काठमाडौं । चलचित्र हेरे छोरा छोरी बिग्रिन्छन् भन्ने बाबुआमाको मनोविज्ञानमा परिवर्तन आउँदैछ । विदाको दिन साथीभाइ तथा स–परिवार सँगै बसेर चलचित्र हेर्न जाने चलनले विस्तारै संस्कृतिकै रुप ग्रहण गर्दैछ । सिनेमा घरका पार्किङमा महंगा ब्रान्डका गाडी पार्किङ हुन थालेका छन् ।
अगाडी पपकन र पेप्सीसहित स–परिवार चलचित्र घरमा बसेर सेल्फि खिचेर फेसबुकमा अपलोड गरेका तस्बिर बाक्लै देखिन थालेका छन् । कलाकार तथा लेखक खगेन्द्र लामिछाने भन्छन्, “हलमा परिवारसहित हातमा पपकन र पेप्सीको बोतल बोकेर सेल्फि अपलोड गर्नु अहिले फेसन नै भइसको छ,” यसमा सही थाप्दै धनपतीको डविङमा स्टुडियोमै भेटिएका निर्देशक दीपेन्द्र के खनाल अगाडि थप्छन्, “यो फेसनले काठमाडौंका चार भञ्ज्याङ पार गरेर अन्य मुख्य सहरहरुमा पनि पुग्नुपर्छ ।”
० ० ०
लगानी गरेपछि त्यसको प्रतिफल सबैले खोज्छ । विना अपेक्षा कसैले पनि लगानी गर्दैन । यो स्वाभाविक पनि हो । कसैले आत्मसन्तुष्टिका लागि मात्रै ठूलो रकम खर्चिन्छ भने त्यो अपवाद मात्रै हो ।
लगानी ‘रिर्टन्स’ कै लागि नेपाली चलचित्र नगरीमा पनि विशेष दिनमा ठूलै प्रतिस्पर्धा हुन्छ । नयाँवर्ष, दसैं, तीज तथा अन्य विदाका दिनमा निर्माताको आँखा लाग्छ । यी दिनमा कसका चलचित्र लगाउन तँछाड मछाड नै हुँदै आएको छ । विदाका दिनमा हलमा बाक्लो उपस्थिति हुने भएपछि त्यसको प्रभाव चलचित्रको व्यापारमा पर्छ । त्यसैले हो यो वैशाख १ गते एकै दिन तीन वटा चलचित्र रिलिज भए ।
नेपाली चलचित्रको बजार सानो छ । बजार सानो भएकै कारण मोटो रकम खर्चेर चलचित्र बनाउन निर्माताहरु डराउँछन् । ठूला व्यापारिक घरनालाई नेपाली चलचित्र उद्योगले आकर्षित गर्न सकेको छैन ।
चलचित्र बनाएर मात्रै पनि हुँदैन । राम्रो समय पारेर प्रर्दशन गर्न सकिएन भने पनि चलचित्रले लगानी उठाउन नसकिने निर्माता तथा वितरकहरुले बताउँदै आएका छन् ।
पछिल्लो दशक नेपाली चलचित्र निर्माणमा आएको बढोत्तरीसँगै नयाँ वर्ष र चाडपर्व मात्रै होइन अरु दिन पनि आशा गरिएका चलचित्र नै एकै दिन लाग्ने गरेका छन् ।
यद्यपी अझै पनि धेरैको रोजाई दसैं, तिहार, माघे सक्रान्ति, वैशाख १ अर्थात् नेपाली नयाँ वर्ष नै हुनेगर्छ । यो नयाँ वर्ष ‘लब लब लब’, ‘घाम पानी’, र ‘राधे’ ले बाजी मारे ।
निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘लभ लभ लभ’ आजबाट रिलिज भएको छ । उनको चलचित्रमा फेस भ्यालु छैन ।
खनालले सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य भूमिकामा लिएका छन् । लभ स्टोरी जानराको चलचित्र सामान्य लभस्टोरी भन्दा फरक रहेको निर्देशक खनालले बताउँदै आएका छन् । आजैको दिन रोजे डेब्यू निर्देशक दीपेन्द्र लामाले पनि आफ्नो चलचित्र ‘घाम पानी’ प्रदर्शनका लागि । उनको चलचिले भने फेस भ्यालु बोकेर आएको छ । दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिमा रहेको चलचित्रले अन्तरजातीय विवाहको सामाजिक विषयलाई उठान गरेको छ । ‘घामपानी’ र ‘लभ लभ लभ’ दुबै चलचित्रका निर्देशकले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै आएका छन् ।
जगदिश्वर थापा निर्देशित चलचित्र राधे पनि ‘राधे’ आजैबाट प्रदर्शनमा आएको छ । गत वर्ष दर्शकलाई खासै रिजाउन नसकेका स्टारडम निखिल उपे्रती र प्रियंका कार्की ‘राधे’ का मुख्य कलाकार हुन् ।
सशस्त्र जनयुद्धमा वेपत्ता पारिएका नागरिक अहिलेसम्म पनि खोजि नभएको र भेटिएकाले पनि सम्मानजनक व्यवहार नपाएको कथा नै राधेको मुख्य कथा हो ।
रिलिज मितिमा बाजी मारेका यी तीन चलचित्रमध्ये बक्स अफिसमा भने कसले बाजी मार्छ त्यो भने आइतबारसम्मको विजनेशले संकेत गर्नेछ ।
किन वैशाख १ नै ?
चलचित्र वितरक गोविन्द शाही वैशाख १ गते चलचित्र लगाउन निकै कठिन हुने गरेको सुनाउँछन् । “यो दिन धेरैले आफ्नो चलचित्र लगाउने प्रयास गर्छन्,” वितरक शाही भन्छन्, “वैशाख १ मा ठूलो व्यानरका चलचित्र बाहेक अरुले त आँट पनि गर्न सक्तैनन् ।”
वैशाख एक गते नेपाल भरका हल हाउसफूल हुने गरेको उनको अनुभव छ । “७० / ८० वटा हल पाउने चलचित्रले पहिलो दिन नै लगानी रकम ग्रस कलेक्सन गर्छन्,” शाही भन्छन्, “त्यसैले पनि यो दिनमा सबैको आकर्षण देखिएको हो ।”
नयाँ वर्षको पहिलो दिन काठकाडौं बाहिर भने चलचित्रले केही राम्रो व्यापार गर्ने गरेको चलचित्र निर्माता माधव वाग्ले बताउँछन् । “सिंगल थिएटरमा काठमाडौं बाहिर एक गते अरुदिनको तुलनामा केही राम्रो व्यापार गर्छन् । यो दिन शनिबारको जत्तिकै व्यापार हुन्छ,” निर्माता वाग्ले भन्छन्, “काठमाडौं उपत्यकामा खासै असर गर्दैन ।”
राम्रो चलचित्र भए नयाँ वर्षको पहिलो दिन प्रदर्शनमा आएको चलचित्रलाई फाइदा पुग्ने तर सामान्य चलचित्रलाई भने यो मितिले खासै अर्थ नराख्ने निर्देशक ऋषी लामिछाने बताउँछन् ।
“राम्रो चलचित्र छ भने नयाँ वर्षमा अरु दिनको तुलनामा धेरै व्यापार गर्छ,” निर्देशक लामिछानेले भने,“२०७२ सालको पहिलो दिन मेरो हवल्दार सुन्तली गोपीकृष्णमा तीन शो मा ६ वटा हलमा हाउस फूल भएको थियो । काठमाडौं उपत्यका बाहिर पनि चलेको थियो ।” हवल्दार सुन्तली ०७१ साल चैत २६ गते रिलिज भएको थियो ।
राम्रो चलचित्र रिलिज भए अन्य दिनको तुलनामा केही राम्रो व्यापार गर्ने उनको भनाइ छ । तर, त्यसले अन्य दिनको व्यापारमा भने खासै असर नगर्ने निर्देशक लामिछानेले सुनाए ।
निर्देशक दिपेन्द्र के खनालको चलचित्र ‘लभ लभ लभ’ आजबाट प्रर्दशनमा आएको छ । तर उनी स्वयम् भने वैशाख एक गते नै चलचित्र लगाउनुपर्छ भन्ने मान्यता राख्दैनन् ।
“यो प्रदर्शनको विषयबारे म धेरै जानकारी राख्दिनँ” निर्देशक खनाल भन्छन्, “यो वर्ष वैशाख एक गते विदाको दिन परेकाले पनि यो मितिले खासै अर्थ राख्छ जस्तो लाग्दैन । तर, एक गते अरुबार पर्यो भने दुई दिन विदाको दिन पर्दा भने केही फाइदा हुन्छ होला ।” दर्शकलाई मितिले भन्दा पनि चलचित्रले मात्रै ‘होल्ड’ गर्न सक्ने उनको भनाइ छ ।