काठमाडौं । ‘सत्य हरिषचन्द्र’ र ‘आमा’ हुँदै नेपाली चलचित्र बन्न सुरु भयो । भातीय भूमिबाटै पहिलो पटक पहिलो नेपाली चलचित्र बन्न सुरु भयो । भारतीय भूमिमा ‘सत्य हरिषचन्द्र’त बन्यो नै, त्यसमा भारतीय चलचित्रको पनि प्रभाव पर्यो । भारतीय भूमिमा चलचित्र बन्दा र त्यहीको जनशक्ति प्रयोग हुँदा त्यसको प्रत्यक्ष प्रभाव चलचित्र निर्माणका पर्नु असवाभाविक थिएन । तर, अस्वाभाविक चाहिँ यो भयो कि नेपाली चलचित्रले भारतीय चलचित्र मेकिङको पद्धति आजसम्म अपनाइरहेको छ ।
यसलाई पछिल्लो समय केही निर्देशक तथा समीक्षकहरु भारतीय चलचित्र निर्माणको फर्मुला भन्दै आएका छन् । आधा शताब्दी लामो समय नेपाली चलचित्रले व्यतित गरिसकेको छ । अहिले वर्सेनी डेढ सयभन्दा माथि चलचित्र बन्न थालिसकेका छन् । डेढसय चलचित्र निर्माण हुँदा मुस्किलले दुई तीन वटा चलचित्र मौलिक विषयवस्तु र शैलीमा बन्न थालेका छन् ।
मौलिक शैलीको चलचित्र निर्माण करिब १५ वर्ष अगाडिबाट सुरु भयो । चलचित्र ‘नुमाफुङ’ बाट निर्देशक नवीन सुब्बाले यसको सुरुआत गरे । ‘नुमाफुङ’ भन्दा अगाडि पनि उनले ‘तरेवा’ र ‘खांगी’ बनाए । तर, यी दुइटा चलचित्रले उनलाई हाइट दिएन । ‘नुमाफुङ’ ले मात्रै नवीन सुब्बालाई नयाँ परिचय सहित उभ्याइदियो ।
त्यसबेलासम्म नेपालमा मौलिक चलचित्र कसैले पनि बनाएका थिएनन् ।
सुब्बा पत्रकारिता गर्थे । उनी नेपाली चलचित्रमा मौलिकता भेटिएन भनेर नेपाली चलचित्रको आलोचना गर्थे । आलोचित हुुनेहरु आलोचना गर्नेहरुले आफैँ बनाएर देखाए हुन्छ भनेर टिप्पणी गर्थे । तर, त्यो काम गर्न भने त्यति सहज थिएन ।
चलचित्र समीक्षक समाज (फिक्सन) ले आयोजना गरेको सन्डे सिनेमाअन्तर्गतको दोस्रो श्रृंखलामा सुब्बाले भने, “तर पनि केही नयाँ गर्न पागलपन त देखाउनुनै पर्नेथियो । त्यो आँट मैले गरेकाले नै यो सिनेमा बन्यो ।”
‘नुमाफुङ’ लिम्बू जातिमा रहेको सुनौली–रुपौली (छोरी दिँदा कुटुम्बसँग लिइने नगद तथा गहना लिने चलन) मा आधारित चलचित्र हो ।
आफूले मौलिक चलचित्रको विषय उठान गरिरहेको अनुभव साटिरहँदा आफूले नयाँ सिर्जनाको सूत्रपात गरेकोमा उनको मुहारमा दम्भ भन्दा पनि त्यसले अपेक्षित बाटो समात्न नसकेकोमा खिन्नताको भाव बढी झल्किरहेको थियो ।
नेपाली चलचित्र जगतमा उनले अहिले भनिने ‘नयाँ धार’ को श्रीगणेश गरे । मौलिकता भित्र्याएकोमा उनले जति तारिफ पाए, त्यो भन्दा धेरै सिने जगतका सहकर्मीहरुबाटै उनले गाली खाए । टिकाटिप्पणीको सिकार भए । तर, पनि उनले अझै मौलिक चलचित्रको वकालत गर्न छाडेका छैनन् । उनलाई कति चलचित्रकर्मीले गर्न नसक्ने काल्पनिकताको कुरा गर्छ भन्छन् । उनलाई पनि थाहा छ आफूलाई हुँदै आएको टिप्पणीप्रति । तर, पनि उनी आफैं भन्छन्, “म जस्तो प्रकारको चलचित्र र अभिनय हुनुपर्छ भनिरहेको छु त्यो म स्वयम्ले पनि गर्न सकिरहेको छैन । तर, नयाँ कामका लागि कोही न कोही त अराजक भएर निस्किनै पर्छ नभए नयाँ क्रिएसन हुनै सक्तैन ।”
उनी सानैदेखि आफ्नो संस्कार र संस्कृति भन्दा टाढा रहे । आफ्नै संस्कृतिसँग भिज्न पाएनन् । जति आफू लिम्बु भएकाले आफ्नो जातीको बारे ज्ञान हुनुपर्ने हो, त्यति थिएन । तर, लिम्बु जातीमा तानेर विवाह गरेर लैजाने परम्पराले उनलाई घच्घच्यायो । उनले सोचे, यसबारे चलचित्र बनाउन सकियो भने मौलिक चलचित्र बन्छ ।
