पोखरा । मन्त्री नियुक्त भएपछि पहिलोपटक पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को लक्ष्य पूरा नभए पनि सरकारको दालभात नरोकिने टिप्पणी गरेका छन् । बुधबार दिउँसो पोखराका पर्यटन व्यवसायीहरुसँगको छलफलका क्रममा मन्त्री भट्टराईले उक्त अभिव्यक्ति दिएका हुन् ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पर्यटन व्यवसायीले नै असम्भव भन्ने अभिव्यक्ति नदिन पनि उनले आग्रह गरे । सरकारले तोकेको संख्यामा पर्यटक आउँदैनन् भनेर हिरो तथा नेता नबनिने उनको जवाफ थियो ।
“एउटा कुरा भन्छु है म पोखरेली साथीहरु ! यता ध्वस्त छ, उता ध्वस्त छ, यो बिग्रियो, त्यो बिग्रियो । त्यति साह्रो बिग्रेको चाहिँ छैन है । केही पर्यटन व्यवसायी साथीहरुको मैले स्टेटमेन्टहरु हेर्छु, टेलिभिजनमा विभिन्न ठाउँमा, २०२० मा २० लाख पर्यटक आउन सम्भवै छैन भनेर भन्नुहुन्छ, किन भन्नुपर्यो ? त्यो भनेर के तपाईं हिरो हुुनुुहुन्छ, नेता हुनुहुन्छ ?” उनले प्रश्न गरे ।
पर्यटन व्यवसायीले नै नकारात्मक टिप्पणी गर्दा पर्यटन क्षेत्र निरुत्साहित हुने र सरकारको नभई उनीहरुकै दालभात रोकिने उनको तर्क छ । “तपाईं पर्यटन व्यवसायी हुनुहुन्छ, उद्यमी हुनुहुन्छ । अनि तपाई आफैंलाई डिस्करेज गर्ने ? २० लाख नआए पनि त सरकारको मन्त्रीको दालभात चलिहाल्छ नि, तपाईंको पो चल्दैन । अनि आफ्नो दालभात बन्द गर्ने स्टेटमेन्ट दिने ? के भनेको ?” उनले थपे, “आफ्नै दालभात बन्द गर्ने काम, यस्ता स्टेटमेन्टहरु नदिनुस् ।”
२० लाख पर्यटक भित्र्याउने लक्ष्यमा यसअघि आउने १२–१५ लाख पर्यटकमा ५ लाखमात्र थप गरिने हुँदा कुनै ठूलो कुरा नभएको उनको भनाइ छ । “यहाँ धुवाँ छ, यहाँ धुलो छ, यहाँ बाटो भत्क्या छ, कुन टुरिष्ट आउँछ ? भन्ने जस्ता कुरा आइराखेका छन् । ५ लाख थप्ने भन्ने त हो नि । ठूलो कुरा गरेका छौँ र हामीले ?”
पर्यटन व्यवसायीहरुलाई उनले देशको दुर्दशाको व्याख्या नगर्न पनि सुझाव दिए । “हामी मान्छौँ, पूर्वाधार राम्रो छैन, यो कुरा थाहा छ नि । तपाईंलाई के फाइदा हुन्छ त्यस्तो फोटो फेसबुकमा हालेर ?” उनले भने, “अरु देशका पर्यटकलाई हाम्रो देशको दुर्दशाको व्याख्या किन गर्नू ? केही कमी छ भने सच्याउँला । अवश्य पनि विगतको भन्दा राम्रो भएको होला, विस्तारै हुँदै पनि जान्छ । हामी पनि विश्वका धेरै देश घुमेका छौँ । कुनकुन देशमा लगेज निकालेर बाहिर ट्याक्सी स्टाण्डमा आउन कति समय लाग्छ, हामीलाई पनि थाहा छ ।”