काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुईदिन अघि जारी गरेको विशेष परिपत्रमा भनिएको छ–घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ ।”
तर सोमबार सोही पार्टीको प्रतिनिधित्व गर्ने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नचाहँदा नचाहँदै पदबाट राजीनामा दिनुपर्यो ।
उनले ‘पितृसत्तासँग लड्न राजसंस्थासँग भन्दा बढी गाह्रो’ भन्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन् ।
कारण–सोही पार्टीका एकजना नेतालाई सभामुख बनाउन ।
उनले आइतबारसम्म आफ्नो अयोग्यता स्पष्ट पार्न आग्रह गरेको भए पनि कसैले सुन्न सकेन ।
त्यतिमात्रै होइन, २०७४ माघ २६ गते सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वागमती प्रदेश संसदीय दलको निर्वाचन हुँदै थियो ।
डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य उमेदवार थिए ।
मतदान भइरहँदा शाक्य निकै उत्साहित थिइन् । पार्टीप्रति उनलाई ठूलो भरोसा थियो । त्योभन्दा ठूलो भरोसा प्रदेशसभा सदस्यहरूप्रति थियो । दिउँसो दुई बज्न नपाउँदै उनको विश्वास निराशामा बदलियो । पौडेलले संसदीय दलमा ३४ मत ल्याएर बाजी मार्दा उनी दस मतले पछि परिन् ।
मतदानको अन्तिमतिर पुग्दा उनका आँखा थामिएका थिएनन् । महिलाको सहभागिता र समानताका लागि लड्ने भनिएको पार्टीले र नेतृत्वले ‘धोका’ दिएको महसुस गरिन् ।
उनी प्रतिनिधिसभाका लागि योग्य थिइन् । चुनाव जितेकै पनि हो । तर पार्टीका केही नेताले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिए । उनले प्रदेशसभा स्वीकारिन् ।
त्यतिमात्र होइन । संसदीय दलको नेतामा आफूले उमेदवारी दिने भएपछि धेरै आकाङ्क्षी खडा भए । अन्तिमसम्म राजेन्द्र पाण्डेले छाडेनन् । पार्टी उपाध्यक्षमा बहाल रहेकाले शाक्य अध्यक्ष केपी ओलीलाई भेट्न गइन् ।
ओलीले सहयोगको वचन त दिएनन् ‘चुनाव जित्नुहुन्छ भने लड्नुहोस्’ न त भने । त्यतिबेला अध्यक्ष ओलीले नलड्न भनेको भए आफू पछि हट्ने मनसायमा रहेको भन्दै नेतृत्वबाट धोका भएको शाक्यले बताउँदै आएकी छन् ।
संसदीय दलको चुनावको अघिल्लो दिन ओली पक्ष प्रदेशसभा सदस्यहरू एकट्ठा भएका थिए । डोरमणिलाई भोट हाल्न भन्दै एक-एक मत लबिङ गरेका थिए ।
त्यसको दुई वर्ष पनि बित्न नपाउँदै अष्टलक्ष्मीकै नियति शिवमायाले बेहोर्न पुगेकी छन् ।
पार्टीगत जिम्मेवारीका आधारमा अष्टलक्ष्मी र शिवमायाको तुलना हुँदैन । महिला आन्दोलनका हिसाबले यी दुई नेतृ समकक्षी हुन् । अझ शिवमायाले आन्दोलनको अभिलेखिकृत पनि गरेकी छन् । अध्ययन, अन्वेषण र शोधमा शिवमाया अगाडि नै छिन् ।
उपसभामुख शिवमायाको रहरको पद होइन । उनी पार्टीको जिम्मेवारीमा थिइन् । समानुपातिक सांसद पनि । पार्टीमै ज्यादा काम गर्ने उनको इच्छा पनि थियो ।
तर, पार्टी नेतृत्वले उपसभामुख प्रस्ताव गर्यो । उनले स्वीकारिन् । जुनकुरा उनले सार्वजनिक सञ्चारमाध्यममै भनेकी छिन् ।
कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि नेकपालाई संकट पर्यो । पार्टी एकताअघि सभामुख र उपसभामुखको उमेदवार फरकफरक पार्टीबाट उत्पत्ति भएकाले बचाउ गर्ने ठाउँ थियो ।
पार्टी एकता भएपछि उपसभामुखले राजीनामा नदिइ नेकपाले सभामुखमा उमेदवारी दिन मिल्दैनथ्यो । उपसभामुखले राजीनामा दिनुपर्ने राजनीतिकबाहेक कुनै कारण थिएन । नेकपा धर्मसंकटमा थियो ।
तर पनि नेकपाको सचिवालयले शिवमायालाई राजीनामा गराउने निर्णय गर्यो ।
केही दिन शिवमायाले अडान राखिन् । संसदलाई नेतृत्व विहीन बनाएर राजीनामा दिन्न भन्ने उनको अडान थियो ।
अडानपछाडि शिवमायामात्रै थिइनन् । केही महिला सांसद पनि थिए । तर पार्टीको निर्णयका अगाडि महिला सांसदहरूको जोर चलेन ।
र, पुनः एकपटक नेकपा महिलामैत्री नरहेको प्रमाणित भएको छ ।
० ० ०
सोमबार भावुक सम्बोधन गर्दै शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिइन् । जनजाती र महिला पृष्ठभूमिबाट उपसभामुख बन्नु सानो उपलब्धी थिएन ।
अझ पितृसत्तात्मक नेपाली समाजमा एकल महिलाका लागि त त्यो थप चुनौतीपूर्ण हुने नै भयो ।
तुम्बाहाङ्फेले त्यो स्थान हाँसिल गर्दैगर्दा एकल महिला र जनजातीको सहानुभूति मात्रले काम गरेको थिएन ।
उनको शैक्षिक योग्यता र क्षमता पनि कुनै पुरुषको भन्दा कम थिएन । नेपालको महिला आन्दोलनमा विद्यावारिधीकै प्रमाणपत्र थियो उनीसँग ।
नेपाली समाजमा पितृसत्ताको विरोध र महिला मु्क्तिको पक्षमा सबैभन्दा चर्को नारा लगाउने पार्टीकै ‘क्याडर’ थिइन् उनी ।
अवसर आउँदा त्यस्तो पार्टीले पक्कै तल पारिएको जनजाती समुदाय र महिलालाई अवसर दिन्छ भन्ने ठान्नु अस्वभाविक थिएन ।
सायद, तुम्बाहाङ्फेले पनि सोचेको थिइन् ।
तर, भइदियो ठीक उल्टो । महिलामुक्तिको गीत गाउनेहरुका आवाज मलिन सुनिए ।
पितृसत्ताको विरोध गर्नेहरु अन्ततः उनको पक्षमा भएनन् ।
महिलामाथिको विश्वास पनि तिनको धर्मरायो । जनजातीलाई माथि उठाउने गीत त तीनको विस्मृतिमै ओझेल पर्यो ।
बलियो साथ नपाएपछि कसको बलमा लड्नु ? एक्लै भए पनि शिवमाया दह्रो उभिइन् ।
तर, परिणाम नै ल्याउन त एक्लो प्रयास पर्याप्त भएन ।
उनी लड्दालड्दै पुरुष नेतृत्व हाबी नेकपाभित्र उनी पराजित भइन् ।
एकल रुपमा परिवार सम्हालेकी, विद्यावारिधि हासिल गरेकी, संघर्षकै मैदानबाट विद्यार्थी आन्दोलन, महिला आन्दोलन हुँदै पार्टी नेतृत्वमा पुगेकी भए पनि उनको योग्यताले काम गरेन । एउटा पुरुषले गरेको गल्तीको सजाय भोग्न विवश भइन् ।
उनले अरुले गरेको गल्तीको सजाय आफुलाई किन भन्दै प्रश्न नेतृत्वतिरै नसोझ्याएकी पनि होइनन् । तर त्यसले काम चलेन ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा आफ्नै गल्तीले थुनामा पुगेका थिए ।
उपसभामुखको कार्यक्षमता र चरित्रमा कहिँ खोट थिएन । उनैले संसदको अध्यक्षता गरेरै पाँचौं अधिवेशन प्रारम्भ गराएकी थिइन् ।
सभामुखको कुर्सी खाली थियो । सभामुख बनाउन सक्ने तागत आफ्नो पार्टीसँग थियो । एकल महिला, त्यसमाथी जनजाती समुदायबाट सभामुख बनाएर दुनियाँलाई सन्देश दिने अवसर ।
सायद उनलाई लागेको थियो– यस्तो अवसर पार्टीले कहाँ चुकाउँछ !
तर, विल्कुल उल्टो भयो । सफलतापूर्वक जिम्मेवारी पुरा गर्दैगर्दा पुरस्कृत हुने त परको कुरा, दण्डित हुनुपर्यो । उपसभाुखबाट राजीनामा दिन बाध्य पारियो । आँशु पिएर उनले पार्टीको निर्देशन शिरोपर गरिन् ।
उनले राजीनामा दिँदै गर्दा ठूलो छाती देखाइन् । महिला,जनजाती भएर पनि उपसभामुख बन्दा त्यसको श्रेय लोकतान्त्रिक प्रणालीलाई दिइन् । तर, उनको मन भित्रभित्रै रोइरहेकै थियो ।
संसदमा सम्बोधनलगत्तै बाहिरिएपछि पत्रकारसँग पितृसत्तासँग आफ्नो पराजय स्वीकारिन् ।
देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फालियो । राजसंस्थाभन्दा पितृसत्ता ठूलो रहेछ भन्दै उनले मनको वह पोखिन् ।
पार्टीभित्र पुरुषसत्ताको दादागिरी अगाडि जोर चलेन शिवमायाको ।
महिला मुक्तिको ठूलठूला नारा दिनेहरुले शिवमायामाथि अकारण गरेको अन्यायको हिसावकिताब इतिहासले पक्कै खोज्ने छ ।
समावेशीताको लागि लडेका पुष्पकमल दाहालहरु आफू निकटस्थलाई जिम्मेवारीमा पुर्याउन कसरी प्रस्तुत भए ? अरु विषयमा कडा अडान राख्ने खड्ग ओली शिवमायाको विषयमा किन कर्कलोजस्तो लल्याकलुरुक्क भए र प्रचण्डका अघिल्तिर आत्मसर्पण गरे ? यी प्रश्नले दाहाल र ओलीहरुलाई वर्षौँसम्म लखेट्ने छ ।
शिवमायाको पितृसत्तासँग आँखा जुधाउने तागत राख्ने महिला, जनजातीले पक्कै यो प्रश्न नेपाल कम्युनिष्ट पार्टीसँग गर्नेछन् ।
यसो भनिरहँदा अर्को प्रश्न के पनि उठ्न सक्छ भने हिजो ओनसरी घर्तीलाई सभामुख र विद्या देवी भण्डारीलाई राष्ट्रपति कसले बनायो ?
तर उनीहरुको पृष्ठभूमि भने फरक थियो ।
० ० ०
नेकपाको सचिवालय ९ सदस्यीय छ । स्थायी कमिटी आमन्त्रित समेत गरी ५० सदस्यीय छ । संविधानलाई पालना गर्ने हो भने नेकपाको सचिवालयमा तीन र स्थायी कमिटीमा १७ सदस्य महिला हुनुपर्ने हो ।
संविधानलाई कार्यान्वयन गर्नुपर्ने सत्तारूढ दलको सचिवालय महिला विहीन छ । स्थायी कमिटीमा दुईजनाको मात्रै प्रतिनिधित्व छ ।
यसैलाई हृदयङ्गम गरी अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले दुई महिला थपेर सचिवालयको संख्या १५ पुर्याउन र ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयन गर्न लिखित रूपमै माग गरे ।
तर, स्थायी कमिटी यसको बहसमा प्रवेशै गरेन । महिलाहरू एक्लिए ।
प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले माग जायज भए पनि सचिवालयको संख्या बढाउन नसकिने प्रष्टै भने । “अहिले नै सचिवालय सदस्य संख्या विस्तार गर्न सकिँदैन । महिला सदस्य थप्नुहुँदैन भनेको छैन । यसबारे बाहिर धेरै हल्ला नगरौैं,” उनले महिला सदस्यलाई थामथुम पार्ने प्रयास गरेका थिए ।
स्थायी कमिटीको बैठक सकिएपछि सदस्यहरू धमाधम बाहिरिए । कोही सञ्चारकर्मीको मुख परे । कोही चुपचाप बाटो लागे ।
अष्टलक्ष्मी शाक्य पनि बाहिर आएर आफ्ना कुरा राख्दै थिइन् । सुवास नेम्वाङ आइपुगे । शाक्यले नेम्वाङतिर देखाइन् “उहाँसँग सोध्नुहोस् न ! उहाँले के भन्नुहुन्छ ।”
नेम्वाङले जवाफ दिए, “म तपाईंहरूको मागमा सहमतै छु । मैले त अध्यक्षलाई भनेको पनि छु ।”
शाक्यले चासोपूर्वक सोधिन् “के भन्नुभयो ?”
नेम्वाङले मुसुक्क हाँस्दै भने, “अब एकजना थपेर तीनजना अध्यक्ष बनाऊँ । एउटा अध्यक्ष महिलालाई दिऊँ ।”