चैतको उखर्माउलो गर्मी– ढुङ्गामाटो समेत बल्लाजस्तो ! सुर्खेत, वीरेन्द्रनगर–६ स्थित जिल्ला विकास समितिअगाडि एमालेको सभा हुँदै थियो ।
एमालेका शीर्ष नेताहरूले खचाखच भरिएको मञ्च । मञ्चको अघिल्तिर टनाटन उपस्थित सर्वसाधारण । सभामा सहभागीहरूको अनुहार ‘इनोसेन्ट’ थियो । तिनको अनुहारमा कौतूहल र विस्मयको धूमिल छायाँ छरपस्ट थियो । चर्को धूपमा हातको पाली हालेर आज्ञाकारी बालकझैं मञ्चतिर एकोहोरो हेरिरहेका थिए ।
६ नम्बर प्रदेशअन्तर्गतका १० वटै जिल्ला उल्टिएर आएजस्तो देखिन्थ्यो उपस्थिति, विशाल !
दशवटै जिल्लाका कलात्मक र बान्कीपूर्ण विविध झाँकीहरू ! स्थानीय पहिचान, संस्कृति र रहनसहन झल्कने सांस्कृतिक/साङ्गीतिक प्रस्तुतिले आमसभा हेर्न आएकाहरू आह्लादित देखिन्थे । प्रचण्ड गर्मीको कुनै परवाह थिएन । र, ती मञ्चको पोडियमबाट नेताले बोलेका कुराहरू कान थापेर सुनिरहेका थिए ।
भाषण सुन्न सुर्खेतबासी मात्र होइन, चार–पाँच दिन लगाएर जुम्ला, जाजरकोटबाट समेत मानिसहरू उपस्थित थिए । र त, अघिल्तिर कोही उभिदियो वा छेकिदियो भने उनीहरू झडङ्ग रिसाउँथे । कागज पोको पारेर गोडामा हिर्काउँदै पन्छिदिन आग्रह गर्थे । कतिपय त झोक्किन्थे पनि, “नेताहरू हेर्नकै लागि यत्रो बाटो हिँडेर आएका छौं, तिमीहरू छेकिदिन्छौ, विवेक छैन तिमीहरूको ?”
० ० ०
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सभालाई सम्बोधन गर्दै थिए । त्यतिखेरै सञ्चारकर्मीको ध्यान मञ्चको दायाँतर्फ सोझियो । केही फोटो पत्रकारहरूले त्यतै आँखा मोडे र क्यामेराको लेन्स तेस्र्याएर दृश्य कैद गर्न थाले ।
मञ्चको दाहिने कुनामा एकजना वृद्ध आमै ताखु र फिर्कोको सहारामा धागो कात्दै थिइन् । त्यस्तै ६०–६५ वर्षकी । उनको दायाँ हातमा ऊनको ठूलो गुच्छा थियो ।
‘आमसभामा भाषण सुन्न आउनुभएको, किन ऊन कातिरहनु भएको छ त ?,’ मेरो पहिलो जिज्ञासा थियो ।
उनी मुस्कुराइन् मात्रै । र, पूर्ववत् मुद्रामा फिर्को घुमाइरहिन् । सोचेँ– उनले मेरो कुरा बुझिनन्, सायद !
० ० ०
उनको नाम नानी रोकाया हो र पुख्र्यौली घरचाहिँ जुम्लाको सिञ्जा हो । नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिञ्जा उपत्यका ! त्यसैले उनको लवजमा खस बान्की प्रस्टै झल्कन्थ्यो ।
नाकमा बुलाकी । कानमा मोटो कुण्डल । गलामा हरियो पोते र रातो माला लगाएकी नानीको पहिरनमा जुम्लाको रहनसहन र वेशभूषा प्रतिविम्बित भइरहेको थियो । तर, उनले जुम्ला छाडेको वर्षौं भयो । २० वर्ष भएछ सुर्खेत झरेको ।
“कर्णालीभन्दा लामो दुःख छ त्यहाँ,” उनको अनुहारबाट खुसी ओझेल पर्यो । एकछिन धागो बटार्न छाडेर पुस्तैनी दुःख उधिन्न थालिन् ।
“पेटभरि खान नपाएपछि जुम्ला रुँगेर किन बस्नु ? हामी त झर्यौं सुर्खेत !”
थपिन्, “छोराहरू बढ्न थाले । आफू त दुःखमा जाकियो जाकियो, उनीहरूले सुख पाउँछन् कि भनेर बसाइँ सरेको बाबु !”
यतिञ्जेल उनले हातमा बेरेको ऊनलाई धागोमा परिणत गरिसकेकी थिइन् । र, धागो ताखुमा उनिसकेकी थिइन् ।
सुर्खेत झरेपछि दुःखको कालो धब्वामा केही उज्यालो पोतिएको अनुभव गर्दैछिन् उनी । र पनि, उनले पुख्र्यौली पेसा छाडेकी छैनन् । आमसभामा आउँदा पनि हात खाली नराखेकी उनले कामको अन्तर्य सुनाइन्, “नेतालाई पो भाषण गरेर पुग्छ, हामीले काम नगरी कहाँ खान पाउँछौं र बाबु ?”
अनुहारको उज्यालो पुनः निस्तेज भयो ।
० ० ०
जुम्लामा छँदा उनले चार पाँच सय भेंडाच्याङ्ग्रा पालेकी थिइन् । मनग्ये ऊन उत्पादन हुन्थ्यो । राडी, पाखी बुन्न मात्र होइन, बेच्नै पुग्थ्यो । तर, सुर्खेत झरेपछि भने ऊन किनेर पाखी बुन्नुपर्ने भयो ।
‘‘यस्तो चैतमा पनि पाखी बिक्री हुन्छ त ?’’, मैले सोधें ।
“जुम्लातिर त हिजोआज पनि अचाक्ली जाडो छ । फेरि पाखी ओढेर हिँड्ने, कामधन्दा गर्ने जुम्लाबासीको विशेषता हो,” उनी फिस्स मुस्कुराइन् ।
मैले पुनः सोधें, ‘‘कहाँका मानिसले किन्छन् त पाखी ?’’
“पहिले–पहिले पो जुम्लातिरका मानिस आफैं पाखी बुन्थे, किन्नु पर्दैनथ्यो । अहिले भेंडा पाल्ने र पाखी बुन्ने चलन नै हराएर गइसक्यो । अहिले जुम्लातिरका मान्छेले नै किन्छन् ।” यति भनेर उनी खिल्खिलाउँदै हाँसिन् । सायद आफैले भनेको कुरामा उनलाई घत लाग्यो क्यारे !
० ० ०
घरमै तान छ उनको । एउटा पाखी बुन्न कम्तीमा महिना दिन लाग्छ । र, त्यसको मूल्य तीन हजारदेखि चार हजार रुपैयाँसम्म पर्छ ।
“पहिला त रातभरि नसुती हप्ता–दश दिनमै एउटा पाखी बुन्थें, अहिले त दुई महिनामा पनि एउटा पाखी बुनिसक्दिनँ, हात बसेछ बाबु !” उनको अनुहार पुनः सोहोरियो ।
भन्न थालिन्, “ऊन उस्तै महँगो छ, एक किलोको दुईसय रुपैयाँसम्म पर्छ, फेरि भनेको बेलामा पाइँदैन । आफूले भेंडा पालेको जस्तो कहाँ हुनु !”
“पाखीले त देशी ज्याकेटले भन्दा पनि तातो दिन्छ । र, एउटा पाखीले छ–सात हिउँद फटाउँछ बाबु !,” अनुहारको सन्नाटा उघ्रियो ।
उनको आफ्नै दुःख र गुनासो छ– ‘‘छोरानातिले अब यो पेसा गर्दैनन् । ‘पढेलेखेका मानिसले पनि तान बुन्छन् ? अर्थोकै काम गर्नुपर्छ’ भन्छन् । मैले चाहिँ हात नबसुन्जेल पाखी बुन्न छाड्दिनँ,” उनले अठोट व्यक्त गरिन् ।
० ० ०
‘‘नेपालबाट (उनले काठमाडौंलाई नेपाल भन्दिरहिछन्) नेताहरू आएका छन् भन्ने सुनेर आएकी’’ उनले भनिन् । नेता कहाँ बस्दा होलान्, के खाँदा होलान्, यस्ता सुकिला–मुकिला कसरी भए ? यावत् जिज्ञासा रहेछन् मनमा । यही कौतूहलले डोर्याएर हतार–हतार ऊन च्यापी आमसभास्थलतर्फ हानिएकी रहिछन् ।
त्यसैले पनि उनको हात धागो कात्न तल्लीन थियो भने कान भाषण सुन्न । कुराकानीको अन्तिममा जिज्ञासा पोखिन्, “चुनावमा चार–पाँच चोटि भोट हालिसकें, तर यी नेताले हाम्रो गाउँलाई केही दिएनन् । जुम्ला कता पर्छ थाहा पनि छैन होला !’’
उनको कुरा सुनेर नजिकै बसेका मानिसहरू गलल्ल हाँसे । त्यतिञ्जेलसम्म मञ्चमा बोलिरहेका नेता नेपालको भाषण सकिइसकेको थियो ।