काठमाडौं । बलिउड स्टारका चलचित्र प्रदर्शनमा आउनु अगाडि उनीहरुका चलचित्रबारै निकै हल्लीखल्ली हुन्छ । उनीहरुका चलचित्र देशभित्रका सञ्चारमाध्यममा मात्रै अटाउँदैनन् । आफ्नो भूगोल बाहिरका सञ्चारमाध्यममा पनि उत्तिकै स्थान पाउँछन् ।
हुन पनि उनीहरुको चलचित्र प्रचारको तौरतरिका पनि बेग्लैछ । चलचित्रका लागि ‘फिट’ मानिने शरीर चरित्र अभिनयका लागि बढाएर ९० केजीसम्म बनाउँछन् । चलचित्रको विज्ञापनकै लागि सैलुनमा केस काट्दै हिँड्न् । यो त बलिउडका स्टारहरुको आम दर्शकको ध्यान आकर्षण आफूतर्फ तान्ने तरिका हो । योसँगै उनीहरुले चलचित्र निर्माणको बजेटको ५० प्रतिशतसम्म विज्ञापनमा खर्च गर्छन् ।
तर, नेपालमा भने अझै पनि विज्ञापनमा त्यति धेरै रकम खर्च गर्ने गरेको पाइँदैन । राम्रा भनिएका चलचित्र पनि नचल्नुको कारण यही रहेको चलचित्रकर्मीहरु बताउँछन् ।
नेपाली चलचित्र घाटामा जानुको मुख्य कारण निर्देशक रहेको निर्माता सुनिल रावल बताउँछन् । “निर्देशक भनेको चलचित्र निर्माणमा सबैभन्दा मुख्य व्यक्ति भएकाले उसको सबैभन्दा ठूलो हात हुन्छ,” रावल भन्छन्, “चलचित्र कस्तो बन्दैछ, स्क्रिप्ट कस्तो छ र कस्ता दर्शकका लागि लक्षित हो निर्देशकले थाहा नपाउँदा चलचित्र घाटामा गइरहेका छन् ।”
चलचित्र डुब्नुको अर्को कारण मार्केटिङ नहुनु रावल बताउँछन् । “साथिभाई र सानो सर्कलमा प्रसार गर्दैमा र समाचार छापिँदैमा मार्केटिङ हुँदैन । दर्शकको घरघरसम्म पुग्ने टुल्स के हो त्यसतर्फ हामीले ध्यान दिइरहेका छैनौँ, चाउचाउ बेच्ने व्यापारीले ग्राहकको घरघरमा पुगेर जसरी आफ्नो उत्पादनका बारेमा डिस्क्राइव गर्छ त्यस्तै चलचित्रको मार्केटिङ पनि हुनु जरुरी छ ।”
निर्देशक ऋषि लामिछाने नेपालमा गीत बजाउनु र प्रोमो बजाउनुलाई मात्रै चलचित्रको विज्ञापन भएको ठान्ने भ्रम रहेको बताउँछन् । “अन्य देशमा चलचित्र निर्माण खर्चको ५० प्रतिसतसम्म पब्लिसिटीमा खर्च गर्ने परम्परा छ,” निर्देशक लामिछाने भन्छन्, “हाम्रोमा पब्लिसिटीमा खर्च निकै कम भइरहेको छ । यो पनि चलचित्र घाटामा जानुको प्रमुख कारण हो ।”
नेपालमा चलचित्रको मार्केटिङ डिजाइन गर्ने दक्ष व्यक्ति र परम्परा नै नरहेको उनको भनाइ छ । “सबै राम्रा चलचित्र मात्रै चलेका छन् भन्ने छैन,” लामिछाने भन्छन्, “विज्ञापनकै कति नराम्रा चलचित्र पनि राम्रा चलचित्र भन्दा धेरै चलेका छन् ।”
चलचित्र वितरक गोपाल कायस्थ पनि चलचित्र घाटामा जानुको कारण बजारिकरणको अभाव ठान्छन् । “हाम्रोमा चलचित्र बनाउने तर विज्ञापन गर्न डराउने निर्माताहरु छन्,” कायस्थ भन्छन्, “जवसम्म चलचित्र निर्माण जत्तिकै महत्वपूर्ण पक्ष त्यसको प्रचारप्रसार पनि हुनुपर्छ भन्ने मानसिकता विकास हुँदैन त्यो समयसम्म राम्रो चलचित्र पनि चल्दैन ।”
चलचित्र निर्देशक नरेश केसी चलचित्र नचल्नुका पछाडि विज्ञापन गर्न नसक्नु पनि कारण रहेको बताउँछन् । मौलिक विषयबस्तुको अभाव र बजेटको कमी बतासँगै विज्ञापनका लागि बजेट छुट्याउन नसक्नु पनि राम्रा चलचित्र नचल्नुके कारण रहेको उनको भनाइ छ । यस्तै मौलिक विषय कमै उठाउनु नै चलचित्र दर्शकको आँखामा नपर्नुको कारण रहेको केसी बताउँछन् ।
“५ करोड रुपैयाँ हुने हो भने म ३३ वटी रानी सती गएको सेट तयार पारेर व्यवसायिक तथा ऐतिहासिक चलचित्र बनाएर विश्व बजारमा पुर्याउँछु जस्तो लाग्छ,” केसी भन्छन्, “सानो बजार पनि अर्को कारण हो ।”