गुठी विधेयकको विरोधमा संघर्ष समितिले बिहीबार बेलुका पाटनमा गरेको विरोध प्रर्दशनः तस्बिर सरिता खड्का
काठमाडौं । गत वैशाख १७ गते ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक’ राष्ट्रियसभामा दर्ता भएपछि गुठियार र विभिन्न गुठीसम्बद्ध संघसंस्था एवं सरोकारवाला नराम्ररी झस्किएका छन् । पर्व, जात्रा मनाउन, जन्मदेखि मृत्युसम्मको संस्कार चलाउन स्थापना गरिएका निजी गुठीदेखि मन्दिरको पूजाआजा चलाउन राखिएका गुठीमाथिको स्वामित्व विधेयक पारित भएका स्वतः खोसिने प्रावधानले उनीहरु झस्किएका हुन् ।
नेपाली सनातन परम्परामा गुठी संस्कृति पनि धेरै पुरानो हो । गुठी विधेयक आएसँगै पुरानो र धेरे जग्गा भएको स्वर्गद्वारी आश्रमको गुठीबारे चर्चा सुरु भएको छ । यसअघि पनि सो गुठीलाई राजगुठीमा ल्याउने प्रयास भएको थियो । तर, सर्वोच्च अदालतले त्यस्तो प्रयास विफल बनाइदियो । यसकारण पनि निजी गुठी सार्वजनिक बनाउने कुरा आउँदा स्वर्गद्वारीको विषय बहसमा आउनेगर्छ । राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकले स्वर्गद्वारी समाप्त गर्नै भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
के हो स्वर्गद्वारी गुठी ?
स्वर्गद्वारी महाप्रभुले निजी सम्पत्तिबाट स्वर्गद्वारी आश्रम खरिद गरेका थिए । वि.सं. १९५२ सालमा आश्रम स्थापना भयो । वि.सं. १९८० देखि १९९० को दशकमा स्वर्गद्वारी महाप्रभुले दाङका विभिन्न स्थानमा ११ सय बिघा जग्गा खरिद गरेका थिए । स्वर्गद्वारीको मन्दिर प्यूठानमा भएपनि दाङको घोराही, लमही, रामपुरमा सो जग्गा रहेको छ । सो जग्गामा भू–माफियाहरुले आँखा लगाउँदै आएका थिए । सरकारको सहयोगमा गुठी संस्थानले जग्गालाई राजगुठी बनाउन थालेपछि स्वर्गद्वारी आश्रमले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अदालतले आश्रमकै पक्षमा फैसला गरिदिएपछि सो जग्गा जोगिएको थियो ।
आश्रम व्यवस्थापन समितिका सदस्य डा. आचार्य ध्रुवश्री (रुद्र मिश्र) यसअघि पनि पटक–पटक आश्रमको जग्गा भू–माफियाको डिजाइनमा राजनीतिक शक्तिको आडमा हत्याउने प्रयास भएको बताउँछन् । “राजगुठी बनाएर जग्गा हडप्ने र आश्रमलाई खण्डीकरण गर्ने प्रयास पहिलै पनि भएको थियो । सर्वोच्चले आश्रमको पक्षमा फैसला गरेकाले जोगिएको थियो,” उनले भने, “हरेक निर्वाचनमा त्यहाँका उम्मेदवारको नारा नै मत देऊ स्वर्गद्वारी आश्रमको जग्गा तिमीहरुको बनाइदिन्छु भन्ने हुँदै आएको छ । विधेयक लागु भयो भने स्वर्गद्वारी आश्रम समाप्त हुन्छ ।”
कसरी समाप्त हुन्छ स्वर्गद्वारी आश्रम ?
स्वर्गद्वारी आश्रमसँग सरोकार राख्नेहरुले यो विधेयकका केही दफा स्वर्गद्वारी आश्रमकै जग्गालाई लक्षित गरेर आएको दाबी गर्छन् । विधेयकको दफा २३, २४, ५६ (९), ६४ (३,४) र ९३ का प्रावधानले स्वर्गद्वारी नै समाप्त पार्ने उनीहरुको बुझाइ छ ।
रोल्पाको रुन्टी गाउँमा जन्मिएका बाल तपस्वी नारायण गौतम (स्वर्गद्वारी महाप्रभु) ले आश्रम सञ्चालनका लागि सो जग्गा किनेर गुठी बनाएका थिए । स्वर्गद्वारी आश्रम निजी गुठी हो । विधेयक अहिलेकै अवस्थामा पारित हुने हो भने स्वर्गद्वारीको अवस्था पनि रत्ननाथ मन्दिर चौघेरा र जनकपुरका गुठीहरुको जस्तो हुने आश्रमसम्वद्धहरुको चिन्ता छ । रत्ननाथ मन्दिर गोरखनाथ परम्पराको रत्ननाथ गुठीबाट सञ्चालित मन्दिर थियो । पछि सो गुठीलाई राजगुठी बनाइयो । सयौं बिघा जमिन भएको सो गुठी राजगुठी बनाइएपछि अहिले धुपबत्ती नबल्ने अवस्थामा पुगेको स्वर्गद्वारी आश्रमका मिश्रले सुनाए ।
विधेयक पारित भएपछि निजी गुठी स्वतः राजगुठीमा परिणत हुने र स्वामित्व सरकारले गठन गर्ने प्राधिकरणमा सर्नेछ । विधेयक पारित भएमा स्वर्गद्वारी आश्रमको निजी गुठीको हक अधिकार प्राधिकरणमा सर्नेछ । आश्रमको सो गुठीमा सबै प्रकारको हक र दायित्व समाप्त हुनेछ । आश्रमले यसअघि सर्वोच्च अदालतको फैसलापछि आफ्नो जग्गा बचाउन सकेको थियो । तर, विधेयकको दफा २४ ले अदालतबाट भएका फैसला, आदेश विधेयक लागू भएपछि स्वतः खारेज हुने व्यवस्था गरेकाले आश्रमको जग्गा प्राधिकरणको स्वामित्वमा जान कुनै रोकतोक हुनेछैन । विधेयकमा सो व्यवस्था स्वर्गद्वारी गुठीकै जग्गा राजगुठीमा ल्याउनका लागि राखिएको आश्रमको आरोप छ ।
यो व्यवस्थाले रहँदैन आश्रमको स्वामित्व
विधेयकको दफा ६४ को (३) मा उल्लेख छ, ‘यस ऐन प्रारम्भ हुँदाका बखत कसैले आफ्नो निजी सम्पत्ति लगानी गरी कुनै सार्वजनिक स्थानको मठमन्दिर र धार्मिक स्थलको नाममा स्थापना गरी सञ्चालन गर्दै आएका निजी गुठी यस ऐन प्रारम्भ भएपछि स्वतः सार्वजनिक गुठीमा परिणत गरी प्राधिकरण वा प्रदेश गुठी व्यवस्थापन समितिले सार्वजनिक गुठीका रुपमा व्यवस्था गर्न सक्दछ ।”
विधेयकको दफा ६४ को (४) मा ‘निजी गुठी सार्वजनिक गुठीमा दर्ता भएपछि यस्तो गुठीको चलअचल सम्पत्ति, देवमूर्ति आदिमा गुठीयारको सम्पूर्ण हकअधिकार समाप्त भई त्यस्तो हकअधिकार प्राधिकरण वा प्रदेश गुठी व्यवस्थापन समितिमा सर्नेछ,’ उल्लेख छ ।
विधेयकको दफा ९३ मा यस्तो व्यवस्था छ
धार्मिक स्थल तथा धार्मिकस्थल सम्बद्ध धार्मिक, सांस्कृतिक संघसंस्थाको व्यवस्थापन, सञ्चालन र बन्दोबस्तसम्बन्धी कुनै समझदारीपत्र, सम्झौतापत्र, विधि विधान, नियम, कार्यविधि, अदालत वा अन्य कुनै निकायको फैसला, आदेश, निर्णय, मिलापत्र वा कुनै प्रथा, परम्परा, अभ्यास आदि जेसुकै भएपनि यो ऐन लागू भएपछि यस ऐन बमोजिम धार्मिकस्थल तथा धार्मिकस्थल सम्बद्ध धार्मिक, सांस्कृतिक संघसंस्थाको सञ्चालन तथा व्यवस्थापन हुनेछ ।
यस्तो थियो गुठी संस्थापकको चाहना
स्वर्गद्वारी महाप्रभुले स्वर्गद्वारीमा आफ्नो शेषपछि पूजा नरोकियोस् भनेर स्वर्गद्वारी आश्रम गुठी खडा गरेका थिए । वि.सं. १९५३ वैशाख पूर्णिमाबाट उनले स्वर्गद्वारीमा अखण्ड महायज्ञ शुरु गरेका थिए । उनले सो यज्ञ रोकिएमा राष्ट्र तथा विश्वमा नै समस्या पर्ने भन्दै आफ्ना शिष्यहरुलाई आश्रमको नियमानुसार यज्ञ चलाउन पनि भनेका थिए । उनले आश्रममा आएर जो निष्ठापूर्वक सन्यास लिन्छ, त्यसैद्वारा जेष्ठताका आधारमा महन्त बनी होमहोमादि, पूजापाठ चलाउने नियम बनाइदिएका थिए । “यज्ञ चलाउनका लागि मैले झोलीको पैसाबाट चेलाप्रचेलाहरुको नाउँमा खरिद गरिदियाको दाङ देउखुरीका जग्गाहरु छन् । सोही जमिनको आयस्ताले काम चल्नेछ,” स्वर्गद्वारी महाप्रभुले १९९६ साल माघ २ गते लेखेको पत्रमा उल्लेख छ ।