
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार बोलाएको अनौपचारिक भेटवार्तामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषय उठेको खुलेको छ ।
वार्तामा सहभागी एक अधिकारीका अनुसार, पछिल्लो समय महानगरमा घटेका सबैजसाे विषय हिजोको बैठकमा छलफल भएको थियो ।
"महानगरमा आएका सबै विवादको विषयमा कुरा भएको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयमा पनि कुरा भयो । अब सबै विषय आगामी कार्यपालिका बैठकमा छलफल हुन्छ," उनले भने ।
महानगरका अनुसार, बालेनले चारदिन पहिले नै भेटका लागि बोलाएका थिए । तर, उपमेयर सुनिता डंगोल र प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर बुधबार मात्रै आएका थिए । "मेयर साबले चारदिन पहिले नै बोलाउनु भएको थियो । तर, उहाँहरू उपस्थित हुनु भएन । त्यसपछि हिजो बिहान बोलाउनु भएको थियो । बिहान पनि नआएपछि दिउँसो भेट भयो," स्रोतले बाह्रखरीसित भन्यो ।