नयाँदिल्ली/भारत । मानवीयता धरापमा पार्ने कट्टरतावाद तथा राष्ट्रवादको खोल ओढेको सङ्कुचनवादले दक्षिण एसियामा सङ्कट बढाइदिएको आरोप भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले लगाएका छन् । साउथ एसियन फेस्टिभल अफ सुफिज्म एन्ड बुद्धिज्म कार्यक्रमका वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । आफ्नो धर्मबारे ज्ञान नहुनु र संसारलाई बाटो देखाउने बुद्धिज्म र सुफिज्मलाई बुझ्ने चासो नराख्नाले यस्तो सङ्कट बढ्दै गएको उनीहरुको ठहर थियो ।
“युरोप र अमेरिकामा चिसो बढ्दा दक्षिण एसियालीलाई हाच्छ्युँ आउँछ,” कार्यक्रमका प्रमुख वक्ता प्रसिद्ध भारतीय विद्वान् आशीष नन्दीले भने, “हामीले आफ्नो संस्कृतिको विकास गर्न नसक्दा यस्तो अवस्था आएको हो ।”
भारतलगायतका कतिपय दक्षिण एसियाली मुलुकमा नक्कली राष्ट्रवादको विकास हुनाले परजीवीपना वृद्धि भएको उनको भनाइ थियो । “यस्तो राष्ट्रवाद त कुकुर–विरालोमा पनि हुन्छ, ती जीव आफ्नो वासस्थान चिन्छन् र आवश्यकता पर्दा खुरुखुरु त्यहाँ पुग्छन्,” नन्दीले भने । भूगोल वा सीमामा अड्किएको राष्ट्रवाद एउटा भावनामात्र भएको उनको तर्क थियो ।
भारत बहुसंस्कृतिको देश हुनाले सबैलाई एकै सूत्रमा बाँध्न सक्ने सामथ्र्य सुफिज्म र बुद्धिज्ममा रहेको कार्यक्रमका अर्का वक्ता भारतका पूर्व विदेशसचिव तथा काउन्सिल अफ सोसियल डेभलपमेन्टका अध्यक्ष मुचकुन्द दुवेले बताए । “मान्छे जुन धर्मको भए पनि उसले आफ्नो धर्मको पालना गर्न सक्दा संसारको सङ्कट कम हुन्छ,” उनले भने ।
हरेक धर्ममा साधना भन्ने तत्व हुने र त्यसका माध्यमबाट संसारलाई उज्यालो बाटो देखाउन सकिने उनको भनाइ थियो ।
दुनियाँका तमाम मान्छेलाई पुग्ने वस्तु उपलब्ध हुँदाहुँदै पनि असमान वितरणका कारण युद्ध, अशान्ति, भोकमरी र गरिबी फैलिएकोमा अर्का वक्ता केटीएस सराओले चिन्ता व्यक्त गरे । उनले भने, “राजनीतिज्ञ, सरकार, प्रशासककै अग्रसरतामा उत्पादित वस्तुको खराब वितरण भइरहेको छ ।”
यिनैले विभिन्न मुलुकमा गृहयुद्ध मच्चाइरहेको उनको भनाइ थियो । कार्यक्रममा फोरम अफ साउथ एसियन राइटर्स एन्ड लिटरेचर (फोस्वाल)की अध्यक्ष लेखिका अजीत कौर तथा साहित्य एकेडेमीका सचिव के श्रीनिवास राव, उपाध्यक्ष माधव कौशिकलगायतले मन्तव्य राखेका थिए ।
फोस्वाल र साहित्य एकेडेमी भारतको संयुक्त आयोजनामा फेब्रुअरी २२ देखि २४ तारिखसम्म सञ्चालन हुने कार्यक्रममा दक्षिण एसियाका सात देशको सहभागिता छ । बुद्धिज्म तथा सुफिज्ममा केन्द्रित कार्यक्रममा नेपाललगायत, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, अफगानिस्तान र श्रीलङ्काका सयभन्दा बढी लेखक–साहित्यकारको सहभागिता रहेको छ । आठ राष्ट्र सम्मिलित सार्क (दक्षिण एसियाली सहयोग सङ्गठन)को एक देश पाकिस्तानी प्रतिनिधिको भने कार्यक्रममा उपस्थिति थिएन ।