site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समिति र सरकारबीच किन हुन्छ सधैं टकराव ?
SkywellSkywell

गएको जेठ ७ गते बसेको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागीहरु । तस्बिरः रासस


घटना १ः 

गत जेठ तेस्रो साता राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले विज्ञापन खुलाएको बारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बोलाएको थियो । मन्त्री पण्डित अनुपस्थित सो बैठकमा मन्त्रालयका तर्फबाट सचिव यादव कोइराला उपस्थित भए । 

KFC Island Ad
NIC Asia

आयोगले खुलाएको विज्ञापन समावेशी नभएको भन्दै मधेस केन्द्रित दल र सत्तारुढ दलकै केही सांसदले विज्ञापन रोक्नुपर्ने बताए । सचिव कोइरालाले प्रक्रिया रोक्ने हो भने नयाँ प्रक्रियामा जाँदा कम्तीमा चार वर्ष लाग्ने बताउँदै त्यसपछि निम्तिने डरलाग्दो अवस्थाले देशलाई दुर्घटनामा लैजानेतर्फ सांसदहरुलाई सचेत गराए । 

सचिव कोइराला आक्रामक रुपमा प्रस्तुत भएको भन्दै सासदहरुले आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले संयमता अपनाउन रुलिङ नै गर्नुपर्यो ।

Royal Enfield Island Ad

घटना २ः

गत जेठ ७ गते सार्वजनिक लेखा समितिले छलफलका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएको थियो । सत्तारुढ दल नेकपाका सांसद अमनलाल मोदी र घिसिङबीच भनाभन नै भयो । घिसिङले सांसद मोदीलाई भ्रष्टाचार आरोप प्रमाणित गर्न चुनौती दिए ।

संसदीय समितिमा हुने टकराव, विवाद र भनाभनका केही दृश्य हुन् यी । यस्ता दर्जनौं उदाहरण छन्, संसदीय समितिमा । पटक–पटक यस्ता विवादहरु आइरहनु अब सामान्य हुन थालेको छ । संसदीय सुनुवाई समितिमा हुनै बहस होस् वा राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतका समितिमा हुने छलफल । यसरी समितिमा बोलाइएका मन्त्री, सचिव, सरोकारवाला र सांसदबीच होस् वा कहिलेकाहीँ समिति सभापति र सदस्यहरुबीचमा गरमागरम बहस हुने गर्दछ ।

संसदीय समितिमा सांसद र सचिवबीच, समितिमा बोलाइएका कर्मचारी र सांसदबीच र कहिलेकाहीँ समिति सभापति र सदस्यकै बीचमा पनि भनाभन र आरोप–प्रत्यारोपको दृश्य नौलो होइन ।
हुनत, संसदीय व्यवस्थामा महत्वपूर्ण अंग मानिने थलो संसद र ‘मिनि पार्लियामेन्ट’ मानिने समितिहरुमा कुनै पनि विषयमा आफूलाई लागेको कुरा निर्धक्क राख्ने स्वतन्त्रता सुरक्षित गरिएको हुन्छ । तर, समितिहरुमा बेलाबेलामा हुने गरमागरम अस्वाभाविक बहसले भने कतै समिति सञ्चालनमा समस्या त छैन ? भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठ्छ ।

समितिमा हुने छलफललाई मर्यादित र समितिलाई थप प्रभावकारी कसरी बनाउन सकिएला त ? वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी भन्छन्, “थिती बसाउने कुरा गर्ने हो भने समितिलाई कसरी लैजाने भन्नेमा सभामुखले ध्यान दिनुपर्छ । संसदको नेताको हैसियतमा प्रधानमन्त्री पनि जिम्मेवार हुनुपर्छ ।”

