काठमाडौं । गएको भदौ ३० गते पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसका दिन पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘परिवर्तन विरोधीको प्रतिकार’ गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।
दुई दिनअघि, भदौ २८ गते नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानभित्रै खप्की खानुपरेको थियो ।
उडान समयभन्दा एक घण्टा ढिलो आएको भन्दै आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीको समूहले भट्टराईविरुद्ध विमानस्थलको रनवेमै नाराबाजी गरेका थिए । उनले ‘कहाँ मोजमस्ती गर्दै हुनुहुन्थ्यो, यात्रुलाई कुराउने ? तपाईंको मात्रै देश हो ?’ भन्दै मन्त्री भट्टराईलाई औंला ठड्याएका थिए ।
शाही पछिल्लो समय भ्रष्टाचारविरुद्ध ‘नेपालका लागि नेपाली अभियान’ चलाइरहेका छन् । सत्तारूढ पार्टीका नेताविरुद्ध ‘रूखो टिप्पणी’ गर्दै आइरहेका छन् उनी । गत जेठ १५ गते कर्णालीका पत्रकारलाई अपशब्द प्रयोग गरेको र सार्वजनिक रूपमा गाली बेइजती गरेको कसुरमा शाहीलाई पक्राउ गरिएको थियो । केही समयपछि प्रशासनको निगरानीमा रिहा पनि भएका थिए । त्यसो त सत्तारूढ दलका नेता कार्यकर्ताले शाहीलाई राजावादीको आरोप पनि लगाउँदै आएका छन् । शाहीका गतिविधि गणतन्त्र, धर्मनिरपेक्षता, संविधानविरुद्ध परिलक्षित रहेको पनि सत्तारूढ दल नेकपाका कार्यकर्ताले बताउने गरेका छन् ।
अध्यक्ष प्रचण्डले शाहीका गतिविधि परिवर्तन विरुद्ध जनमत बनाउन उद्दत रहेको लख काटे । र, पार्टी कार्यकर्तालाई ‘प्रतिकार’ गर्न निर्देशन दिए ।
असोज ५ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले प्रतिकार गर्न निर्देशन नदिएको तर परिवर्तन विरोधीको प्रतिवाद गर्न ढिला गर्न नहुने तर्क गर्दै अघिल्लो अभिव्यक्तिको बचाउ गरेका थिए ।
पार्टी कार्यकर्तालाई प्रतिकार र प्रतिवादको निर्देशन दिने प्रचण्ड एक्ला अध्यक्ष भने होइनन् । असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गाणतन्त्रमाथि खतराको घण्टी बजेको बताएका थिए ।
सिंहदरबारको पुतली बगैँचामा बन्न लागेको संसद् भवनको शिलान्यास गर्दै उनले दृष्टान्त दिए, “अहिले केही प्रतिगमनतर्फ जान सकिन्छ भन्ने निरर्थक सपना देखिरहेका छन् । जबसम्म डमरुमाथि खतरा आइपर्दैन, बघिनी चुप लागेर बस्छे तर जब डमरुमाथि खतरा आइपर्छ, बघिनी चुप लागेर बस्दिन ।”
उनको अभिव्यक्ति पनि परिवर्तनविरोधीको प्रतिकार गर्नु नै भन्ने थियो । त्यसो त उनले केही समयअघि बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेर गणतन्त्र र संविधान खतरामा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
पार्टी अध्यक्षद्वयको ‘प्रतिकार आदेश’ले अहिले नेकपा कार्यकर्तालाई आक्रमण गर्न प्रेरित गरेको र विपक्षी र विमति राख्नेहरूलाई आक्रमण गर्न हौस्याएको आभास हुन्छ ।
त्यसैको प्रमाण हो– शनिबार चितवनमा शाहीमाथि साङ्घातिक हमला ।
चितवनको चौबीसकोठीमा बहिर्गमित जनमुक्ति सेनाका लडाकु लेनिन विष्टसहित कार्यक्रम गर्न पुगेका शाहीमाथि एक समूहले आक्रमण गरेपछि नेकपाको लोकतान्त्रिक चरित्रमाथि नै शंका उब्जिएको हो ।
नेपालको संविधान (भाग–३, धारा–१७ अनुसार) ले विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता र नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रतालाई मौलिक हकमा राखेको छ । र, कानुनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगर्ने बताएको छ । तर सत्तारूढ दलका नेता–कार्यकर्ता सार्वभौम नागरिकको मौलिक हक हनन् हुनेगरी प्रतिवाद–प्रतिकारमा उत्रिनु लोकतन्त्र र संविधानकै लागि खतरापूर्ण रहेको टिप्पणी हुन थालेको छ ।
आक्रमणको पछिल्लो शृङ्खला
गत भदौ २६ गते नेपाली काङ्ग्रेस बाँकेले जिल्लाको खजुरा गाउँपालिका–२ मा १०६ औं वीपी स्मृति दिवसको सन्दर्भमा कार्यक्रम राखेको थियो । भदौ २४ गतेबाट आरम्भ भएको राष्ट्रिय जनजागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यत्रम थियो त्यो ।
कार्यक्रम भइरहेका बेला नेकपाका स्थानीय तहका कार्यकर्ता हलभित्रै प्रवेश गरेर हातपात गरे । आक्रमणबाट बाँके काङ्ग्रेस सभापति किरण कोइरालाको हातै भाँच्चिन पुगेको कांग्रेसले आरोप लगायो ।
बाँके घटनाले राष्ट्रिय रूप लियो । संसद्को बर्खे अधिवेशन चलिरहेको थियो । प्रमुख प्रतिपक्षी दलले बेल घेराउ गर्यो । दुई दिन लगातार आन्दोलन गरेपछि तेस्रो दिन आक्रमणका योजनाकार सुमन मल्ल विरुद्ध किटानी जाहेरी प्रहरीले बुझ्यो । कांग्रेसको आन्दोलन सेलाउँदै गयो ।
बाँके घटना चिसिन नपाउँदै भदौ २९ गते नेकपाका कार्यकर्ताले भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीलाई आक्रमणको तारो बनाए ।
अघिल्लो दिन नेपालगञ्ज घटनाको सत्यतथ्य बताउन भन्दै पत्रकारलाई ललितपुरको कुपण्डोलमा निम्त्याएका थिए शाहीले । विद्यार्थी बनेर पुगेका सत्तासीन दल नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियूका कार्यकर्ताले सुरूमा प्रश्न सोधे । अन्तिममा आक्रमण प्रयास गर्दै लखेटे । आक्रमणबाट बच्न प्रहरीको शरणमा पुग्दा उल्टै ‘दुर्व्यवहार’को मुद्दा खेप्नु परेको शाहीको दुखेसो छ ।
त्यसपछि पनि आक्रमणको सिलसिला रोकिएको छैन ।
शनिबार भ्रष्टाचारविरुद्ध नागरिक सभा गर्न चितवन पुगेका शाहीमाथि पुनः आक्रमण भयो । कार्यक्रम स्थगित गरिसकेपछि पनि शाहीमाथि साङ्घातिक आक्रमण गरिएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । भिडियोमा फलामे रड, बाँसको भाटा बोकेका आक्रमणकारीले ज्ञानेन्द्र शाहीलाई चारैतिरबाट घेरा हालेर आक्रमण गरेको देख्न सकिन्छ । सर्वसाधारणको जिउधनको रक्षा गर्ने दायित्व बोकेको प्रहरीसमेत मूक दर्शक बनेको शाही समर्थकहरूको आरोप छ ।
चितवन घटनामा नेकपाका कार्यकर्ता नै संलग्न छन् कि छैनन् ? त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्न र अभियुक्त पक्राउ गर्न चासो नदिएको शाहीको आरोप छ । शाहीले कार्यक्रमपूर्व सूचना नदिएको चितवन प्रहरी बताउँछ ।
नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका संयोजक ऐन महरले ‘विस्फोटक ब्याटिङ’ भन्दै देशको हित हुने काम भन्दै उक्त प्रशंसा गरेका थिए । “सिङ्गापुर र चितवनमा भएका विस्फोटक ब्याटिङ्ग दुवै देश जनता र गणतन्त्रको हितमा छन्,” सिंगापुरमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले गरेको ब्याटिङसँग जोडेर उनले भनेका थिए ।
महरको प्रतिक्रियाले पनि चितवन घटनामा पार्टीका नेता–कार्यकर्ता संलग्न रहेको आरोपलाई अस्वीकार गर्दैन ।
शनिबारको घटनाको तरङ्ग साम्य नहुँदै आइतबार तनहुँमा कांग्रेस नेता मीनेन्द्र रिजालमाथि आक्रमण प्रयास भयो ।
