दाङ । दाङका १०० वडामध्ये ३५ वडालाई बढी जोखिमपूर्ण वडाको रुपमा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँहरु बढी जोखिममा छन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चालु आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वटा वडामा जोखिमको पूर्व सूचना दिने साइरन प्रणाली जडान गरिँदै छ ।
जिल्ला प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्नको लागि डिजिटल सूचना बोर्ड जडान गर्न लागिएको छ । जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारको लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताए । “हामीले जोखिम क्षेत्र छुट्याएका छौं, जोखिम परेमा सुरक्षित आश्रय स्थलको व्यवस्थासमेत गरिएको छ,” उनले भने, “‘खोज तथा उद्धारको लागि तीनवटै सुरक्षा निकायले उद्धार सामग्री वितरण गर्नेछ । जोखिम क्षेत्रका स्थानीय जनताहरुलाई समेत उद्धारको आधारभूत तालिम दिएका छौं ।”
अहिले जिल्ला प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ता कपडा आदिको तयारी रहेको उनको भनाइ छ । “अहिले हामीसँग तत्काल राहतको लागि ३ करोड रुपैयाँ बचत छ । स्थानीय तहले पनि १० लाखदेखि १ करोडसम्म विपत व्यवस्थापनमा छुट्याएका छन्,” उनले भने । अघिल्ला वर्षहरुमा विपतको समयमा उद्धारको लागि हम्मेहम्मे परे पनि स्थानीय तह आइसकेपछि उद्धारको लागि निकै सहज भएको उनले बताए ।
अहिले जिल्लाका सबै स्थानीय तहले १० लाखदेखि १ करोडसम्म बजेट विनियोजन गरेका छन् । घोराही उपमहानगरपालिले विपतको पूर्व सूचना प्रणाली, तयारी एवम् विपद जोखिम न्यूनीकरण तथा उद्धार एवं रातहको लागि एक करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै दुर्इवटा दमकल र स्काभेटर पनि तयारी अवस्थामा राखेको छ ।