site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
विश्व हिन्दी दिवसमा ‘उत्कष्ट कथा २०७६’ सहित पाँच कृति सार्वजनिक

काठमाडौं । विश्व हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रममा बाह्रखरी बुक्सद्वारा प्रकाशित ‘उत्कृष्ट कथा २०७६’को हिन्दी अनुवाद सार्वजनिक भएको छ । 

काठमाडौंमा शुक्रबार भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभागद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गिती कविता ‘अश्वत्थामा’को हिन्दी अनुवाद, विश्व प्रशिद्ध भारतीय कथाकार पे्रमचन्दका पाँच कथाहरूको नेपाली अनुवाद ‘प्रेमचन्दका पाँच कथा’, स्वामी विवेकानन्दका उपदेशहरूमा आधारित पुस्तक ‘कर्मयोग’ र त्रिविवि, हिन्दी केन्द्रीय विभागद्वारा प्रकाशित शोध पत्रिका ‘साहित्यलोक’को पनि लोकार्पण गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृृदयेश त्रिपाठीलगायतले उक्त कृतिहरू सार्वजनिक गरे । 

हिन्दी दिवसकै अवसर पारेर कार्यक्रममा त्रिविवि हिन्दी केन्द्रीय विभागले साहित्यकार डा. रामदयाल राकेशलाई ‘हरिहर सावित्री स्मारक पुरस्कार’द्वारा सम्मानित ग¥यो । सोही अवसरमा अंशु झालाई ‘अमरमणि स्मृति पुरस्कार’ प्रदान गरियो । अंशु झाले एमए हिन्दीमा उत्कृष्ट अंक ल्याएर सो पुरस्कार प्राप्त गरेकी हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री हृदयेश त्रिपाठीले भाषाका विषयमा चर्चा गर्दै भाषा कुनैपनि भौगोलिक सिमानामा नबाँधिने उल्लेख गरे । उनले तत्कालीन भारतीय प्रधानमन्त्री नरसिंह राव आठवटा भाषाको ज्ञाता भएको र उनले आफूसँग भेट्दा नेपाली भाषा पनि सिक्ने इच्छा गरेको सुनाए ।

मन्त्री त्रिपाठीले भने, “नेपाल देश सानो छैन । भौगोलिक विविधता, सांस्कृति विविधता तथा भाषिक विविधताका हिसाबले देश सम्पन्न छ । विशाल छ । मात्रै यति हो कि दुई तिरका देशहरू ठूला भइदिए !” 

मन्त्री त्रिपाठीले भाषाले ज्ञान बढाउने काम मात्रै नगरेर सभ्यताको विकास गर्ने विषयमा पनि जोड दिए । उनले दिवसको मौका पारेर प्रकाशित पाँच पुस्तकसँग सम्बन्धित सबैलाई बधाई दिए ।

कार्यक्रममा भारतीय दूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी दिवसका अवसरमा पठाएको सन्देश वाचन गर्दै ‘हिन्दी भाषाले विभिन्न भाषाहरूसँग जोड्ने गरी सुत्रधारको काम गरेको’ उल्लेख गरे । 

डा. अजय कुमारले हिन्दी–नेपाली, नेपाली–हिन्दी अनुवादले दुबै मुलुककाबीचमा सम्बन्ध विस्तार हुँदै जाने बताए । उनले नेपाली र हिन्दी दुबै भाषा देववाणी संस्कृतसँग जोडिएको र दुबै भाषा देवनागरी लिपीमा लेखिने भएकोले यसले दुबै देशका जनमानसलाई गहिरोरुपमा जोडेको उल्लेख गरे ।

त्रिविवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा. संजीता वर्माले हिन्दी दिवसका अवसरमा हरिहर सावित्री स्मारक पुरस्कार तथा अमर मणि पुरस्कारका सन्दर्भमा चर्चा गर्दै हिन्दी विषयमा लेख्ने साहित्यकारहरुलाई प्रोत्साहित गर्नैका लागि यो पुरस्कार तथा सम्मानको स्थापना गरेको बताइन् ।

भारतीय राजदूतावासका अधिकारी रघुवीर शर्माले धन्यवाद ज्ञापन गर्दै सार्वजनिक पाँचै पुस्तकका विषयमा विस्तृत चर्चा गरे । 

कार्यक्रममा प्रभु श्रेष्ठ पनि बोलेका थिए । उक्त अवसरमा त्रिविवि हिन्दी विभागका छात्राहरुले कूल गीत गाएका थिए भने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विभिन्न कलाकारहरूले पनि गीत प्रस्तुत गरेका थिए । 

  
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १६:०८
प्रतिक्रिया दिनुहोस्