काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्र मन्त्रीहरु तथा विदेश मामिलाका जानकारहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले भ्रमणको दुई दिनअघि आज आफ्नै निवासमा छलफल कार्यक्रम आयोजना गरेका हुन् । प्रधानमन्त्री ओलीले सीको भ्रमणका विषयमा नेपालको तर्फबाट के गर्ने भनेर सहभागीहरुसँग सुझाव मागेका थिए ।
छलफलमा सहभागीहरुले चीनसँग ऋणभन्दा लगानीमा जोड दिनुपर्ने सुझाव दिएका थिए । सुझाव दिने क्रममा सबैले चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु सुखद् भन्दै भ्रमण स्वागतयोग्य भएको बताएका थिए ।
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सीको भ्रमणलाई अवसरका लिनुपर्ने धारणा राखे । उनले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिनुपर्ने भन्दै तीनवटै देशसँग समानान्तर सम्बन्ध राख्ने गतिशील, शान्तिवाद र तटस्थताको नीति लिनुपर्ने बताए । बीआरआई र इण्डो प्यासिफिक दुवैबाट लाभ लिनुपर्ने उनको सुझाव थियो ।
चीनसँग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने भन्दै उनले रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिन पनि उनले सुझाए ।
उनले सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल गर्न नहुनेमा पनि जोड दिएका छन् । लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने र सन् १९६०को नेपाल चीन मैत्री–सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्रीलाई आफूले दिएको सुझाव भट्टराईले ट्विट पनि गरेका छन् ।
छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले सीको भ्रमण स्वागतयोग्य भएको बताए । उनले सी भ्रमणको मुख्य कुरा नेपालले चीनबाट कसरी आर्थिक लाभ लिने भन्ने नै रहेको भन्दै चीनबाट लगानी बढाउनेमा सरकारले ध्यान दिनुपर्ने सुझाव राखे । त्यस्तै उनले पनि ऋणभन्दा लगानी भित्र्याउनेमै ध्यान दिनुपर्नेमा जोड दिए ।
रेलमार्ग निर्माण दिर्घकालिन योजना हुनसक्ने भन्दै उनले अहिले भने नेपाल–चीन जोड्ने नाकामा सडक सञ्जालले जोड्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । त्यस्तै, चिनियाँ कम्पनीले ठेक्का पाएका योजनाहरुमा समयमा काम नगर्ने, लागत बढाउने लगायतका समस्या रहेको भन्दै सोबारे पनि ध्यानाकर्षण गराउनुपर्ने महतको सुझाव थियो । प्रधानमन्त्रीसँगको छलफलमा भेटमा सुपुर्दगी सन्धीका बारेमा भने छलफल नभएको उनले बताए ।
प्रधानमन्त्रीलाई सुझाव दिन पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी बालुवाटार पुगेका थिए । त्यस्तै, पूर्व परराष्ट्रमन्त्रीहरु महत, सुजाता कोइराला, रमेशनाथ पाण्डे, नारायणकाजी श्रेष्ठ, भीम रावल, प्रकाशशरण महतलगायतले आफ्नो सुझाव राखेका थिए । चीनसँग सम्झौता गर्दा नेपालको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुको जोड थियो ।