site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महरा सभामुखबाट पदमुक्त, सांसद पद के हुन्छ ?

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा स्वतः पदमुक्त भएका छन् । उनले आफ्ना प्रमुख स्वकीय सचिव सागर केसीमार्फत् उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामापत्र बुझाएको बताइएको छ । 

संविधानमै सभामुखले उपसभामुखलाई राजीनामा बुझाउने व्यवस्था छ । लिखित राजीनामापत्र बुझाएपछि स्वतः पद रिक्त हुने संवैधानिक व्यवस्था छ । सभामुख महराले भने राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भन्ने उल्लेख गरेका छन् । 

आफ्नै सचिवालयमा काम गर्ने एक महिलामाथि सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सर्वत्र आलोचना भएको थियो । चौतर्फी आलोचना र आफूलाई सभामुख बनाउने पार्टी नेकपाले नै राजीनामा दिन भनेपछि उनले सभामुख पदबाट राजीनामा दिएका हुन् । 

सत्तारुढ दल नेकपाका तर्फबाट सभामुख बनेका महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपा सचिवालयको मंगलबार बसेको आकस्मिक बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । सुझावअनुसार महराले सभामुखबाट राजीनामा दिएका छन् तर, सांसद पदबारे उनी मौन छन् । 

महराको राजीनामा पत्रमा ‘छानबिन नसकिँदासम्मका लागि’ भनेर उल्लेख भए पनि संविधानमा सभामुखले लिखित राजीनामापत्र बुझाइसकेपछि छानबिनबाट निर्दोष सावित भए पनि पुनः पदमा बहाल हुनसक्ने कुनै व्यवस्था छैन । त्यसैले उनले राजीनामा पत्रमा घुमाउरो भाषामा छानबिन नसकिँदासम्मका लागि भने पनि उपसभामुखसमक्ष उनले बुझाएको राजीनामापछि उनी स्वतः पदमुक्त भएका छन् । 

सांसद पद के हुन्छ ? 

सभामुखबाट राजीनामा गर्ने महराको लिखित पत्रले उनको सभामुख पद गएको छ । तर, सोही पत्रका आधारमा मात्र उनको सांसद पद भने जाँदैन । 

यद्यपि, पार्टीले उनलाई सभामुख र सांसद पदबाट राजीनामा गर्न भनेकाले पार्टीको नजरमा अब महरा सांसद नरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । “पार्टीले सभामुख र सांसदबाट पनि राजीनामा गर्न भनेपछि पार्टीको नजरमा उहाँ सांसद पनि रहनुहुन्न,” उपनेता नेम्वाङले भने । 

तर, कानुनको दृष्टिमा भने महरा आफैँले सांसद पदबाट समेत राजीनामा नदिँदासम्म सांसदको हैसियतमा भने रहनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro