सत्तारुढ दलका नेताहरूको सर्वसत्तावादी हुँकार कार्यकर्तासम्म पुग्दा कति विषाक्त र असहिष्णु बन्छ भन्ने पछिल्लो उदाहरण बाँकेको घटना हो । बाँके जिल्लामा नेपाली कांग्रेसको कार्यक्रमस्थलमै पार्टी सभापतिलगायत केही कार्यकर्तामाथि गत बिहीवार सांघातिक आक्रमण भयो । आक्रमणमा सत्तारुढ दलका स्थानीय कार्यकर्ता संलग्न रहेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसका अनुसार घटनास्थलमा उपस्थित सुरक्षाकर्मी सांघातिक आक्रमण हुँदा पनि तमासा हेरेर बसे । गृहमन्त्रीले संसद्मा घटनामा संलग्न केही व्यक्ति समातिएको र कारबाही हुने बताए पनि कांग्रेस आश्वस्त भएको देखिएन । नेपाली कांग्रेसले घटनाको विरोधमा कार्यक्रम सुरु गरिसकेको छ । पार्टीका प्रवक्ताले दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिएका छन् । अर्थात्, कांग्रेसले आक्रमणको यस घटनालाई निकै गम्भीरतापूर्वक लिएको छ ।
बाँके कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले गरेको सांघातिक आक्रमण टोले गुन्डाको ‘ग्याङ फाइट’जस्तो पक्कै हैन । कांग्रेसको कार्यक्रममा एक्कासी नियोजित आक्रमण भएको देखिन्छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित खजुरा गाउँपालिका–१ का अध्यक्षकै निर्देशनमा केही स्थानीय कार्यकर्ताले कार्यक्रम हुँदाहुँदै आक्रमण गरेका रहेछन् । आक्रमणकारीहरूले ‘‘यो हाम्रो क्षेत्र हो, यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’’ भनेको कांग्रेसका प्रमुख सचेतकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । सत्तारुढ दलका स्थानीय नेताले यसरी कुनै स्थानमा कार्यक्रम गर्न विपक्षी दललाई निषेध गरेको हो भने यो आपत्तिको विषय यही हो । यसैगरी अर्को पार्टीको कार्यक्रममा आक्रमण गर्ने अर्घेल्याइँ गरेको देख्दा पनि सुरक्षाकर्मीले तमासा हेरेर बस्नु अर्को गम्भीर आपत्तिको विषय हो ।
अहिलेसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट बाँके आक्रमणका सम्बन्धमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसले घटनाप्रति पार्टीका नेताहरूको ‘मौन सम्मति’ रहेको सन्देह बढाएको छ । अर्को पार्टीको कार्यक्रमस्थलमा गएर आक्रमण गर्ने उपद्रवकारीलाई बल प्रयोग गरेर पनि रोक्नुको साटो प्रहरी तमासा हेरेर बसेकाले पनि सत्तारुढ दलको उपल्लैतहका नेताहरूको निर्देशनमा घटना भएको सन्देह हुन्छ । केही साता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य प्रणालीमाथि आक्रमण’ भइरहेको भन्दै ‘संविधान निर्माता शक्ति’बीच समझदारी हुनुपर्ने धारणा राखेका थिए । यथार्थमा शासन व्यवस्थामाथि खतरा यस्तै घटनाबाट हुने हो । पञ्चायतकालमा सरकारको संरक्षणमा मण्डलेहरू यसरी नै विपक्षी राजनीतिलाई निषेध गर्न भौतिक आक्रमणमा उत्रन्थे । यस्ता घटनाप्रति सत्तारुढ पार्टीका नेता मौन रहँदा मण्डले सर्वसत्तावाद दोहोरिन थालेको झल्को लाग्छ ।
सैद्धान्तिकरूपमा त कम्युनिस्टहरू पनि निषेधको राजनीतिमा विश्वास गर्ने जत्था हो । यसैले नेकपा (नेकपा)का नेताहरूलाई बल पुगेका ठाउँमा विपक्षीलाई भौतिक आक्रमण गरेर पनि दबाउनु अनुचित नलाग्न सक्छ । तर, लोकतन्त्रमा विश्वास गर्नेहरूका लागि यो असह्य प्रवृत्ति हो । सरकारले आक्रमणकारीमाथि कानुनअनुसार कारबाही गर्नुपर्छ र बाँके प्रहरीको व्यवहारको निष्पक्ष छानबिन गरी दोषीलाई सजाय दिनुपर्छ । साथै सत्तारुढ दलले घटनाको नैतिक जिम्मेवारी लिएर माफी माग्ने र हुल्याहा कार्यकर्तालाई कारबाही गर्ने गरेर निषेधको राजनीतिमा विश्वास नभएको प्रमाणित गर्नुपर्छ । कांग्रेसले आरोप लगाएजस्तै विपक्षी विचारको दमन गर्ने नियोजित प्रयास हो भने कम्युनिस्ट सर्वसत्तावादविरुद्ध नागरिकहरू पनि सडकमा जानुपर्ने हुनसक्छ । सत्ताधारीहरूले अब पुराना कम्युनिस्ट नेताहरू स्टालिन वा माओत्से तुङको मात्र हैन नेपालमा ह्युगो चावेजको शैली पनि अनुकरण गर्न सकिँदैन भन्ने हेक्का राख्नु बेस हुनेछ । अरू राजनीतिक दल र व्यक्तिले पनि यस्ता घटनामा नबोल्दा काल पल्काएजस्तो हुनसक्छ । चेतना हाेस् ।