संसद नबस्दा पनि चल्ने भएकाले संसदीय समितिलाई ‘मिनि पार्लियामेन्न्ट’ भनिन्छ । अधिकारी भन्छन्, “संसदीय समितिले पनि आफ्नो क्षेत्राधिकारबारे ध्यान दिन सकेको छैन । एउटै विषयमा विभिन्न समितिले पूर्व र पश्चिम फर्कने निर्देशन दिएको पाइन्छ ।” सरकार संसद र संसदीय समितिप्रति उत्तरदायी नहुँदा पनि समस्या आउने उनी बताउँछन् । वाइडबडी खरिद प्रकरणमा भएको घोटालाको सन्दर्भमा प्रधानमन्त्री र सञ्चारमन्त्रीले समिति नै अन्तिम होइन भनेको स्मरण गर्दै सांसद अधिकारीले यसरी समितिलाई मान्दिन भन्न नपाइने बताए । अहिलेको सरकारलाई संसदीय पद्धतिमा विश्वास नरहेका कारण जे गरेपनि हुन्छ भन्ने लागेकाले पनि त्यस्तो भनेको हुनसक्ने अधिकारीको आशंका छ ।

सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडेल भने संसदीय समितिहरुमा हुने छलफललाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । संसदको सर्वोच्चता संविधानमा नै व्यवस्था गरिएको भन्दै उनी भन्छन्, “मन्त्रीदेखि सचिव, कर्मचारी सबैको कामका बारेमा बोलाएर सोध्ने, छलफल गर्ने र प्रष्ट हुने अधिकार संसदीय समितिलाई छ ।” भर्खरै बैलायतको तल्लो र माथिल्लो सदन भ्रमण गरेर आएको अनुभव सुनाउँदै उनले बेलायतको संसदमा पनि नेपालमा जस्तै छलफल हुने गरेको सुनाए । “नेपालमा मन्त्रालयले विधेयक बनाउँछ । बेलायतमा त समितिहरुले पनि विधेयक बनाउँदो रहेछन्,” उनले भने, “संसदीय व्यवस्थामा समितिमा छलफल हुने कुरा लोकतान्त्रिक परिपाटीकै अंग हो ।”

किन हुन्छ पटक–पटक समितिमा तनाव ?

संसदमा यस्तो वातावरण विगतमा पनि हुने गरेको बताउँछन्, संसद सचिवालयका पूर्वसचिव मुकुन्द आचार्य । सांसदहरुलाई प्रशिक्षणको अभाव, जनप्रतिनिधि हौं भन्ने दम्भ र कर्मचारीमा आफ्नो योग्यता र क्षमतालाई सर्वोपरि ठान्ने सोचका कारण संसदीय समितिमा हुने छलफल तिक्ततापूर्ण हुने अवस्था आउने गरेको उनको अनुभव छ ।

“सांसदहरुलाई आफू सांसद हुँदासम्म समिति बलियो हुनुपर्छ भन्ने लाग्छ,” पूर्वसचिव आचार्यले भने, “तर, मन्त्री भएपछि समिति केही पनि होइन भन्ने ठान्नुहुन्छ । यसले गर्दा जानेर वा नजानेर त्यस्तो व्यवहार देखाउँदा संसदीय मर्यादामा आँच आउने काम भएको छ ।”

त्यस्तै उनले सरकारी कर्मचारी समितिमा जाँदा तिक्ततापूर्ण अवस्था आउनुमा स्वयं कर्मचारी र सांसदहरुको सोच नै मुख्य कारक हुने बताए । सरकारी कर्मचारीले सांसदहरु जनप्रतिनिधि हुन्, उनीहरुले जनताबाट पाएको म्यान्डेटअनुसार नै शासन गर्ने गर्छन् भन्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए । “हामी कर्मचारीहरु आफ्नो योग्यता र क्षमतालाई सर्वोपरी ठानेर उहाँहरुलाई लाद्न खोज्छौं । त्यसले कटु अनुभव हुने गर्छ,” उनले भने, “मन्त्रीप्रति नै कर्मचारीको लगाव हुनु स्वभाविक हो । सबै विषयमा मन्त्री स्वयं जानकार नहुनसक्छ । प्राविधिक विषयमा पनि मन्त्रीलाई सबै कुरा थाहा नहुन सक्छ । त्यस्तो बेलामा मन्त्री र मन्त्रालयका तर्फबाट सचिवले समितिमा सांसदहरुको सवालजवाफको सामना गर्नुपर्ने हुन्छ ।” तर, कहिलेकाहीँ सांसद र संसदलाई नगन्ने प्रवृत्तिका कारण पनि तिता घटनाहरु समितिमा हुने गरेको बताउँछन् पूर्व सचिव आचार्य ।

संसदीय समितिहरुमा तिक्ततापूर्ण अवस्था आउन नदिन संसदीय दलले आफ्ना सांसदहरुलाई नियमावलीअनुसार समितिमा के गर्न हुने, के नहुने र कसरी प्रस्तुत हुने भन्नेबारे निरन्तर रुपमा प्रशिक्षित गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको उनले बताए । “जनतासँग घुलमिल हुने हुँदा जनताको चाहना उनीहरुले बुझेका हुन्छन्,” आचार्य भन्छन्, “सांसदहरुले ती चाहना पूरा गराउन खोज्छन् । संसदको सिमितता, अधिकार क्षेत्रबारे जानकारी नहुँदा मैले जे गरेको छु ठीक गरेको छु भन्ने उनीहरुलाई परेको हुन्छ ।” संसदीय दलले आफ्ना सांसदहरुलाई प्रशिक्षित नगर्दा यस्ता समस्या आउने गरेको उनको बुझाइ छ ।  त्यस्तै, सरकार र संसदीय समितिका बीचमा समन्वय कसरी गर्ने भन्नेमा अन्योल हुँदा पनि कहिलेकाहीँ समितिमा हुने छलफल कटूपूर्ण हुन पुग्ने उनी बताउँछन् ।

सांसदमाथि स्वार्थ समूहको अनुचित प्रभाव

जानकारहरुका अनुसार समितिमा कहिलेकाहीँ स्वार्थ समूहले समेत खेल्ने गर्छन् । आफूसँग सम्बन्धित विषय समितिमा आउँदा त्यसलाई आफ्नो पक्षमा हुने गरी सांसदमार्फत् प्रभावित गर्न नखोजिने होइन । कतिपय सन्दर्भमा सांसदहरु नजानेर भन्दा पनि स्वार्थ समूहबाट परिचालित हुनपुग्दा समितिमा समस्या आउने गरेको बताउँछन्, एक सांसद । समितिमा चिकित्सा शिक्षा विधेयकमाथि छलफल हुँदा कतिपय सांसद मेडिकल माफियाको पक्षबाट छलफलमा उत्रिएको भन्दै आलोचनासमेत भएको थियो ।

त्यस्तै कहिलेकाहीँ संसदीय समितिले आफ्नो क्षेत्राधिकारबारे ज्ञान नराख्दा पनि समस्या हुने गर्छ । एउटै विषयलाई लिएर संसदका विभिन्न समितिले निर्देशन दिँदा त्यस्तो निर्देशन कार्यान्वयन समेत हुन सकेका छैनन् । संसदको निर्देशन कार्यान्वयन नहुँदा समितिको हैसियतमाथि नै प्रश्न उठ्नसक्छ । त्यसकारण निर्देशन दिँदा समितिले बुझेरमात्र दिनुपर्ने ती सांसद बताउँछन् ।

त्यस्तै, समितिमा बोलाउँदा सचिव वा कुनै पनि कर्मचारीले जनप्रतिनिधिको आदर गर्नुपर्ने सांसदहरुको भनाइ छ । तर, त्यसको मतलब उनीहरुलाई कठघरामा उभ्याएको जस्तो व्यवहार सांसदहरुले पनि गर्नु हुँदैन संसदीय व्यवस्थामा । “कहिलेकाहीँ अपराधीलाई जस्तो कठोर व्यवहार माननीयज्यूहरुबाट हुन्छ,” एक सचिवले भने, “त्यस्तो व्यवहारले समितिमा जाँदा कहिलेकाहीँ हाम्रो पनि संयमता नरहन सक्छ । त्यस्तो बेलामा अवस्था अलि असामान्य बन्नपुग्छ ।” ती सचिवले कर्मचारीले जनप्रतिनिधिको र जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको अस्तित्व स्विकार गरे समितिमा समस्या नआउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro