चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने नेपाल भ्रमणपछि स्वदेश फर्केका छन् । नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकका लागि विदेशमन्त्री वाङ नेपाल आएका थिए । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सत्तारुढ र प्रमुख विपक्षी नेतासँग पनि भेट गरे । विदेशमन्त्री वाङको भ्रमणका क्रममा दुई देशबीच तीन बुँदे समझदारीमा पनि हस्ताक्षर भएको छ । समझदारीमा चीनले मनाङमा अस्पताल निर्माण गरिदिने, चिनियाँ भाषा शिक्षणका लागि स्वयंसेवक शिक्षक पठाउने र आकस्मिक संकटमा प्रयोग हुने ५ हजार पाल सहयोग गर्ने उल्लेख गरिएको छ । नेपालका सामुदायिक विद्यालयमा ऐच्छिक विषयका रूपमा पढाइने चिनियाँ भाषा सिकाउन स्वयंसेवक शिक्षकहरू खटाइनेछन् । नेपाल बसाइका क्रममा विदेशमन्त्री वाङले केही पर्यटकीय स्थलको पनि भ्रमण गरे ।
नेपालका सरकारी अधिकारीहरूले प्रत्यक्षपरोक्ष रूपमा ‘बेल्ट एन्ड रोड’ अन्तर्गतका ठूलो महत्त्वाकांक्षी परियोजनाका सम्बन्धमा पनि विदेशमन्त्री वाङको भ्रमणमा ठोस प्रगति हुने अपेक्षा रहेको प्रचारप्रसार गरेका थिए । परन्तु, चीनले खासै रुचि देखाएको देखिएन । सम्भवतः सत्तारुढ दलका नेताहरूको उत्ताउलो प्रचारवाजीलाई चीनले मन पराएन । यसैले विदेशमन्त्री वाङको भ्रमण सत्तारुढ दलको प्रचारवाजीका लागि खासै उपयोगी हुन पुगेको देखिएन । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ आएका हुनसक्ने अनुमान पनि पुष्टि हुनसकेन । चिनियाँ पक्षबाट सधैँजस्तै उपयुक्त समयमा उच्चस्तरीय भ्रमण हुनसक्ने भन्ने कूटनीतिक धारणामात्र सार्वजनिक भएको छ । यसैले विदेशमन्त्री वाङको यो नेपाल भ्रमण परिपक्व कूटनीतिज्ञको मित्रतापूर्ण कामकाजी रह्यो भन्नु अन्यथा हुनेछैन ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण केही साता पहिले भएको भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरको भन्दा शान्त र सौहार्दपूर्ण रह्यो । विदेशमन्त्री वाङ वा चीनप्रति नेपाली सञ्चार माध्यममा मात्र हैन सामाजिक सञ्जालमा समेत दुर्भाव प्रकट भएन । नाकाबन्दीका योजनाकारका रूपमा चिनिएका भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणले धेरैको ध्यानाकर्षण गर्नु र उनको विरोध हुुनु अस्वाभाविक पनि थिएन । विदेशमन्त्री वाङ नेपाल छँदैमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा मोतिहारी – अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे । सञ्चार माध्यमलगायतको ध्यान पक्कै पनि पाइपलाइनको उद्घाटनतर्फ आकर्षित भयो । यसबाट चिनियाँ विदेशमन्त्रीको भ्रमणको उपलब्धिप्रति नेपाल सरकार सन्तुष्ट नभएको संकेत दिइएको त हैन भन्ने सन्देह उत्पन्न हुनसक्छ । चिनियाँ विदेशमन्त्रीको यात्रा र उद्घाटनको मिति संयोगले मात्र जुधेको पनि हुनसक्छ । त्यसो हो भने पनि कूटनीतिक सुझबुझ नपुगेको देखिन्छ ।
पक्कै पनि चीनसँग भन्दा नेपालको भारतसँगको सम्बन्ध निकट र बहुआयामिक छ । यसैले स्वभाविकरूपमा जटिल पनि छ । तैपनि, जनस्तरमा समेत निकट सम्बन्ध भएको भारतका विदेशमन्त्री आउँदा जनस्तरमै सन्देह र अविश्वास देखिने तर चिनियाँ विदेशमन्त्री आउँदा सद्भाव तथा सौहार्द प्रकट हुनुले भारतीय पक्षले पनि पाठ सिक्नु उचित हुनेछ । कारण, त्यसो हुनुमा दुई देशबीचको सम्बन्धको जटिलतामात्र नभएर भारतीय व्यवहार पनि पक्कै जिम्मेवार छ । नेपालका सत्तारुढ दलका अध्यक्षले समेत भारतीय विदेशमन्त्रीलाई भेटेनन् । होटलमा बोलाइएकाले मर्यादाक्रम नमिलेकाले नभेटेको प्रचार त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेका थिए । चिनियाँ विदेशमन्त्रीलाई भने उनले होटलमै गएर भेटेका थिए । भारतीय पक्षलाई बिच्क्याउन यस्तै छुस्के व्यवहार पनि पर्याप्त हुन्छ भन्ने हेक्का राख्नु जरुरी छ । चीनका विदेशमन्त्री वाङको भ्रमणबाट नेपाली पक्षले उत्ताउलो प्रचारवाजी प्रत्युत्पादक हुने र भारतीयहरूले छिमेकीलाई हेपेर सद्भाव र सौहार्द पाइँदैन भन्ने सिकून् !