल्छ भने म काटिदिन्छु ।”

हँ ! त्यही ब्लेडले सरसरी कपाल काट्यो । एक छेउबाट अलिकति, अर्को छेउबाट अलिकति गर्दै कपाल भुइँमा झरिह्यो । मायाले सुम्सुम्याउँदै कपाल काटिरहेका हुन्थे । सुरक्षा मेरो अगाडि–पछाडि क्यामेरा छ र यो सुटिङ हो भन्ने भुलेर मेरो आफ्नै कोही बितिरहेको छ कि भनेर भावुक भइरहेकी हुन्थिन् । सायद क्यारेक्टरमा छिर्ने भन्ने नै त्यही हो । अनुभूत गर्दै गर्दा नेपत्थ्यमा सुनिन्थ्योे कट । 

कपाल खौरिरहेको दृश्य हेरिरहेका महिलाहरू उनलाई हेरेर सुक्कसुक्क रुन थालेको देखेपछि भने सुरक्षाले आफूलाई रोक्न हम्मे परेको थियो । 

सुरक्षा रेडी
“सुरक्षा रेडी, सुरक्षा रेडी, सुरक्षा रेडी भनेर कता–कता मलाई बोलाइरहेको जस्तो लाग्थ्यो तर म आफैं कन्सस् थिइन् । चार–पाँच चोटि बोलाएपछि म झसङ्ग हुन्थेँ,” उनी भन्छिन्, “म आफूलाई बलियो बनाएर आँसु झार्दिनँ भनेर कठोर भएर बसिरहेको थिएँ । तर जब मैले आफू अगाडि कसैलाई देख्छु, त्यसपछि भने आँसु थामिँदैन ।” 

जब आफूलाई ऐनामा हेरिन् 
जीवन जत्तिकै लामो कपालको सुरक्षालाई औधी माया लाग्यो । उनले एउटा पनि नछोडी सबै संगालेर ल्याइन् । 

सुटिङ सकियो । सुटिङ युनिटसँगै सुरक्षा पनि होटल फर्किन् । टाउकोमा ठूलो फेटा बाँधेकी थिइन् । नुहाउन वासरुम पसेर फेटा खोलेर जब उनले आफूलाई ऐनामा हेरिन्, उनलाई लाग्यो, “हँ म नै हुँ । आफू जस्तै लागेन ।” 

दीपेन्द्रले उनलाई घाटमै भनेका थिए, “सुरक्षा तिमीलाई त्यति धेरै नराम्रो पनि देखिएको छैन । आनी जस्तो देखिएको छ ।”

मायाले समेटेर ल्याएको आफ्नो कपाल सुरक्षाले अहिले लामो कपाल आवश्यक परेका एक कलाकारलाई डोनेट गरेकी छिन् । 

बुबाले फोन काट्दा 
घरमा कुरा भइरहेको थियो फोनमा । तर उनले भन्न सकिरहेकी थिइनन् । कपाल खौरिएको एक साता भएको थियो । एक दिन आमा आफैंले नदेखेको पनि धेरै भयो भिडियो कल गरिन् । सुरक्षालाई अलिअलि डर पनि लागिरहेको थियो, गाली गर्नुहोला कि भनेर । 

भिडियो कल त गरिन् तर काम गर्दै बोलिरहेकी थिइन् । सुरक्षाले भनिन्, “ममी यता हेर्नु न के गर्र्दै हुनुहुन्छ ?”

हेरिन् । छोरीको टाउको त मुडुलो । ५ मिनेट केही बोलिनन्, निःशब्द भइन् । बल्ल बोलिन्, “के गरेको ?”

बुबालाई बोलाएर भनिन्, “हेर्नु त छोरीले के गरेकी ।” 

बुबाले हेरे, अनुहारमा असन्तुष्टि देखियो । फोनमा एक शब्द नबोेली फोन काटे । 

मन अमिलो भयो । नरमाइलो लाग्यो । मनमा प्रश्न उठ्यो, ‘मैले मेरो प्रोफेसन आफ्नै परिवारलाई त बुझाउन सकेको छैन । समाजले कहिले बुझ्ने होला । कपाल काट्ने त मेरो पेसाका लागि सामान्य हो भनेर समाजलाई कसरी बुझाउने होला ?’

कहिले आम मान्छेले यसलाई सामान्य लिन्छन् भन्ने प्रश्नले उनको मथिङ्गलमा डेरा जमाइरह्यो । 

अर्को दिन घरबाटै फोन आयो । सायद रिस मरिसकेको थियो । राम्रै रेस्पोन्स आयो । सोधियो, “किन काटेको, चलचित्रका लागि हो ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC