व्यावहारिक मान्छेले जस्तोसुकै सङ्कटमा पनि भोलिको अवस्थाबारे सोच्छ र योजना बनाउँछ । किनभने सङ्कटको अन्त्यपछि पृथ्वीमा उसैगरी घाम उदाउनेछ, पानी पर्नेछ र सृष्टि यथावत् चल्नेछ भन्ने थाहा छ । मानिसको भागदौड पनि उसैगरी हुनेछ, जसरी सङ्कटअघि हुन्थ्यो ।
आजको दुःख वा विछोड सम्झेर भोलिलाई अनिश्चित बनाउनु मूर्खताबाहेक केही होइन । यसो भनिरहँदा कतिपयलाई अमानवीय लाग्न सक्छ तर अति भावुकताले मानिसको जीवनलाई थप पीडामात्रै दिन्छ । हामी यतिखेर सङ्क्रमणको डिलमा उभिएका छौं । थाहा छैन, सङ्क्रमणको अन्त्य कहिले हुन्छ ? तर, यो निश्चित छ, यसको अन्त्य त हुन्छ नै । यो पनि निश्चित छ सङ्क्रमणलाई छलेर बाँच्ने मानिसको सङ्ख्या अधिक हुनेछ । तिनको बाँकी जीवन र पृथ्वीमा नयाँ आउने मानिसका लागि पनि यो संसार बस्न योग्य बनाउनु बाँच्नेहरुकै जिम्मेवारी हो ।
यही कारण पनि कतिपय मुलुकले कोरोनाको सङ्क्रमणका बीच भावी योजना र अर्थतन्त्रलाई कसरी मजबुत पार्ने भन्ने विषयमा गम्भीर ढङ्गमा सोच्न थालिसकेका छन् । विश्वव्यापी यो महामारीले शक्तिशाली मानिएको अमेरिकामा मात्रै कोरोना सङ्क्रमण सुरु भएपछि गत साताको पूर्वाद्र्धसम्ममा दुई करोडभन्दा बढी मानिसले रोजगारी गुमाइसकेका छन् । यो क्रम अझै बढ्ने पक्का छ । कहिले र कसरी मुलुकका आर्थिक क्रियाकलाप सुचारु गर्ने भन्ने सन्दर्भमा त्यस विशाल मुलुकका राष्ट्रपति डोनाल्ड ट्रम्प सोचमग्न बनेका छन् । भलै, उनको यो सोचको चौतर्फी विरोध भइरहेको छ ।
दह्रो अर्थतन्त्र, बलियो सरकार र विकसित मुलुक अमेरिकासमेत देशको भविष्यलाई लिएर चिन्तित भइरहेको यो समयमा नेपालजस्ता अविकसित मुलुक चुपचाप बस्नु कुनै पनि हालतमा उचित होइन । यतिखेरको सरकारी अकर्मण्यता अघिपछिको भन्दा धेरै गुणा खराब हुन्छ । यसकारण पनि नेपालले आजैदेखि यसबारे योजना बनाउनु र कसरी मुलुकको अर्थतन्त्र डुब्न नदिने भन्नेबारे सोच्न थाल्नु जरुरी छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो प्रक्षेपणले संसारकै अर्थतन्त्र जर्जर हुने देखाइसकेको छ । नेपाल सामान्य अवस्थामा रहँदा ८ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । अब त्यो खुम्चिएर एक प्रतिशत छेउछाउमा रहने अनुमान गर्न थालिएको छ । अर्थमन्त्री युवराज खतिवडाले चारपाँच प्रतिशतसम्म आर्थिक वृद्धि हुने बताए पनि त्यो सम्भव देखिँदैन । त्यो अनुमान उनले गरेका होइनन् बरु उनको कुर्सी बोलेको हो भन्ने बुझ्न गाह्रो पर्दैन । त्यो सम्भावित खराब अवस्थाबाट मुलुकलाई कसरी माथि उकास्ने भन्ने प्रश्नको उत्तर अब एउटा मात्रै छ, त्यो हो – कृषिमा ध्यान । अबको अर्थतन्त्र कृषि केन्द्रित हुनुपर्ने विषयमा धेरैखाले बहस कोरोना कालमै भइसकेको छ । कतिपय सञ्चारमाध्यममा अर्थविद्हरुले यो कुरा बताइसकेका छन् । यसमा थप कुरो के छ भने, कसरी कृषिमा युवाआकर्षण बढाउने भन्ने सवाल अबका दिनमा प्रमुख बनेको छ । यसको उत्तर खोज्ने काम सरकारको हो ।
सरकारमा यतिखेर कृषि मन्त्रालयको जिम्मेवारीमा अध्ययनशील, जुझारु तथा जिम्मेवार नेताको छवि बनाएका घनश्याम भुसाल आसिन छन् । उनले आफ्नो छवि उजिल्याउने र थप मजबुत पार्ने अवसर पाएका छन् । सङ्कटलाई अवसरमा बदल्ने कि कोरोनालाई दोष दिएर जनतालाई थप गरिब बनाउने ? र, आफू जिम्मेवारीबाट पन्छने ? वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणबाट लाजै नमानी तलबसुविधा खाइरहने कि स्वदेशमै रोजगारी सिर्जना गर्ने ? अबको रोजगारीको प्रमुख क्षेत्र भनेको कृषि नै हो । यो तथ्य बुझेर अघि बढ्न अब जरुरी छ । उसै पनि रोजगारी सधैँ तरल हुन्छ र प्रायः स्थायी हुँदैन । मानिसहरु भने स्थायी रोजगारीको खोजीमा हुन्छन् तर अधिकांशले त्यो पाउँदैनन् । स्वदेशमै कृषिकर्ममा नागरिकले स्थायी रोजगारी पाउँदा ती खुसी नहुने कुरै छैन ।
पछिल्लो अध्ययनले के देखाएको छ भने वैदेशिक रोजगारीमा गएका झन्डै ८० प्रतिशत नेपाली स्वदेश फर्कन चाहन्छन् । निश्चितरुपमा त्यति धेरै सङ्ख्यामा नेपाल फर्कन चाहनुको कारण कोरोना महामारी नै हो । विदेशमा रहेका कतिपय अहिले बेरोजगार भएका छन् । त्यसकारण पनि ती आफ्नो थातथलो फर्कन चाहन्छन् । यसरी फर्किएका दरिला पाखुरीलाई कृषितर्फ आकर्षित गर्न सक्ने हो भने मुलुकको अर्थतन्त्र पुनः गतिमा फर्कने त छ नै साथमा यसले बहुफाइदा पुर्याउनेछ । रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका कतिपय कृषि उद्योगमा पनि लागेका छन् । तिनले आर्जन गरेका सीप र दक्षता अब स्वदेशमा उपयोग गर्ने मौका आएको छ ।
आधा करोड हाराहामरीमा विदेशमा रहेका जनशक्तिबाट वार्षिक करिब पौने नौ खर्ब रकम नेपाल भित्रिन्थ्यो । अब त्यो निकै घट्नेछ । त्यसपछि मुलुकको अर्थतन्त्र झनै कमजोर बन्ने अवस्था आउन सक्नेछ । तर, त्यति रकम मुलुकमै बसेर कृषिकर्मबाट कमाउन गाह्रो छैन । आफ्नै मुलुकमा बसेर जीवन सहज र सुखी हुन्छ भने कोही किन विदेश भासिन्छ ? विकल्प नपाएर नै अधिकांश नेपाली दलाललाई थैली बुझाएर विदेश भासिएको हुन् भन्ने बुझ्न सरकार तयार हुनुपर्छ । कृषिमा आकर्षण बढाउँदा जनशक्ति आफ्नै देशमा बस्न त पाउँछ नै साथमा आयातमुखी अर्थतन्त्रमा पनि सुधार आउने छ । हाम्रो कृषिउपज निर्यातसमेत हुन सक्नेछ । यसले नेपाललाई परनिर्भर (विशेषगरी भारतनिर्भर)बाट अन्तर्निभर बनाउन मद्दत गर्नेछ ।
नेपालमा कृषि लामो समयदेखि जीविकामुखी बन्दै आयो । यसले व्यावसायिक रुप लिन मुस्किल पर्दै आएको छ । यसकारण पनि कृषितर्फ युवा आकर्षित हुन सकेनन् । अब मौका आएको छ सरकारलाई । कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी कम्तीमा पनि वर्ष दिनका लागि खुल्ने अवस्था छैन । पुरानै लयमा संसार फर्कन अझै बढी समय लाग्न सक्छ । स्वदेश फर्किएर कतिपय युवा अब फेरि पसिना बगाउन खाडी ताक्ने छैनन् । तिनलाई आफ्नै जमिनमा पोखिएको पसिनाको सुगन्धले लोभ्याउने छ । त्यसकारण पनि यस अवधिमा बढीभन्दा बढी युवालाई कृषिमा आकर्षित गराउन सक्दा चौतर्फी लाभ हुन जान्छ । नेपालसँग यतिखेर सम्भवतः इतिहासमै धेरै युवा जनशक्ति छ । त्यसको अनुभव, क्षमता र प्रतिभा देशभित्रै उपयोग गर्न सक्दा मुलुकको अनुहार फेर्न लामो समय लाग्दैन ।
