दाङ । दाङको अधिकांश वन क्षेत्र चुरेले घेरिएका छन् । धेरैजसो दाङको वन क्षेत्र चुरे भएकाले डढेलोको उच्च जोखिम छ । विगतका वर्षहरुमा पनि दाङका धेरै वनमा डढेलो लागेको थियो । जसले गर्दा वन्यजन्तुहरु प्रत्यक्ष प्रभावित छन् ।
डढेलो लागेमा छोटो समयमा धेरै क्षेत्र सखापसमेत हुने गर्दछ । दाङका वनमा त्यो जोखिम भित्रिन नदिन वन डिभिजन कार्यालय दाङले उच्च सर्तकता अपनाएको छ । यहाँका सर्वसाधारणलाई वनमा आगो नलगाउन र वन क्षेत्रमा चुरोट प्रयोग नगर्न वन उपभोक्तामार्फत समेत सचेत गराउन सुरु गरेको हो ।
गर्मीको समयमा सानो आगोको झिल्काले सिंगो वन नै सखाप पार्ने भएकाले स्थानीयबासी र वन उपभोक्ता समूह नै सचेत र सजग गराउने काम भएको वन डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले वन उपभोक्ता समूह र स्थानीयबासी, नागरिक र विद्यार्थीहरुलाई वन डढेलो ज्ञान दिने कामसमेत गरेको छ । उसले उपभोक्तालाई डढेलो नियन्त्रणको लागि ‘कोचिङ कक्षा’ दिएर सचेत गराउने गराएको छ ।
त्यसैगरेर डढेलो नियन्त्रणका लागि सबडिभिजन वन कार्यालयहरुकास्तरीय सञ्जालहरु पनि तयार पारेको छ । वनमा लाग्ने डढेलो नियन्त्रण गर्नको लागि नागरिक समाजसहित वन उपभोक्ताहरुलाई सचेत गराउने काम भएको वन डिभिजन कार्यालयका सहायक वन अधिकृत नेपाली शाहले बताए ।
"गर्मीयाम सुरु भईसकेको छ । वनमा डढेलो कुन समयमा लाग्छ ? भन्न सकिन्न", सहायक वन अधिकृत शाहले भने, ‘डढेलो नियन्त्रण गर्नको लागि स्थानीय समुदायदेखि सब वन डिभिजन कार्यालयस्तरीय सञ्जालहरुमा सचेत र सजक गराउने काम भएको छ ।’ वनमा डढेलो लागेको समयमा डढेलो नियन्त्रण गर्न आवश्यक सामग्रीहरु पनि जिल्लामा छन् ।
जिल्लामा वनमा आगो लागेको समयमा नियन्त्रण गर्ने सामग्रीहरुसमेत खरिद गरिसकेको उनले बताए । वन डढेलो व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि जिल्लामा रहेको १५ वटा सब वन डिभिजनहरुलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ । सबडिभिजन वनहरुलाई सामुदायिक आधारित डढेलो व्यवस्थापन, आगलागी नियन्त्रणसम्बन्धी सचेतना कोचिङ दिने काम भएको वन डिभिजन कार्यालयले जनाएको छ । उनकाअनुसार सबडिभिजन कार्यालयहरुलाई सचेतिकरण मात्र नभएर वन डढेलो नियन्त्रण तथा रोकथामका लागि अग्नीरोध सामग्रीसमेत वितरण गरिएको छ ।
उनीहरुलाई वनमा डढेलो लाग्यो भने कसरी नियन्त्रण गर्ने र डढेलो नियन्त्रण गर्नको लागि कुन संयन्त्रहरु अपनाउने भन्ने विषयमा सामुदायिक तहदेखि नै सचेत गराउने काम गरेको उनले बताए । वनमा डढेलो लागेको समयमा नियन्त्रण गर्नको लागि फायर फाइटिङहरुको लागि बेल्चा, लाफा, घैंटी, पानी ट्याङ्की, जुत्ता, आगोले नपोल्ने कपडालगायतका सामग्रीहरु सञ्जालहरुसम्म पठाउने काम भएको वन डिभिजन कार्यालयका सहायक वन अधिकृत शाहले बताए ।
यो वर्ष वनमा डढेलो नियन्त्रण तथा व्यवस्थापन गर्नको लागि सरकारले लाखौँ रुपैयाँ बजेटसमेत छुट्याएको छ । डढेलो व्यवस्थापन सामग्री तथा अग्नीरोधक सामाग्री खरिद र आगलागी नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाको लागि पनि पाँच लाख छुट्याएको उनले बताए । डढेलो रोक्न तथा नियन्त्रण गर्नको लागि पोष्टहरु टाँगिएको, सञ्चार माध्यमहरुमा सूचना जारी गरेको छ ।
चुरोट खाइसकेपछिको ठुटो जथाभावी नफाल्न, वनमा डढेलो नलगाउन उपोक्ता तथा आम सर्वसाधारणहरुलाई अपिलसमेत गरेको छ । वनमा आगो लगायो भने नयाँ पालुवा पलाउँछ भन्ने अन्धविश्वासका कारण पनि वनमा कतिपयले जानी-जानी आगो लगाउनेसमेत काम गरेका छन् । त्यसो गरेमा वनमा रहेका जडिबुटी, बिरुवा र वन्यजन्तुमा क्षति पुग्ने उनले बताए । वन डढेलोबाट बचाउनको लागि अग्नीरेखा बनाउनसमेत उपभोक्ताहरुलाई अनुरोध गरिएको छ । दाङमा १ लाख २ हजार ९ सय ६०.१३ हेक्टर क्षेत्रफलमा सामुदायिक वन र ८९ हजार ९ सय १४.९७ हेक्टर राष्ट्रिय वन छ ।
सांकेतिक तस्बिर