सुब्बाले यसबारे रिसर्च गर्न थाले । केही नयाँ नयाँ कुरा थाहा हुँदै गयो । उनले स्क्रिप्ट तयार गरे । त्यसलाई पटक पटक सच्याइयो । चलचित्र पाँचथरको नागी पुगेरै खिचे । उनी १५ वर्ष अगाडिको फ्ल्यासब्याकतर्फ लागे, “नुमाफुङबाटै हो नेपाली चलचित्रमा वर्कसप सुरु भएको । अधिकांश ननएक्टर भएकाले वर्कसपबाटै हामीले कलाकार तयार पारेका थियौं ।”
नेपालमा चलचित्र मौलिक छैनन् । अभिनय मौलिक छैन । कुनै न कुनै देशको कथा, निर्माण शैली र अभिनय शैली चोरिरहेका छौं । हुन त मलाई धेरैले आलोचना मात्रै गर्छ भनेर गाली गर्नुहुन्छ,” सुब्बाले समीक्षक समाजका महासचिव सामिप्यराज तिमलसिनाको प्रश्नमा जवाफ दिए, “मैले दयाहाङलाई भन्ने गरेको छु, तिम्रो क्यारेक्टरमा राईको मौलिकपन खोइ ?आफ्नो मौलिकता खोइ ? राई जातीमा मर्नेबित्तिकै धामीले मरेको व्यक्तिको आत्मालाई बोलाएर कुरा गर्छन् त्यो ट्रान्जिसन खोई ? यस्ता हाम्रा मौलिकता कहाँ छ । हुन त मैले पनि कति कुरा गर्न सकेको छैन ।
'नुमाफुङ' मा १५ वर्ष अगाडिको कुरा देखिएको छ । त्यो बेला जसरी पनि मौलिक चलचित्र बनाउँछु भन्ने पागलपन थियो । त्यो भर्खर भर्खर सिक्दै गरेको बेला म जति कोही जान्दैन भन्ने लाग्थ्यो । त्यसैले पनि केही कुरा बिग्रिए । अहिले बनाइरहेको छु । हेरौं कस्तो हुन्छ ।”
चलचित्र भात खानका लागि बनाइनु हुँदैन । यसले समाज बोल्नुपर्छ, अर्थ लाग्नुपर्छ । चलचित्रको नामले चलचित्रको कथा भन्नुपर्छ भन्ने सुब्बाको मान्यता छ । धनपतिकी नायिका सुरक्षा पन्तले सुब्बालाई सोधिन्, चलचित्र के हो र कसका लागि बन्नुपर्छ ? एकै वाक्यमा निर्देशक सुब्बाले भने, “चलचित्र आफ्ना लागि बन्नुपर्छ ।”
चलचित्र आफ्नै लागि बनेन भने आफैं सन्तुष्ट हुन सकिदैन र आफैं सन्तुष्ट हुन नसक्ने चलचित्र अरुलाई मन पर्दैन भन्ने उनको तर्क छ । आफ्नै कला, साहित्य र संस्कृति झल्किने चलचित्र आफ्नै लागि भनेर बनाउनु पर्ने भन्दै सुब्बाले भने, “निश्चल बस्नेतले मैले हेर्ने खालका चलचित्र बनेनन् भनेर लुट आफूले हेर्न भनेर बनाएको त हो ।”
मौलिक चलचित्रको बजार नभए पनि आवश्यकता भएको उनको बुझाइ छ । मौलिक चलचित्र बनाउन जति गाह्रो हुन्छ त्यति नै त्यसको बजार पाउन अफ्ठ्यारो हुने उनको अनुभव छ ।
“नुमाफुङ चलचित्रबुहारी तथा छोरीहरु हेर्न खोज्दा रहेछन् तर सासुहरुले दिदाँरहेनछन्,” सुब्बाले भने, “कहाँ दुई तीन चोटी विवाह गर्ने चलचित्र पनि छोरी बुहारीले हेर्ने हो ? भन्दै हेर्न दिँदा रहेनछन् ।”
चलचित्रको कथा जुन समाजबाट लिइन्छ कथा भन्ने शैली पनि त्यही परिवेशको हुनुपर्नेमा उनको जोड छ । “पश्चिमा÷चिनियाँ वा जापानीहरुको न्यारेटिभ थ्रेड हामीकहाँ नमिल्न सक्छ । चलचित्रको थ्रेड समाजको विश्वास पद्धतिसँग जोडिएको हुन्छ,” सुब्बाले स्मरण गरे, “मिन भामलाई उसको कालो पोथीको ब्याकग्राउन्ड म्युजिकको बारे प्रश्न उठाउँदै एक जना उसको विदेशी साथीले तिमीहरुको आफ्ने संगीत छैन भनेर सोधेछन् । मिनले व्याकग्राउन्ड म्युजिक पनि आफ्नै मौलिक हुन्छ र भनेर सोधेछन् ।”
सुब्बा आफ्ना कुरा खुलेर राख्छन् । आलोचनाको शिकार भइन्छ कि भन्दा पनि मौलिकता मौलाएको हेर्न चाहन्छन् । र, भन्छन्, “भात खान (व्यापारिक प्रयोजन) का लागि मात्रै चलचित्र बनाइन्छन् भने त के नै भन्नुछ र ?”