अहिले देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एकचौथाइ छ । यस्तो योगदान कम्तीमा दोब्बर पार्नु आवश्यक छ । दोब्बर पार्न सुरुमा कठिन भए पनि यो असम्भव छैन । मुख्य कुरा सरकारले लिने नीति किसानको हितमा हुनुपर्छ । किसानले समयमा मलखाद, बीऊ, सिंचाई र न्यून दरमा ऋण पाउनु पर्छ । तिनले उत्पादन गरेको वस्तुको बजार सहज बनाइदिनु पर्छ । यति गर्न सक्दा देशका किसानको अनुहार उज्यालिन्छ ।
अहिलेको अवस्थामा सङ्क्रमणले कृषिमा असरै नपार्ने त होइन तर अन्य क्षेत्रको तुलनामा यसमा कम असर पर्छ । गाह्रो भनेको उत्पादित वस्तुलाई बजार र उपभोक्तासम्म पुर्याउनु हो । यसमा पनि सङ्घीयताको अवयवहरुले काम गरिदिने हो भने त्यो सहज हुन्छ । हामीसँग ७५३ स्थानीय तह छन्, तिनको अग्रसरतामा उपभोक्ताको दैलोदैलोमा कृषि उपज पुर्याउन सकिन्छ । साथै, स्थानीय तहकै निगरानीमा कृषि बजार सञ्चालन पनि गर्न सकिन्छ । सहकारीहरुलाई चलायमान बनाउन सकिन्छ । स्थानीय सरकारले किसानसँग खरिद गरेर बिक्री गर्ने काम गर्न पनि सक्छ । चाँडै नाश हुने उपजलाई जतिसक्यो छिटो उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनुपर्छ ।
खेतीमा सीधा काम गर्नुपर्ने जनशक्तिलाई दूरी कायम गर्न त्यतिविधि गाह्रो नपर्ला । अहिले पनि कतिपय कृषिकर्म दुई व्यक्ति जोडिएर गरिँदैन । धान रोप्दा होस् या गोड्दा र अन्य बाली लगाउँदा र काट्दा तीन फिटको दूरी कायम गर्न सकिन्छ । त्यसकारण पनि कोरोनाको प्रभाव अन्य क्षेत्रको तुलनामा कृषिमा निकै कम पर्ने देखिन्छ । नेपालको कृषिले गति लिन नसक्नुमा सरकारी नीतिको प्रमुख दोष त छँदैछ साथमा श्रमिक अभाव पनि अर्को महत्वपूर्ण पक्ष रहँदै आएको छ । कोरोनाले वैदेशिक रोजगारीमा गएका अधिकांशलाई घर भित्र्याएको छ, यसबेला श्रमिक अभाव हुँदैन । यो सङ्क्रमणमा अन्य काम स्थगन भए पनि तिनै युवालाई सक्रिय पार्दै कृषिकर्म सुचारु राख्न सकिन्छ ।
निश्चित छ, कोरोना अवधिमा अर्थतन्त्र निश्चल रहनेछ । कोरोनाको अन्त्यपछि अर्थतन्त्रको ‘इन्जिन स्टार्ट’ त हुनेछ तर चक्का घुम्ने छैन । चक्का नघुम्नु भनेको इन्धन खर्च भइरहनु तर कहीँ पनि नपुग्नु हो । त्यसबखत अर्थतन्त्रको गाडीलाई अघि बढाउन कृषिकै भरथेग सबैभन्दा भर पर्दो हुन्छ । अबको केही समय देशको अर्थतन्त्र चलायमान बनाउन सक्ने कृषिले मात्रै हो ।
अहिलेको सरकारसामु ठूलो मौका आएको छ । चुनौती त सबै मिलेर सामना गर्नुपर्ने घटना हो । कृषिमा अहिले सुनौलो दिनको झिल्का देखिएको छ । त्यो झिल्कालाई तीव्र प्रकाशमा परिवर्तन गर्ने जिम्मा सरकारको हो । त्यो त्यही प्रकाश हो जसले किसानको अनुहार उज्यालो पार्छ ।