पोखरा । घोषणा मितिको आठ महिनापछि शुक्रबार पोखरादेखि मनाङको हुम्डे विमानस्थलमा जहाज अवतरण छ । २०७१ वैशाखदेखि मनाङको एकमात्र विमानस्थल हुम्डे गौचरन बन्न पुगेको थियो ।
प्रदेश सरकार गठनयता प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले गत पुस २४ गते मिति नै घोषणा गरेर हप्तामा दुईपटक उडान भर्ने घोषणा गरेका थिए । तर, त्यसको ८ महिनापछिमात्रै प्रदेश सरकारका प्रमुखदेखि विभागीयमन्त्री, मनाङका प्रतिनिधीसभा सदस्य सहितको टोली पोखरादेखि हुम्डेसम्मको यात्रा गरेका हुन् ।
समिट एयरको विमानबाट हुम्डे पुगेका प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसलाई नियमित गर्न सहयोगको जरुरी रहेको बताए । सरकारका तर्फबाट पनि सबै खालको सहयोग हुने उनले प्रतिबद्धता दोहो¥याए ।
प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले आगामी असोज १० गते परेको अन्तर्राष्ट्रिय पर्यटन दिवसबाट विमानस्थलमा नियमित उडान गराउने तयारी भइरहेको जानकारी दिए ।
यसका लागि सरकारले प्याकेज बनाएको उनको भनाइ छ । विमानस्थलमा थप पूर्वाधारका लागि समेत योजना बनाइएको र पर्यटनसँग सम्बन्धित संस्थाहरुको सहकार्यमा मनाङ प्याकेज बनाउने विषयम ाछलफल भइरहेको उनले जानकारी दिए ।
मनाङबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित पाल्देन गुरुङले पर्यटक आगमनको सिजनमा उडानलाई नियमित गर्ने बताए ।
२०७१ वैशाखदेखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा मनाङको जनजीवन प्रभावित हुँदै आएको थियो । समु्द्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो ।
अब मनाङमाउत्पादन हुने स्याउ, जडीबुटी आदि हवाई सेवाबाट निर्यात गर्न सहज हुने भएको छ भने विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा विदेशीपर्यटक बढ्न सक्ने अनुमान गरिएको छ ।
सिमरामा उडान घोषणा मात्रै
मनाङसँगै बाराको सिमरामा पनि पोखरादेखि उडान भर्ने घोषणा गरिए पनि उक्त कार्य भने अघि बढ्न सकेको छैन् । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष, २०१९, छिमेकी पर्यटक वर्ष २०२० र अन्तर्राष्ट्रिय पर्यटन वर्ष २०२२ सञ्चालन गर्ने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले सातै प्रदेशमा पोखरादेखि जहाज उडाउने घोषणा गरेको थियो ।
उडान सञ्चालनभएपछि प्रदेश सरकारले लिएको पर्यटन सम्बन्धी लक्ष्य पूरा गर्न सहज हुने मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेश सरकारको सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप नै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने काम अगाडि बढिरहेको उनले बताए ।
पोखराबाट सातैवटा प्रदेशका लागि सिधा हवाईजहाज उडान भर्न आवश्यक तयारी थालिएको र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई यथाशक्य छिटो अन्तरप्रदेश भित्र उडान तालिका सार्वजनिक गर्न निर्देशन दिइएको लम्सालको भनाइ छ ।
मुलुकको व्यापार घाटा कम गर्न तथा विदेशी एवं स्वदेशी पाहुनाको सहज, सरल र सुविधायुक्त आगमनका लागि पोखराबाट सातै प्रदेशका लागि जहाज उडाउने कार्य अगाडि बढाइएको हो ।
यस्तै सरकारले हरेक स्थानीय तहमा हेलिप्याड बनाउने नीतिअनुरुप स्थानीय तहसँग समन्वय गरी यो कार्यलाई पनि अगाडि बढाइएको उनले बताए ।