site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलोपटक रोस्ट्रम पुगेर नबोली फर्किनुपर्‍यो प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक संसदको रोस्ट्रममा पुगेर नबोली फर्किएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि रोस्ट्रममा प्रधानमन्त्री ओली उभिएको उभियै भए । प्रधानमन्त्री ओली करिब ७ मिनेट रोस्ट्रममा बोल्नका लागि उभिइरहे पनि प्रतिपक्षीको अवरोधका कारण बैठक स्थगन हुँदा नबोली फर्किनुपर्यो ।

यसअघि प्रतिपक्षी दलको नाराबाजी र विरोधकै बीच पनि प्रधानमन्त्री ओलीले पटक–पटक संसदमा बोलिसकेका छन् । तर, यसपटक भने कांग्रेस अवरोधका कारण प्रधानमन्त्री ओलीले बोल्न पाएनन् ।

सभामुख कृष्णबहादुृर महराले संसदको कामकारवाही सुरु भएको घोषणा गरेसँगै कांग्रेस सांसदहरु उठेका थिए । त्यहीबीचमा सभामुख महराले ‘सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्नलाई समय माग गर्नुभएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय दिन्छु । माननीय सदस्यज्यूहरु,  प्रधानमन्त्रीको कुरा सुनिदिन अनुरोध गर्छु’ भनेपछि प्रधानमन्त्री ओली बोल्नलाई रोस्ट्रममा पुगेका थिए ।

उनी रोस्ट्रममा जाँदै गर्दा कांग्रेस सांसदहरुले पहिला प्रतिपक्षीलाई समय दिन माग गरे । तर, सभामुख महराले पहिला प्रधानमन्त्रीको कुरा सुनौं, त्यसपछि समय दिन्छु भने पनि कांग्रेसले सभामुखको आग्रह मानेन ।

प्रधानमन्त्री ओलीलाई बोल्न महराले संकेत गरेलगत्तै कांग्रेस सांसदहरुले बेल घेराउ गरे र संसदीय सर्वोच्चता कायम गर भन्दै नाराबाजी गर्न थाले । सभामुख महराले प्रधानमन्त्रीको कुरा सुनौं भन्दै पटकपटक बस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखे । करिब सात मिनेट नाराबाजी चलेपछि सभामुख महराले घोषणा गरे, “प्रतिनिधिसभाको बैठक असार चार गते बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित हुन्छ ।”

आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठकमा पहिला प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई बोल्न कांग्रेसले सभामुख महरासँग समय माग गरेको थियो । सोही कारण बैठक एक घण्टा ढिला गरी भएको थियो । 

‘नागरिकको सुसूचित हुन पाउने अधिकारमाथि आक्रमण’

यसैबीच कांग्रेसको संसद अवरोधलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नागरिकको सुसूचित हुन पाउने अधिकारमाथि ठाडो आक्रमण भनेर टिप्पणी गरेका छन् ।

बैठक स्थगित हुनासाथ ट्विट गर्दै ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले लेखेका छन्, ‘कांग्रेसको यो कस्तो संस्कार ? रोस्ट्रममा बोल्न उभिनुभएका प्रधानमन्त्रीलाई अवरोध, सदन स्थगित । नागरिकको सुसूचित हुन पाउने अधिकारमाथि ठाडो आक्रमण । तर्क र बहसबाट भागेर कांग्रेसले प्रतिपक्षको कस्तो भूमिका निर्वाह गर्न खोजेको होला ?’

को पहिला बोल्नेमा गलफत्ती नगरौंः डा. भट्टराई

सत्तारुढ दल समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले पनि कांग्रेस अवरोधको विरोध गरेका छन् । “संसदमा को पहिले बोल्ने भन्ने मुद्दामा गलफत्ती गरेर अमूल्य समय र स्रोत खेर फाल्नु शोभनीय भएन !” सांसद भट्टराईले बैठक स्थगनपछि ट्विट गरेका छन्, “गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन लगायत अनगिन्ति जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस् !”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro