काठमाडौं । ललितपुर क्षेत्रमा अवरुद्ध बनेको खानेपानी वितरण प्रणाली केही दिनमा नै सुचारु हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । असार अन्तिम साता अविरल वर्षाका कारण उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा खानेपानी पाइपहरुमा क्षति पुर्याएपछि जिल्लाका विभिन्न स्थानमा खानेपानी वितरण प्रभावित बनेको छ ।
खानेपानी संरचना मर्मत सम्भारपछि केही दिनमा नै खानेपानी वितरण गरिने केयुकेएलले बताएको छ । बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन नसकेको हो ।
ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि केयुकेएलले देवकी र बासुकी मुहान मर्मतलाई तीव्रता दिएको खानेपानी मन्त्रालयले बताएको छ । बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पुर्याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो ।
केयुकेएल ललितपुर शाखाका प्रमुख डा. डोलप्रसाद चापागाईंले तत्कालका लागि देवकी र बासुकी मुहान मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भवायर ट्याङ्कीमा खसलेको बताए । “तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भए पनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं,” शाखा प्रमुख चापागाईंले भने, “उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पुरै क्षति पुर्यायो । त्यसको पनि मर्मत गर्दैछौं । तत्कालका लागि २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।”
बाढीले क्षति पुर्याएको मुहान र पाइपलाइनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आएका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले बाढीबाट मुहान र पाइपलाइनमा गरी करिब ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिए ।
केयुकेएलले फर्पिङमा पम्पिङ गरेर ललितपुरका विभिन्न स्थानमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्याङ्कीमा सङ्कलन गरेर वितरण गर्ने गरेको छ । फर्पिङबाट पम्पिङ गरेर ल्याएको पानी ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गरिएको केयुकेएलले बताएको छ ।