काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बारा–पर्सामा गएको भीषण हावाहुरीबाट प्रभावितको उद्धार र राहत कार्यमा जुट्न आग्रह गरेका छन् । उनले हावाहुरीबाट पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार र राहत कार्यमा जुट्न सबैलाई आग्रह गरेका हुन् ।
‘‘आज (आइतबार) राति भएको भीषण हावाहुरीमा परी मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली साथै घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछु । अहिले त्यस क्षेत्रमा ठूलो पीडा छ । हामी सबै मिलेर सहयोगमा जुट्न अनुरोध गर्दछु,’’ नेता पौडेलले ट्विट गरेका छन् ।
आइतबार बेलुकी अचानक आएको त्रासदीपूर्ण हावाहुरीबाट अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ भने छ सय १२ भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदेश सरकारले घाइतेहरुको सम्पूर्ण खर्च व्यहोर्ने बताएको छ ।