दाङ । दाङको बाल अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण अस्पताल थला परेको छ । यो दाङको घोराही उपमहानगरपालिका वडा नं.१६ मा पर्छ ।
भारतीय दुतावासको सहयोगमा निर्माण भएको भवन प्रयोगविहीन छन भने बहुमुल्यका मेसेनरी औजारहरु प्रयोगविहीन छन । अस्पतालको भवन निर्माण भएको एक दशक बित्यो तर अस्पताल भने कोमामा छ । कहिले चल्दै, कहिले बन्द हुँदै गएको बाल अस्पताल अहिले ठप्प छ । अस्पतालमा कुनै पनि स्वास्थ्य सेवा उपलव्ध छैन ।
अस्पताल चल्न नसक्दा महत्वपूर्ण उपकरणहरु प्रयोगविहीन छन भने शैयाहरु कामै नलाग्ने हुन थालेका छन । अस्पताल सञ्चालन हुन नसक्दा भवन कहिले प्रहरीको आवास, कहिले असहाय बालबालिका राख्ने केन्द्र त कहिले छाडाचौपायाको आश्रयस्थल बन्न पुगेको छ । अस्पताल चलाउनका लागि सञ्चालक समितिले समन्वय गर्न नसक्दा भवन निमार्ण भएर पनि अस्पताल चल्न नसकेको स्थानीयको भनाइ छ ।
विभिन्न दाताको जग्गा दान र भारतीय दुतावासको सहयोगमा अस्पताल बने पनि अस्पताल सञ्चालक समितिको बेवास्ताका कारण अस्पताल सञ्चालन हुन नसकेको घोराही उपमहानगरपालिका वडा नं. १६ कार्यबाहक अध्यक्ष समेत रहेका जगत श्रेष्ठ बताउछन् । सञ्चालक समितिले आफूले पनि चलाउन नसक्ने राज्यलाई सञ्चालन गर्न पनि नदिने नेतृत्वका कारण अस्पताल चल्न नसकेको उनको आरोप छ ।
उमाशंकरनाथ योगी बाल अस्पताल २०६६ सालमा भारतीय दुतावासको ६६ लाख रुपैयाँको सहयोगमा निर्माण भएको थियो । भारतीय दुतावासले अस्पताल भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत ७७ लाख रुपैयाँ उपलव्ध गराएको थियो । तर टेन्डर आह्वान गर्दा ६६ लाख रुपैयाँमा अस्पतालको भवन निर्माण भएको थियो ।
अस्पतालको भवन निर्माण भएपछि २०६६ साल असारदेखि घोराही सञ्चालित बाल अस्पताललाई उक्त भवनमा सारिएको थियो । तर साउन महिनादेखि उक्त भवनमा प्रहरीसमेत बस्न थाल्यो । अस्थायी प्रहरी चौकी सर्रा २०६६ साल साउनमा एक महिनाकालागि भनेर अस्पतालमा बसेको थियो तर २०७३ सालसम्म बस्यो । त्यही कारण बाल अस्पताल सञ्चालनमा समस्या सिर्जना भएको बाल अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदिप योगी बताउँछन् । त्यसका लागि अस्पताल सञ्चालनका लागि आर्थिक स्रोत नै नभएको उनको भनाइ छ ।
आफूले अस्पताल सञ्चालनका लागि घोराही उपमहानगरपालिकासँगै राजनीतिक दल, सांसदहरुसँग बजेटको माग गरे पनि कतैबाट सहयोग नभएको उनको गुनासो छ । ‘अस्पताल सञ्चालनका लागि राज्यका कुनै तहबाट हामीलाई सहयोग भएन्,’उनले भने,‘कतैबाट सहयोग नहुँदा अस्पताल सञ्चालन गर्न सकिएन ।’ जसका कारण अस्पताल सञ्चालन गरिए पनि बन्द हुन पुग्यो ।