काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले १५ न्यायाधीशको नाम सिफारिस गरेको हो । यसरी सिफारिस हुनेमा जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट छन् । जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दिपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
त्यस्तै, न्याय सेवाको प्रथम श्रेणीको अधिकृतमध्येबाट गिताप्रसाद तिम्सिना सिफारिसमा परेका छन् । अधिवक्ताबाट ५ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । जसमा मिलनकुमार राई उच्च अदालत दिपायल, राजुराम सिलवाल,उच्च अदालत विराटनगर, मेरिना श्रेष्ठ उच्च अदालत तुलसिपुर, मिना गौतम सेढाई उच्च अदालत पाटन र सोमकान्त मैनाली उच्च अदालत विराटनगर धनकुटा इजलाशका लागि सिफारिस भएका छन् । त्यस्तै छिट्टै रिक्त हुन लागेका उच्च अदालतका तीन न्यायाधीशको ठाउँमा पनि तीनजना अधिवक्तालाई सिफारिस गरिएको छ ।
३ रिक्त स्थानमा सिफरिस
त्यस्तै, न्यायपरिषद्को बैठकले छिट्टै रिक्त हुने ३ न्यायाधीशको ठाउँमा अधिवक्ताको नाम सिफारिस गरेको छ । उच्च अदालत तुलसीपुर बुटवलबाट सेवा निवृत्त हुन लागेका न्यायाधीश दयानिधि खरेलको स्थानमा अधिवक्ता देवबहादुर सार्कीलाई सिफारिस गरिएको छ । खरेल मंसिर १५ गते सेवा निवृत्त हुँदैछन् ।
उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटीको ठाउँमा अधिवक्ता रेखा थापा पाण्डेको नाम सिफारिस गरिएको छ । शिवाकोटी मंसिर १६ बाट सेवा निवृत्त हुँदैछन् । उच्च अदालत पोखराका न्यायाधीश जगतप्रसाल श्रेष्ठको ठाउँमा अधिवक्ता किरणकुमारी गुप्ताको नाम सिफारिस गरिएको छ । श्रेष्ठ मंसिर २१ गतेबाट सेवा निवृत्त हुँदैछन् । सेवा निवृत्त भएकै दिनबाट प्रस्तावित न्यायाधीशले नियुक्ति पाउने गरि परिषद्ले सिफारिस गरेको छ ।
८ न्यायाधीशको सरुवा
न्यायपरिषदले उच्च अदालतका ८ जना न्यायाधीशको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा विशेष अदालतका २ जना र वैदेशिक रोजगार न्यायाधीकरणका १ न्यायाधीश पनि परेका छन् । विशेष अदालतमा काजमा रहेका रवि शर्मालाई उच्च अदालत हेटौंडा इजलाश सरुवा गरिएको छ । विशेष अदालतकै अर्का न्यायाधीश कृष्ण गिरीलाई उच्च अदालत जनकपुर पठाइएको छ । काजमा वैदेशिक रोजगार न्यायाधीकरणमा रहेका रमेशकुमार खत्रीलाई उच्च अदालत पोखरा सरुवा गरिएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलाशका न्यायाधीश प्रकाशचन्द्र गजुरेललाई उच्च अदालत जनकपुर, उच्च अदालत तुलसीपुरका शिवनारायण यादवलाई उच्च अदालत विराटनगर इलाम इजलाश सरुवा गरिएको छ । उच्च अदालत दिपायलबाट जनक पाण्डेलाई उच्च अदालत जनकपुर विरगञ्ज इजलाश र उच्च अदालत विराटनगर ओखलढुँगा इजलाशबाट राजेशकुमार काफ्लेलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज सरुवा गरिएको छ ।