site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ठुला दलबीच भएको सहमतिमा रास्वपाले माग्यो ‘समय’

काठमाडौं । रास्वपाबाहेकका राजनीतिक दलका नेताहरुबीच दुईबुँदे सहमति भएको छ ।

जसमा संसदीय छानबिन समिति बनाउने भन्ने विषय भने उल्लेख छैन ।

गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समय देखि संसद् अवरुद्ध हुँदै आएको भए पनि बिहीबार कांग्रेस, एमाले, माओवादी र नेकपा एसबीच दुईबुँदे सहमति कायम गरिएको एक नेताले जानकारी दिए ।

उनका अनुसार दुईबुँदे सहमतिका विषयमा रास्वपासँग छलफल भएको थियो ।

“कांग्रेस, एमाले, माओवादी र नेकपा एसबीच सहमति भयो,” एक नेताले भने, “अहिले रास्वपासँग छलफल हुँदैछ । हामीबीच भएको सहमति भनेको छानबिनका लागि अख्तियारलाई सहयोग गर्ने, अध्यागमन भिजिट भिसा लगायतका सम्बन्धमा नेपाल सरकारले छानबिन गरी सुधारको प्रतिवबद्धता गर्ने भन्ने विषय रहेको छ ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । उनले छलफल गर्दा रास्वपाले आन्तरिक छलफल र सत्तापक्षसँग थप कुरा गर्न समय मागेको जानकारी दिए ।

“सत्तापक्षबाट अध्ययन र छानबिन गर्ने प्रतिबद्धता आएको छ । प्रतिपक्षका बीचमा सकारात्मक वातावरण बनेको छ,” प्रचण्डले भने, “अझै छलफल गर्न पाउनुपर्‍यो, हामी पनि कुरा गर्छौँ । आजको दिन सदन सुरु गरेर अन्त गरौँ भन्ने उहाँहरुको प्रस्ताव रह्यो । रास्वपाका नेताहरुले अलि छलफल गर्न चाहनुभएको छ ।”

दाहालका अनुसार शुक्रबारदेखि संसद् बैठक चल्छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्