site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक विरासत जोगाउँदै महिला  
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिरमा हुन लागेको उपनिर्वाचनमा कास्की–२ बाट विद्या भट्टराईलाई उमेदवार बनाउने निर्णय सर्वसम्मत गर्‍यो । कास्की जिल्लाले पनि भट्टराईको नाम एकल सिफारिस गरेको थियो । तर प्रदेशले उनीबाहेक अन्य दुईजनाको नाम केन्द्रमा पठाएको भए पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भट्टराईको नाम सर्वसम्मतिले पारित निर्णय गर्‍यो ।

त्यसलगत्तै कास्की निर्वाचन क्षेत्रमा पुगेकी भट्टराईले मतदातासँग आफू कास्कीकै छोरी भएर आएको बताइन् ।

“मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर मलाई उमेदवार बनाएको छ । पार्टीले दिएको जिम्मेवारीलाई न्याय गर्नेछु,” तत्कालीन पर्यटनमन्त्री दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नीसमेत रहेकी भट्टराई कास्कीमा आफ्ना मतदातासमक्ष व्यक्त गर्दै भनिन् ।
विद्या भट्टराई मात्रै होइन दिवङ्गत नेताको राजनीतिक विरासत जोगाउन नेपाली राजनीतिमा अन्य महिलाहरु पनि अघि सरेका छन् ।

KFC Island Ad
NIC Asia

उसो त, नेपालमा मात्र होइन दक्षिण एसियामै राजनीतिमा वंशवादको ठूलो प्रभाव छ । पश्चिमा देशमा समेत वंशवाद बलियो रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारीको राजनीतिक उचाई उनका पति बिल क्लिन्टनकै देन मानिन्छ ।  नेपालमा अहिले उपनिर्वाचनको तयारी तीव्र छ । कास्कीमा विद्या भट्टराई र दाङ प्रदेश सभामा विमला वलीलाई नेकपाले उमेदवार बनाएको छ । भट्टराई र वली दुवै आफ्ना पतिले जितेको ठाउँमा उमेदवार बनाइएका हुन् । 

यीबाहेक यसअघि पनि यी महिलाले पतिको निधनपछि राजनीतिक विरासत सम्हाल्दै आएका छन् ।

Royal Enfield Island Ad

विद्यादेवी भण्डारी 

नेपालको राष्ट्रपति हुन् विद्या भण्डारी । उनी आफ्नै राजनीतिक इतिहास लामो छ । तर अहिले जुन राजनीतिक हैसियत उनलाई प्राप्त छ, त्यसमा उनका पति स्वर्गीय मदन भण्डारीको योगदानले पनि काम गरेको मानिन्छ । 

विद्यार्थी राजनीति हुँदै कम्युनिस्ट आन्दोलनमा होमिएकी विद्या पाण्डेको विवाह ०३९ सालमा मदन भण्डारीसँग भयो । पति राजनीतिमा बढी सक्रिय भएपछि उनी कम सक्रिय हुँदै गएको उनलाई चिन्नेहरु बताउँछन् । मदनको नेकपा एमालेको महासचिव रहेकै बेला ०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा निधन भयो । यद्यपि, उनको दुर्घटना अझै पनि रहस्यमै रहेको मानिन्छ । कुनै समय त्यो दुर्घटना होइन, हत्या थियो भन्ने पार्टीको विश्लेषण थियो । पटकपटक उनको पार्टीले सत्ता सम्हालिसक्दा र पत्नी नै राष्ट्रपति बन्दासमेत मदनको रहस्यमय भनिएको जिप दुर्घटनाको कुनै तथ्य सार्वजनिक भएको छैन । 

मदनले ०४८ सालको संसदीय निर्वाचनमा काङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई झिनो मतले पराजित गरेका थिए । उनको निधनपछि ५१ सालमा काठमाडौं १ मा उपनिर्वाचन भयो । नेकपा एमालेले विद्यालाई उम्मेदवार बनायो । उनी निर्वाचित पनि भइन् । त्यसपछि पार्टी उपाध्यक्ष, रक्षामन्त्री बन्दै हाल उनी राष्ट्रपति छिन् । पूर्वएमालेका एक पुराना नेताले भने, “मदन बाँचिरहेको भए विद्याजीको आज यो उचाई बन्दैनथ्यो ।”

तीर्था गौतम 

तीर्था गौतम नेकपा एमाले रुकुमका तत्कालीन सचिव एवम् प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमकी पत्नी हुन् । यदुको हत्या तत्कालीन विद्रोही नेकपा माओवादीबाट ०५५ साल फागुन २१ गते भएको थियो । यदु माओवादीबाट मारिएका माथिल्लो ओहोदाका एमाले नेता हुन् ।  हत्यापछि तीर्था उनकै पति उम्मेदवार भएको क्षेत्र रुकुम २ बाट ०५६ सालको आमनिर्वाचनमा उम्मेदवार बनिन् र जितिन् पनि । उनी  पुनः ०७४ सालमा समानुपातिक कोटाबाट सांसद बनेकी छन् । 

चम्पादेवी खड्का 

संविधानसभा सदस्य हरिबहादुर खड्काको निधनपछि बाग्लुङ १ मा उपनिर्वाचनमा काङ्ग्रेसले हरिबहादुरकी पत्नी चम्पादेवीलाई उम्मेदवार बनायो । पति राजनीतिमा सक्रिय रहँदा चम्पादेवी उति सक्रिय थिइनन् । उनका पति भने सो क्षेत्रमा लोकप्रिय मानिन्थे । चम्पादेवी ०७१ सालमा सम्पन्न निर्वाचनमा आफ्नै पति निर्वाचित क्षेत्रबाट जितेर सांसद बनिन् । 

कान्तिका सेजुवाल

कान्तिका नेपालकै पहिलो महिला नगरप्रमुख हुन् । उनी नगर प्रमुख बन्नुमा पनि उनका पति काङ्ग्रेस जुम्लाका पूर्वजिल्ला सभापति रहेका मानव सेजुवालको देन रहेको मानिन्छ । जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका भारी मतान्तरले निर्वाचित भएकी थिइन् । 

उनका पति मानवको ०७१ सालमा हवाइ दुर्घटनामा मृत्यु भएको थियो । कान्तिका पति रहुञ्जेल राजनीतिमा सक्रिय थिइनन् । कान्तिका जुम्लाको सामुदायिक स्कुलकी शिक्षिका थिइन् । उनका पति मानव जिल्लामा लोकप्रिय मानिन्थे । उनकै पत्नीलाई टिकट दिन सहज हुने विश्लेषणसहित जिल्लाबाट अरुकै सिफारिस आए पनि काङ्ग्रेसले कान्तिकालाई मेयरको टिकट दिएको थियो । उनले चुनाव जितिन् पनि । 

कमला शर्मा

सुर्खेत क्षेत्र नं. १ मा पहिलो संविधानसभाको चहलपहल थियो । जिल्ला तहका नेता रहेका ऋषिप्रसाद शर्माको चुनावी प्रचारप्रसार चलिरहेको बेला भएको झडपमा उनी मारिए । ०६४ सालमा एमालेले उनकी पत्नी कमला शर्मालाई उम्मेदवार बनायो । कमला निर्वाचित पनि भइन् । पहिलो संविधानसभामा एमालेबाट निर्वाचित हुने कमला एकजना मात्र महिला थिइन् । 

विद्या भट्टराई 

०७५ फागुन १५ गते पाथीभराबाट फर्कने क्रममा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भयो । उनको निधनसँगै कास्की २ प्रतिनिधिसभा रिक्त हुन पुग्यो । सो स्थानमा पनि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । नेकपाले सो क्षेत्रमा अधिकारी पत्नी विद्यालाई उम्मेदवार बनाएको छ । उसो त, विद्या आफैँमा राजनीतिकर्मी हुन् । विद्यार्थी राजनीतिमा केन्द्रीय तहमा रहे पनि उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिइनन् । उनी उपप्राध्यापकको रुपमा विश्व–विद्यालयमा सक्रिय थिइन् । रविन्द्रको निधनपछि पुनः उनी राजनीतिमा फर्किएकी छन्, कास्की २ को उम्मेदवारको रुपमा । 

विमला वली 

सवारी दुर्घटनामा गम्भीर घाइते प्रदेश सांसद उत्तरकुमार वलीको निधन भयो । ०७५ फागुनमा उनको निधनपछि दाङ ३ (ख) रिक्त थियो । मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले वलीकै पत्नी विमलालाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनलाई उम्मेदवार बनाउनुको कारण पनि उनकै पतिको लोकप्रियतालाई मानिएको छ । उनलाई उम्मेदबार बनाउँदा सिट जोगिन्छ भन्ने विश्लेषणले काम गरेको बताइन्छ । 

माया ज्ञवाली 

मदन भण्डारीसँगै जिप दुर्घटनामा तत्कालीन पार्टी सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पनि थिए । मदन पत्नी विद्या राजनीतिमा अघि बढेपछि आश्रित पत्नी माया ज्ञवाली भने पर्दाबाहिर नै रहिन् । आफूलाई पार्टीले नहेरेको गुनासो वर्षौंसम्म रह्यो उनको । ०७४ सालमा भने उनलाई नेकपाले समानुपातिक कोटाबाट सांसद बनायो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro