काठमाडौं । मानिसहरु अङ्ग्रेजी शब्दका कठिन उच्चारणलाई सहज बनाउनुपर्नेमा जोड दिइरहेका छन् । जबदेखि अङ्ग्रेजी लेखिँदै आएको छ, तबदेखि नै यसको उच्चारणले मानिसलाई दिक्क बनाइरहेको छ । अङ्ग्रेजीवाजहरुका अनुसार असङ्गत उच्चारणका कारण अङ्ग्रेजी कठिन भाषा बन्न पुगेको हो । बेलायतको ‘इङ्लिस स्पिकिङ सोसाइटी’ले सहज उच्चारणको माग गर्दै आएको छ ।
हुन सक्छ, यो कुरा कतिपयलाई मन नपर्ला । तर स्पष्ट के छ भने– गैरपारम्परिक उच्चारणको प्रभाव नराम्रो पर्न जान्छ । बेलायतीको तुलनामा अमेरिकी अङ्ग्रेजी सहज छ । र, गैर अङ्ग्रेजीभाषीले पनि यो सहजै सिक्छन् । अमेरिकी उच्चारण छोटो र ध्वन्यात्मक छ, अर्थात् शब्द जसरी बोलिन्छ त्यसैगरी लेखिन्छ पनि ।
अङ्ग्रेजी शब्दको अमेरिकी उच्चारणलाई शब्दकोश निर्माता नोआ वेब्स्टरले गरेको आन्दोलनको विरासत प्राप्त छ । वेब्स्टरले उच्चारणलाई सहज बनाउने अभियान चलाएका थिए । उनले दोहोरो र अनुच्चरित अक्षरहरुलाई उच्चारणबाट बाहिर निकालेका थिए । व्यावहारिक हुनुका साथै यसको राजनीतिक सन्दर्भ पनि थियो । वेब्स्टरले भनेका छन्, ‘‘सहज उच्चारणले भाषा सिक्नेलाई सहज पार्नेमात्र होइन, यो अधिक लोकतान्त्रिक पनि हो ।’’ यसले नागरिकलाई उपनिवेशबाट मुक्त गर्नसमेत मद्दत गर्ने उनको भनाइ थियो ।
अङ्ग्रेजीलाई सरल पार्ने काममा वेब्स्टरका साथै बेन्जामिन फ्य्राङ्कलिनको पनि नाम आउँछ । उनले अङ्ग्रेजी वर्णमालाबाट ‘एक्स’लाई हटाउनुपर्ने बताएका थिए । त्यसैगरी लेबोर पहिला ‘एलएबीओयूआर’ लेखिन्थ्यो अब ‘एलएबीओर’मात्रै लेखे पुग्छ । त्यसैगरी सेन्टरलाई पहिला ‘सीईएनटीआरई’ लेखिन्थ्यो अब त्यो सहज बनेर ‘सीईएनटीईआर’ भएको छ । यस्ता थुप्रै शब्द छन्, जुन पछिल्लो समय अङ्ग्रेजी सहज पार्ने उद्देश्यमा फेरिएका छन् ।
अङ्ग्रेजी भाषाले दुनियाँभरबाट लाखौं शब्द लिएको छ । कतिपय शब्द संस्कृतबाटै लिएको छ । र, सम्बद्ध मुलुकको शब्द उच्चारणमा समेत त्यसले प्रभाव पारेको छ । विभिन्न भूगोलमा बस्ने मानिसको अङ्ग्रेजी उच्चारण फरकफरक छ । यसबाट यो भाषा एकातिर समृद्ध हुन पुगेको छ भने अर्कोतिर यसलाई मानकीकृत गर्न चुनौती पनि छ । यसकारण पनि कतिपय भाषाविद् र आममानिसले समेत अधिक उच्चारण सुधारलाई समर्थन गरेका छैनन् ।
इन्टरनेट युगमा अङ्ग्रेजी
इन्टरनेटको नयाँ युगमा वेब्स्टरको विचार पुनः प्रासङ्गिक हुन पुगेको छ । किनकि, आईटीको भाषा र इन्टरनेट दुवैले अङ्ग्रेजी लेख्ने तरिकालाई प्रभावित पारिरहेको छ । विश्वस्तरमा गुगलले अमेरिकी उच्चारणका लागि अधिक परिणाम देखाउँछ । अङ्ग्रेजी भाषामा दिनप्रतिदिन संसारका मानिसको आकर्षण बढिरहेको छ । अङ्ग्रेजीलाई कसरी सरल बनाउने भन्ने विषयमा नियमित छलफलका साथै अनावश्यक अक्षर हटाउने कामसमेत भइरहेको छ । इन्टरनेट (सामाजिक सञ्जाल)मा अब लभलाई (एलओभीई) लेखिरहनुपर्दैन ‘एलयूभी’ लेख्दा पुग्छ । यस्ता अन्य पनि थुप्रै उदाहरण छन् ।
दुनियाँका कतिपय देशले भाषालाई सरल बनाउने र बढीभन्दा बढीलाई आफ्नो भाषातर्फ आकर्षित गर्ने अभियान चलाइरहेका छन् । त्यसका लागि ठूलो लगानी गरिरहेका छन् । कठिन मानिएको चिनियाँ भाषालाई समेत लोकप्रिय बनाउने अभियान सुरु भएको छ । नेपालका कतिपय ठूला मानिएका विद्यालयमा पछिल्लो समय चिनियाँ भाषाको ऐच्छिक पढाइ हुन थालेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको रेखदेख र लगानीसमेत गरेको समाचार आएको छ ।
तर नेपाली भाषा !