जिल्लाको रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका नेता रिजालमाथि नेकपा समर्थक, शुभेच्छुक बियरको बोतल, लाठी र घरेलु हतियारसहित आक्रमणका उत्रिएको र चार घण्टा बाटो छेकेको रिजालले बाह्रखरीलाई बताएका छन् ।
आफूमाथि पटकपटक आक्रमण प्रयास भए पनि काङ्ग्रेसका स्थानीय नेता–कार्यकर्ताले जोगाउन सफल भएको रिजाल बताउँछन् ।
तनहुँ घटनामा भने काङ्ग्रेसका नेता–कार्यकर्ता र नेकपाका स्थानीय नेताको कुरा बाझिएको छ । नेकपाका स्थानीय नेताले रिजाललाई अवरोध नगरेको भन्दै गाउँपालिकाको केन्द्र कहाँ राख्ने भनेर विवाद चर्किएको र त्यही भुङ्ग्रोमा रिजाल परेको उनीहरूको तर्क छ ।
रिसिङ गाउँपालिकाको केन्द्र राख्ने विषयमा नेकपा र काङ्ग्रेस विभाजित छन् । स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले ‘क्लिन स्वीप’ गरेको गाउँपालिका भएकाले आफूले भनेकै ठाउँ (पोखरीभञ्ज्याङ्ग)मा गाउँपालिका भवन बनाउने अडानमा काङ्ग्रेस थियो ।
तर काङ्ग्रेस इतरका पार्टीले ढुङ्गागाडेमा गाउँपालिका भवन बनाउनुपर्ने बताउँदै केही दिनदेखि विरोधमा उत्रिएका थिए । नेकपा सहित दलको विरोधकै बीच आइतबार रिजाललाई शिलान्यास गर्न निम्त्याइएको स्थानीय पार्टीका नेता बताउँछन् ।
विरोधस्वरूप काङ्ग्रेस बाहेकका दलले आइतबार गाउँपालिका बन्दको घोषणा गरेका थिए । बन्दकै बीच रिजाल दमौली आइपुगिसकेको थाहा पाएपछि सङ्घर्ष समितिका संयोजक भूपालसिंह थापाको नेतृत्वमा स्थानीयले रूख ढालेर, ढुङ्ग तेस्र्याएर बाटो अवरुद्ध तुल्याएको ती नेताको भनाइ छ ।
अवरोध पन्छाउँदै रिजाल शिलान्यास स्थलतर्फ अघि बढेपछि सङ्र्ष समितिले धुरी नछाडी महिला, केटाकेटी लाठी–मुङ्ग्रीसहित सडकमा निकालेर अवरोध गर्न खोजिएको तर आक्रमण प्रयास नभएको नेकपा रिसिङ गाउँपालिकाले बताएको छ ।
“स्थानीयको आवाज बेवास्ता गरेर गाउँपालिका भवन शिलान्यास गर्न काङ्ग्रेसका केन्द्रीय नेता मीनेन्द्र रिजाल बोलाइएपछि विवाद चर्कन गएको हो, कसैलाई आक्रमण भएको छैन । आक्रमण गर्ने नीति पनि छैन,” नेकपाकी नेतृ भगवती न्यौपाने बताउँछिन् ।
‘आक्रमण गर्न जाने पार्टीका कार्यकर्ता हुन सक्दैनन्’
ठूल्ठूला चाडपर्वको छेकोमा भएको साङ्घातिक आक्रमणले पार्टीलाई चिन्तित बनाएको सचिवालय सदस्य झलनाथ खनाल बताउँछन् । “नेपालजस्तो शान्तिप्रिय देशमा कसले यस्तो घटना घटाइरहेको छ । कहाँबाट भइरहेको छ, सरकारले यसको खोजी गर्नुपर्छ,” उनी भन्छन् ।
नेकपाकै नेता–कार्यकर्ता आक्रमणका उत्रिए भनेर विपक्षीले आरोप लगाइरहेको छ । कतै त प्रमाणित नै भइसकेको छ नि ? भन्ने बाह्रखरीको जिज्ञासामा खनाल थप्छन्, “आक्रमण गर्न जाने नेकपाकै कार्यकर्ता हुन् भनेर प्रमाणित भएको छैन । आक्रमण गर्न जाने पार्टीका कार्यकर्ता हुन्छन् जस्तो पनि मलाई लाग्दैन् । यदि नेकपाकै कार्यकर्ता संलग्न रहेको प्रमाणित भएमा कारवाही गर्नुपर्छ ।”
केही दिनअघि पार्टी अध्यक्षले नै प्रतिवाद–प्रतिकार गर्न निर्देशन दिनुभएको थियो, त्यसैको असर त होइन ? भन्ने अर्को जिज्ञासामा खनालको उत्तर थियो, “विलकुलै होइन । कसैलाई प्रतिकार गर्न निर्देशन दिइएको छैन ।”
यो पनि
नेकपा कार्यकर्ताद्वारा मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास