२३ अप्रिल अर्थात् विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस । युनेस्कोको तत्वावधानमा यो दिवस मनाउन थालेको २२ वर्ष भयो । सन् १९९५ को साधारणसभाले २३ अप्रिललाई ‘पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवस’को रूपममा मनाउने प्रस्ताव पास गरेपछि विश्वभर आजको दिन यो दिवस मनाउन थालिएको छ । र, पुस्तक पारखीहरूले एक आपसमा किताब साटासाट गरेर, आफूलाई मन पर्ने लेखक, सर्जकको किताब किनेर या कसैलाई पुस्तक उपहार दिएर यो दिवस मनाउने गर्दछन् ।
त्यसो त आजकै दिन अनौठो संयोग पनि छ । आजकै दिन महान साहित्यकार शेक्सपियरको निधन भएको थियो । गरसिलासो डेलाको निधन पनि २३ अप्रिलमै भएको भनिन्छ । त्यसैले पनि पुस्तक अध्ययन र पठनसँग २३ अप्रिलको नाता गहिरो छ ।
पुस्तक के हो र किन पढ्नुपर्छ भन्ने प्रश्न जति सजिलो छ, उत्तर त्यति सहज छैन । कतिपयले पुस्तकलाई समाजको दर्पणको रूपमा चित्रित गर्छन् । ज्ञानको माध्यमका रूपमा चिन्ने चिनाउने कुरा त भइनै हाल्यो, कसैले त बुद्धि विवेकको भण्डारको रूपमा पनि किताबलाई नै अथ्र्याएको पाइन्छ ।
साहित्यकार रवीन्द्र समिरको शब्दमा पुस्तक ‘सेतो साग’ हो । जसरी हरियोपरियो सागसब्जीले मानिसको आँखा तेजवान, दृष्टियुक्त बनाउँछ ।
त्यस्तै सेता सागरूपी किताबले मस्तिष्क चहकवान तुल्याउँछ, बुद्धि, विवेक उजिल्याउँछ । पुस्तकलाई मस्तिकको ‘प्राण वायु’ भन्न रुचाउँछन् उनी । जसले मस्तिष्का कोशिका, तन्तुहरूलाई ‘एक्टिभेट’ राख्नुका साथै, सोच्ने, कल्पना गर्न सक्ने, तर्क गर्न सक्ने क्षमताको अभिवृद्धि गर्छ । “हामीले जीवनमा एक प्रतिशत पनि मस्तिष्कको प्रयोग गरेका हुँदैनौँ । पुस्तक पठनले मस्तिष्कको प्रयोगमा पनि बढोत्तरी ल्याइदिन्छ,” उनी प्रष्ट्याउँछन् ।
प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरी त संसारको विकासको आधार नै पुस्तक भएको तर्क गर्छन् । ‘पुरानो कोट किन तर नयाँ पुस्तक पढ !’ भन्नेबाट नै यसको महत्त्व उजिल्लिएको उनको भनाइ छ ।
त्यस्तै संसारको भौगोलिक, भौतिक दूरी निवारण गर्ने माध्यम पनि पुस्तक नै भएको औँल्याउँछन् उनी । उनको तर्कसँग सहमत हुने हो भने ज्ञान र अज्ञानको दूरी मेटाउन र साधन र साध्यबीचको फरक कम गर्न पनि पुस्तकले बहुआयामिक भूमिका खेलेको छ भन्दा अत्युक्ति हुँदैन । “संसारले आर्जेका ज्ञान, प्रगति÷दुर्गति, उहिलेका समयका कुरा र अहिलेका कुरा, मानव जीवन र जगतका कुरा, समयको गति र मानिसको प्रगतिको चित्र थाहा पाउने उपाय पनि पुस्तक हो,” उनी प्रष्ट्याउँछन् ।
मानिसको जीवन बहुआयामिक भएकाले ज्ञानलाई एकै क्षेत्रमा मात्र सीमित गर्न नहुने उनको कथन छ । भन्छन्, “एउटामात्र विषयले ज्ञानको क्षेत्र फराकिलो हुँदैन, त्यसैले विविध पुस्तकको अध्ययन अनिवार्य छ ।” विचारमा तीक्ष्णता, विवेकमा स्पातिलोपना थप्न पनि पुस्तक अध्ययन अनिवार्य भएको उनको ठम्याइ छ ।
पुस्तक पठन संस्कृति
हामी कहाँ अझै पुस्तक पढ्ने चलन छैन, किनेर पुस्तक पढ्ने चलन त न्यून छ भन्दा हुन्छ । यसले पुस्तक पठन संस्कृतिलाई साँघुर्याएको मान्न सकिन्छ । पुस्तक पढ्न जति कम गर्यो, उति ज्ञान खुम्चँदै जान्छ ।
त्यसो त हामीकहाँ पुस्तकालयको संख्या पनि धेरै कम छ । भएका, जसोतसो चलेका पुस्तकालयमा पुस्तक पनि छैनन् । विज्ञान र प्रविधिको विकासले हामीलाई उछिनेर निकै अघि पुगिसक्यो । हामी उही दराजमा थन्क्याइएका, किराले खाएर जीर्ण बनाएका, र्याक समेत नभएर बोरामा बाँधेर राखिएका पुस्तक पढ्न बाध्य छौँ । रवीन्द्र समीर थप्छन्– हाम्रै हाराहारीको बंगलादेशमा समेत गाउँ–गाउँमा पुस्तकालय छन् । हामीकहाँ भएका पुस्तकालय पनि चलाउन सकेको अवस्था छैन, जीर्ण हालतमा छन् । त्रिवि केन्द्रीय पुस्तकालय त्यसैको उदाहरण हो । त्यसैले उनी निजी पुस्तकालय खोल्नुपर्नेमा जोड दिन्छन् र पचहत्तरै जिल्लामा त्यस्ता पुस्तकालय खोल्ने हो भने पठन संस्कृति विकास हुने तर्क गर्छन् ।
हामीकहाँ वर्षेनी थुप्रै किताब लेखिन्छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा दर्ता भएका पुस्तकहरूलाई आधार मान्ने हो भने आइएसबीएन नम्बर लिने पुस्तकहरूको संख्या नै वार्षिक दुई हजार बढी छ । तर, वेबमा कुनै पुस्तक भेटिँदैनन् । ‘डिजिटल कपी’ उपलब्ध हुँदैनन् । राखिएका पुस्तकको पनि सहज पहुँच छैन, महँगो मूल्य भुक्तान गर्नुपर्छ । त्यसैले नेपाली वेब डिजाइनरले पनि नेपाली किताबहरूको इन्टनेटमा सहज पहुँच हुनुपर्ने मान्यता राख्छन् रवीन्द्र । त्यस्ता ‘सफ्टवेयर’को विकास हुनुपर्ने उनको भनाइ छ । यसले नेपाली किताबले अन्तर्राष्ट्रिय बजार पाउने र लेखक–पाठक सेतुको भूमिका पनि निर्वाह हुने दोहोरो फाइदा देख्छन् उनी ।
सन्दर्भ पुस्तक पनि पढौँ
पछिल्लो समय विभिन्न विश्वविद्यालय खुलेका छन् । त्रिभुवन विश्वविद्यालय मात्रै हो देशको विश्वविद्यालय भन्ने परिस्थिति रहेन अब । तर, जुनै विश्वविद्यालयको शिक्षण सिकाइ कार्यकलाप पनि उस्तै छ । शिक्षण पद्धतिमा कुनै फेरबदल आएको छैन । कक्षा कोठामा पनि उही ‘परपम्परागत’ तवरतरिकाबाट मात्रै पठन–पाठन हुन्छ । समय फेरियो, पढाउने विधि फेरिएन ! त्यसले गर्दा विषयवस्तुमा ज्ञान, सीप र धारणा फराकिलो पार्न विद्यार्थीले पर्याप्त मात्रमा सन्दर्भ पुस्तक पढनुपर्ने बताउँछन् जीवेन्द्रदेव गिरी । भन्छन्, “पछिल्लो समय थुप्रै विश्वविद्यालय खुलेका छन् । पठनपाठनका नयाँ–नयाँ तरिका पनि आएका छन्, तर हामीकहाँ उही पुरानै पद्धति अवलम्बन गरिन्छ । त्यसैले विद्यार्थी स्वयम् पनि यसमा चनाखो हुनुपर्छ । आफ्ना विषय, विषय भन्दा बाहिरका किताब पनि पढ्ने रुची राख्नुपर्छ ।”
पछिल्लो समय नेपालमा आख्यान लेखनमा बढोत्तरी आएको छ । विशेषगरी पछिल्लो पुस्ता इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जालमा सक्रिय हुन थालेपछि पाठ्यपुस्तकसँगै आख्यान, गैरआख्यानमा रुची राख्न थालेको मान्न सकिन्छ । सामाजिक सञ्जालमा अभिव्यक्ति दिन, समसामयिक परिस्थितिमा आफ्ना धारणा बनाउन पनि पुस्तक पढ्नै पर्ने भएको छ । सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्नकै लागि भए पनि किताब पढ्नेको जमात बढ्दैछ अचेल ।
बालबालिकाको विकासको लागि पुस्तक अनिवार्य
बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सिकाइ र सामाजिक विकासका लागि पुस्तक अनिवार्य भएको बताउँछन् बालसाहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका विनय कसजू । उमेर समूहअनुसार बालबालिको रुची र चाहना पनि भिन्दाभिन्दै हुने भएकाले उनीहरूकै इच्छाअनुसारका पुस्तक पढाउनुपर्ने तर्क उनको छ । किताब भित्री चक्षु भएकाले बालबालिकालाई सानैदेखि पुस्तक पढ्न अभ्यस्त बनाउनुपर्ने उनको ठम्याइ छ ।
चार वर्षदेखि सात–आठ वर्ष उमेर समूहका बालबालिकाले अक्षर कम चित्र बढी, गीत (राइम्स) आदि भएको पुस्तक पढ्न रुची राख्ने भएकाले सोही प्रकृतिको किताब पढाउनु पर्ने उनको भनाइ छ । त्यस्तै आठ वर्षभन्दा माथि लागेपछि बालबालिकामा पठनको चाहनामा केही परिवर्तन आउँछ । विशेष गरी किशोर वयमा नपुगुञ्जेल उनीहरू अक्षर बढी र चित्र कम भएका किताब पढन् मन गर्छन् ।
तर, किशोर वयदेखि उकालो लागेपछि भने उनीहरूमा आफूमा आएको परिवर्तनको कौतूहलता, जिज्ञासा मेटाउने खालमा पुस्तक पढ्न बढी मन गर्छन् । किशोरावस्थामा आउने शारीरिक, मानेसिक, संवेगात्मक, यौनिक आदि विकास परिवर्तन, माया, प्रेम आदि विषय उनीहरूका रुचीका पुस्तक हुनसक्छन् ।
त्यो सँगै उनीहरूलाई समाजसँग अन्तर्घुलित गराउन विभिन्न पुस्तक अध्ययन गराउनुपर्छ । ताकि उनीहरूमा फरक, जाति, धर्म, समुदाय, सम्प्रदायका मानिसहरूका बीचमा सहिष्णुको भावना सञ्चार गराउन सकियोस् ।
त्यस्तै, बालबालिकालाई तर्कशील, जिज्ञासु, कल्पनाशील बनाउ कथा, कविता, उपन्यास आदिका पुस्तक पढाउनुपर्ने तर्क कसजूको छ । पछिल्लो समय बालबालिका, लागु–लत, दुव्र्यसनीको सिकार, शिक्षक, अभिभावक, समाजप्रति अनुत्त्रदायि, अपराध कर्ममा प्रयोग हुँदै, बन्दै पनि गएकाले त्यस्ता नकारात्मक कुरा दूर गर्ने माध्यम पनि किताब नै हुन सक्ने उनको ठम्याइ छ ।