यो दिनानुदिन जटिल बन्दै गएको छ । नेपाली भाषालाई कथित विवादको घेरामा पार्दै लगिएको छ । र, यसको जिम्मेवार नेपाली भाषाका धुरन्धर (विद्वान्!?) नै हुन् । नेपालमा १२३ भाषा बोलिन्छन् । तीमध्ये कतिपयको लिपि छैन भने कतिपय भाषा बोल्ने पात्रसमेत फेला पार्न गाह्रो परेको छ । देशका केही सुन्दर भाषा लोप हुने अवस्थामा पुगेका छन् । कुन राष्ट्रभाषा, कुन राष्ट्रिय भाषा ? यस्ता वाक्यांशमा वादविवाद पर्ने गरेको छ । यस्तो लाग्छ, हामी भाषा बिगार्ने प्रतिष्पर्धा गरिरहेका छौं ! र, प्रतिष्पर्धा सबैभन्दा बढी चलिरहेको छ नेपाली मिडिया क्षेत्रमा । भाषामा सबैभन्दा बढी लापरबाही मिडियाले गरेको देखिन्छ । अक्षरको खेती गर्न तम्तयार र यसैबाट जीवन चलाउने उद्देश्य राखेका कतिपय (पत्रकार)लाई ‘अक्षर’ र त्यसको अर्थबारे नै ज्ञान छैन भने मिडियाले कसरी भाषालाई समृद्ध बनाउन सक्ला !
सरकारी ढुकुटीबाट सञ्चालित नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालीका साथै देशका सबै भाषाको प्रवद्र्धन र संरक्षण गर्नुपर्ने हो । तर त्यो संस्था अचेल दलका कार्यकर्ता भर्ती केन्द्रमा सीमित हुन पुगेको छ । प्राज्ञ हुन न त प्रतिभा हुनुपर्छ न त भाषा–साहित्यमा योगदान गरेको नै ! हुनुपर्छ त केवल, सत्तारुढ दलको सदस्य र प्रभावशाली नेताको विश्वासपात्र । त्रिभुवन विश्व विद्यालयको नेपाली विभागको हालत पनि प्रज्ञाको भन्दा फरक देखिँदैन । त्यहाँ पनि राजनीतिको दुष्ट छायाँ पर्न थालिसकेको छ । त्यस विभागले नेपाली भाषाको मानकीकरण र सरलीकरण गर्ने कार्यमा ध्यान दिन सकिरहेको छैन । ह्रस्व, दीर्घ, स–श–षको प्रयोग तथा उच्चारणलाई सहज नबनाउने हो भने नेपाली भाषा अझै कमजोर बन्दै जानेछ र यस भाषामा अरुको आकर्षण बढेर जानेछ ।
भाषालाई लिएर नेपालमा थुप्रै पटक आन्दोलन भएका छन् । तर कतिपय आन्दोलन व्यक्तिको सनकमा चलेका छन् । त्यसकारण ती अनुकरणीय वा अनुशरणीय हुनु त परै जाओस्, विवादितसमेत बन्न पुगेका छन् । भाषालाई कसरी सहज र ग्राह्य बनाउने भन्ने सवालमा हामी चुक्दै आएका छौं । शब्दकोशपिच्छे फरकफरक हिज्जे पाइनु यसैको नतिजा हो । द्विअर्थी वा गलत अर्थ लाग्दैन भने हिज्जेमा धेरै टाउको दुखाउनु आवश्यक छैन । अव्यावहारिक हिज्जेकै कारण नेपाली सिक्ने चाहने कतिपय गैरनेपाली भाषीका निम्ति यो भाषा जटिल बन्न पुगेको छ । अन्य मुलुक वा हाम्रै देशमा बोलिने सहज र पचाउन सक्नेजति शब्दलाई प्रयोग गर्दा कुनै पनि हानि हुँदैन । यसले नेपाली भाषालाई समृद्ध बनाउँछ ।
झण्डै सवासय भाषाको धनी देश नेपालको सम्पर्क भाषा नेपाली नै हो । यसलाई जतिसक्यो सरल, सहज बनाउँदै उच्चारणगत जटिलता हटाउने जिम्मा प्रज्ञा–प्रतिष्ठान र त्रिवि नेपाली विभागको हो । त्यसपछिको जिम्मेवारी लेखक–साहित्यकार, पत्रकारको हो । देशभित्र बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, सम्पत्तिको जगेर्ना गर्नु राज्यको कर्तव्य हो ।
(बीबीसीमा आधारित)