काठमाडौं । २०७२ फागुन अन्तिम साता नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । उनको नाम कांग्रेसको इतिहासमा नवौं सभापतिका रुपमा दर्ज भयो । देउवाले निर्वाचित भएलगत्तै घोषणा गरे, ‘पार्टीलाई एकतावद्ध बनाएर लैजान्छु ।’
कांग्रेसमा कोइरालाहरुसँगको टकरावका कारण पार्टी नै फुटाएका र पछि एकता गरेर आएपछि पनि एक पटक पराजय बेहोरेका देउवाले दोस्रो प्रयासमा सभापति हात पारे । २००३ सालमा टंकप्रसाद आचार्यलाई पहिलो सभापति मान्दा त्यसपछि डिल्लीरमण रेग्मी, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालापछि १३ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएका हुन् । कोइरालाहरुले पार्टी राम्रो सञ्चालन गर्न नसकेको भन्दै चर्को आवाज उठाएर नेतृत्वमा पुगेका देउवाले संगठन चुस्तदुरुस्त बनाउलान् भन्ने अपेक्षा गरिएको थियो ।
तर, देउवाले पार्टीका विभागहरु आफ्नै कार्यकाल सकिन नौ महिना बाँकी रहँदा समेत गठन गर्न सकेका छैनन् । विधानतः कांग्रेस सभापतिको नियमित कार्यकाल चार वर्ष हुन्छ भने विशेष अवस्था भन्दै बढीमा एक वर्ष थप गर्न पाइन्छ । उनको चार वर्षे नियमित कार्यकाल आगामी फागुनमा सकिँदैछ । कार्यकालको अन्तिमतिर अघिल्लो महिना नीति तथा प्रशिक्षण विभाग भने गठन भएको छ । अन्य दर्जनौं विभागहरु गठन हुनै सकेका छैनन् । संसदमा भूमिका खेल्न नसकेको भन्दै सभापति देउवाको पार्टीभित्रै आलोचना भइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहले पार्टी केन्द्रलाई चुनौती दिने गरी गतिविधि बढाइरहेका छन् । सभापति देउवाको हातमा १३औं महाधिवेशनबाट आइपुगेको पार्टीमा विस्तारै ‘होल्ड’ गुम्दै जान थालेकोमा निकटस्थहरु नै चिन्ता व्यक्त गर्छन् ।
देश संघीयतामा कांग्रेस कहिले ?
देश संघीयतामा गएर स्थानीय, प्रदेश र संघ तीन तहको निर्वाचन सम्पन्न भइसक्दा पनि कांग्रेस पुरानै संरचनामा छ । ७६१ स्थानीय तह र ७ प्रदेशमा कांग्रेसको राज्य संरचनाअनुकूलको पार्टी संरचना नै छैन । कांग्रेसको जागरण अभियानसमेत पुरानै पार्टी संरचनामा रहेर गरिँदा खासै प्रभावकारी हुन नसकेको गुनासो जिल्ला खटिएका प्रतिनिधिहरुले नै गरेका छन् । कांग्रेसका जिल्लामा खटिएका प्रतिनिधिसँग पार्टीले बुधबार गरेको छलफलमा पनि उनीहरुले सो कुरा राखेका छन् ।
सुनसरी प्रतिनिधि खटिएका कांग्रेस नेता महेश आचार्यले बैठकमा दोस्रो चरणमा जानुअघि नै संघीयताअनुसारको नयाँ संरचनाअनुसारको पार्टी समितिलाई पूर्णता दिनुपर्ने बताए । “तल्लो तहका नेता, कार्यकर्ताले पार्टीका संरचना संघीयताअनुसार बनाइँदा अभियान थप प्रभावकारी हुने बताएका छन्,” अभियानका क्रममा प्राप्त सुझाव केन्द्रीय समिति बैठकमा राखेका छन् । अन्य केन्द्रीय प्रतिनिधिहरुको सुझाव पनि अचार्यको भन्दा भिन्न थिएन ।
‘डेडलाइन’ असार तेस्रो साता, ढुक्क छैन पार्टीभित्रको प्रतिपक्ष
जागरण अभियानमा जाँदा स्थानीय नेता, कार्यकर्ता र केन्द्रीय समिति बैठक बस्दा संस्थापनइतर समूहले उठाउने सदाबहार विषय बन्यो, पार्टीका विभाग र पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था । गाउँदेखि केन्द्रसम्म उस्तै प्रश्न झेलेका देउवा अब धेरै यो विषय लम्ब्याउने पक्षमा नभएको उनी निकटस्थ बताउँछन् । विभाग, समिति, सांगठनिक संरचना, भ्रातृ संस्था सबैलाई पूर्णता दिएरमात्रै दोस्रो चरणको अभियान भदौमा शुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । शर्माको यस्तो भनाइलाई सभापति देउवा विभाग र भ्रातृसंस्था गठन गर्न तयार भएको सन्देशका रुपमा संस्थापन इतर समूहले बुझेको छ । तर, अझै पनि उनीहरु आश्वस्त भने देखिँदैनन् ।
पार्टी प्रवक्ताले नै अब छिट्टै विभाग, भातृसंस्थाको विषय टुंगिन्छ भनिसकेका बारे पार्टीभित्रैको प्रतिपक्षका रुपमा हेरिने नेता गगन थापा विश्वस्त भने भइहाल्ने अवस्था नभएको बताउँछन् । “यो बन्छ भन्ने कुरा सभापतिको पनि चाहना रहेछ भन्ने बुझ्नुपर्छ । हामीले त्यसमा मद्दत गर्ने हो । यसलाई बल पुर्याउने हो । तर, यो भन्नका लागि मात्रै भनेको विषयमात्रै नबनोस् । असारको तेस्रो साता पार्टीको बैठक राख्ने र बैठकबाट यी कुराहरु टुंग्याउने भन्नुभएको छ,” थापाले भने, “मेरो अपेक्षा, असारको तेस्रो साता बैठक बस्छ । बैठकले सबैभन्दा पहिले कि महाधिवेशनको निर्णय गर्छ कि अन्तरिम व्यवस्थाअनुसार संरचनाहरु बनाउने निर्णय गर्छ ।”
कांग्रेसले पार्टीको भ्रातृ संस्था, सबै संगठन तथा संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिने भन्दै यही असार २२ गते आइतबारका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
भताभुंग भ्रातृसंस्थाः न समिति, न महाधिवेशन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू भताभुंग अवस्थामा छन् । १३ वटा भ्रातृ संस्थामध्ये प्रभावकारी मानिने नेविसंघको केन्द्रीय कार्यसमिति नै छैन । तरुण दल कार्यकाल सकिनै लाग्दासमेत ९५ कार्यसमिति हुने तरुण दल अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष ४ पदाधिकारीमा सीमित छ । पोखरा महाधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता सिटौला र खुमबहादुर खड्काले १–१ जना पदाधिकारी भागवण्डा गरेर फर्किएको डेढ वर्ष बितिसक्दा केन्द्रीय समिति विस्तार नै हुन सकेको छैन । तरुण दलको कार्यकाल ६ महिनामात्र बाँकी छ । महासचिव भूपेन्द्रजंग शाही पार्टीले हातखुट्टा बाँध्दा समस्या भएको भन्दै कार्यसमिति विस्तार छिटो गर्न आफूले पटक पटक कुरा उठाउँदा पनि नसुनिएको गुनासो गर्छन् । “पार्टीलाई कार्यसमिति विस्तारका लागि हामीले पटकपटक आग्रह गरिसकेका छौं । कार्यसमिति विस्तार गर्ने कुरामा पार्टीकै भूमिका रहन्छ । हामीले चाहेर मात्र हुँदैन,” शाही भन्छन् ।
नेविसंघको ११औं महाधिवेशनबाट निर्वाचित नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पटक–पटक म्याद थप गर्दा पनि महाधिवेशन गराउन सकेन । गत माघ अन्तिम अध्यक्ष महरले महाधिवेशन गराउन नसकेको भन्दै दबाब बढेपछि राजीनामा दिए । उनले राजीनामा दिएको ५ महिना भइसक्दा पनि नेविसंघ गठन हुन सकेको छैन । उता, महिला संघ पनि आन्तरिक विवादमा रुमल्लिएको छ ।
महाधिवेशनमा सभापति देउवा र सिटौला समूहले पौडेल समूहविरुद्ध महिला संघमा मोर्चाबन्दी गरेर ‘क्लिन स्विप’ नै गरेको थियो । तर, पार्टीभित्र देउवासँग सिटौला चिढिएपछि त्यसको प्रभाव महिला संघमा देखिएको छ । अध्यक्ष उमा रेग्मी र महासचिव धना खतिवडाबीच आन्तरिक तिक्तता बढ्दा महिला संघ पनि शिथिल देखिन्छ ।
दलित संघको महाधिवेशन नभएको सात वर्ष भइसक्यो । ०६९सम्म फागुनमा महाधिवेशन भएको दलित संघको नियमित कार्यकाल तीन वर्ष र थप गर्न मिल्ने छ महिना हो । तर, हालसमम पनि महाधिवेशन हुन सकेको छैन ।
किसान संघको महाधिवेशन नभएको १२ वर्ष बित्यो । भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, तामाङ संघ, मगर संघ र ठाकुर समाज नाममा मात्र सीमित छन् ।
पार्टीका भ्रातृ संस्थाहरू भद्रगोल रहेको स्वीकार गर्छन्, कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे । “यो भद्रगोललाई अन्त्य गर्नुपर्छ । भ्रातृ संस्थालाई चुस्तदुरुस्त राख्न पार्टी उदासीनजस्तो देखिएको छ,” घिमिरे भन्छन् ।
म्याद सकियो, महाधिवेशन कहिले ?
कांग्रेसको शुभेच्छुक संस्थाको हालत पनि उस्तै छ । कांग्रेसको शुभेच्छुकमध्येको प्रभावकारी मानिने नेपाल प्रेस युनियनको कार्यकाल सकिएपनि महाधिवेशनको कुनै टुंगो छैन । नियमित कार्यकाल तीन वर्ष र बढीमा एक वर्ष थप गर्न पाइने युनियनको विधानमा उल्लेख छ । यसरी थप गरेको मिति पनि समाप्त भइसकेको छ । गत मंसिर २७ र २८ गते तय गरेपनि महाधिवेशन हुन सकेन । तर, महाधिवेशनको नयाँ मिति भने अझै तोकिएको छैन । युनियनका ८७ शाखा मध्ये ६९ शाखाको अधिवेशन सम्पन्न भइसकेको छ ।