दाङ । फूल टिपेको भन्दै बालकलाई कुटपिट गरेका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भीमबहादुर सार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दर्ता गरिएको छ ।
बालकलाई कुटपिट गरेको भन्दै बालकको परिवारले वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । उनले जिप्रका महिला तथा बालबालिका सेलमा पीडित परिवारले मुद्दा दर्ता गरेको जानकारी दिए । कुटिएको भनिएका बालकको आमाले महिला तथा बालबालिका सेलमा निवेदन दर्ता गराएको र भोली शुक्रबार दुवैपक्षबीच छलफल हुने प्रहरी निरीक्षक गौतमले वताए ।
आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका वडानम्बर ४ गोग्लीका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् । वडाध्यक्षको कुटपिटबाट घाइते भएका बालकको बिहीबार बिहान उपचार गरिएको छ।
वडाध्यक्ष सार्किले भने आफूले गम्भीर अवस्थामा पुग्ने गरि नपिटेको बताए । फूलबारीमा फूल टिपेपछि आफूले सामान्य चेतावनी दिनका लागि मात्रै टाउकामा सुस्त गरी पिटेको बताए । सानो घटनालाई ठूलो बनाइएको भन्दै उनले आफ्नो कुटाइबाट बालकलाई ठूलो चोट नलागेकोदाबी गरे ।