site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक्सप्रेस वे को काम एक्सप्रेसमै, डबल सिफ्टमा खट्दै सेना

काठमाडौं । काठमाडौंको दक्षिण भेग पाखाचोक पुग्दा देखिन्छ– स्काभेटर र टिपरको चहलपहल । कुनै स्काभेटर पहरा फोरिरहेका देखिन्छन् त कुनै ठूला ढुंगा टिपरमा राखिरहेको । टिपर भने धमाधम ढुंगामाटो बोक्दै भण्डारण क्षेत्र (स्टोर एरिया) मा खसाल्दै फर्किंदै गरिरहेका । यस्तो दैनिकी यहाँ देखिन थालेको थुप्रै भयो । 

यो क्षेत्रमा स्काभेटर र टिपरको चहलपहल बढ्नुको कारण हो– काठमाडौ–तराई मधेस द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण । 

“यहाँ कटिङ (जमिन र पहाड काट्ने–तास्ने काम) गर्दा निस्कने ढुंगा हामीलाई पछि फिलिङ (पुर्न)को लागि चाहिन्छ । त्यसैले कटिङ गर्दा निस्कने सबै ढुंगा–माटोलाई हामीले भण्डारण क्षेत्रमा राखेका छौं,” काठमाडौंको मख्खुवेशीस्थित नेपाली सेनाको क्याम्पका मेजर अजित श्रेष्ठले बाह्रखरीसँग भने, “अहिले यसरी भण्डारण नगर्ने हो भने पछि चाहिँदा किन्नुपर्ने हुन्छ । अहिले नै जोहो गरे पछि सजिलो पनि हुने र खर्च पनि जोगिन्छ ।” 

ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पुगी टुङ्गिने द्रुत मार्गको काम अहिले तिव्र गतिमा चलिरहेको छ । द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले विभिन्न स्थानमा क्याम्प राखी काम गरिरहेको छ । निर्धारित ४ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न सेना दिनरात नभनी खटिइरहेको छ । 

“चिसोका कारण हामीले एक सिफ्ट मात्र काम गरेका थियौं । विस्तारै चिसो कम हुँदै गएको छ । आउँदो साताबाट डबल सिफ्टमा काम गर्ने हाम्रो योजना छ,” मेजर श्रेष्ठले भने । हालसम्म बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म काम हुँदै आएको छ भने अर्को साताबाट डबल सिफ्ट सुरु भएपछि उक्त कार्य बिहान ६ बजेबाट सुरु भई राति १२ बजेसम्म गरिनेछ । रातिमा काम गर्नको लागि आवश्यक पर्ने उपकरण तयारी अवस्थामा छन् । 

द्रुतमार्ग ललितपुर, काठमाडौं, मकवानपुर र बारामा पर्छ । यो मार्गको कूल लम्बाई ७६.२ किलोमिटर छ । द्रुत मार्ग निर्माणको लागि सेनाले प्रत्येक ८–९ किलोमिटरको दूरीमा क्याम्प राखेको छ । सेनाले द्रुत मार्ग निर्माणको लागि पहिलो क्याम्प खोकनामा राखेको छ । अहिले सेना खोकनामा पालको क्याम्पभित्र रहेर द्रुत मार्ग निर्माण कार्यमा खटिएको छ । 

\"\"दोस्रो क्याम्प काठमाडौंको मख्खु वेशीमा छ । मख्खु वेशीको क्याम्पले द्रुत मार्गको ८.१ किलोमिटर खण्ड हेर्छ । पाखाचोकबाट काप्राङवेशीसम्मको सडक खण्डमध्ये १ किलोमिटर ललितपुर जिल्ला र बाँकी ७.१ किलोमिटर काठमाडौं जिल्लामा पर्छ । 

“हाम्रो क्याम्पको जिम्मेवारीभित्र पर्ने सडक मध्ये ४.६ किलोमिटर सेनाले र बाँकी सडकको कटिङको जिम्मेवारी अन्य ४ वटा निर्माण कम्पनीलाई दिइएको छ । हाम्रो जिम्मेवारीको काम ७० प्रतिशत सकिएको छ, बाँकी ३० प्रतिशत काम २ महिनामा सक्ने हाम्रो लक्ष्य छ,” मख्खुवेशीस्थित क्याम्पका मेजर श्रेष्ठले भने ।

मख्खुवेशीबाट सिस्नेरी पुग्दासम्म सबै ठाउँमा स्काभेटर र टिपरको चहलपहल उस्तै देखिन्छ । सबै ठाउँमा स्काभेटर पहरा फोरिरहेका र टिपर ढुंगा ओसारपसार गर्दै गरेका देखिन्छन् । मख्खुवेशी क्याम्पको जिम्मेवारी काप्राङवेशीमा पुगेर सकिन्छ जुन ठाउँ काठमाडौं, ललितपुर र मकवानपुरको संगम स्थल पनि हो । यही स्थानबाट द्रुतमार्ग काठमाडौंबाट ललितपुर जिल्ला प्रवेश गर्छ । 

काप्राङवेशीबाट सिस्नेरीसम्मको ७.४ किलोमिटर सडक खण्डको निर्माण जिम्मेवारी सिस्नेरीस्थित सेनाको क्याम्पले हेर्छ । उक्त सडक खण्डको केही भाग सेना आफैले र केही भाग अन्य निर्माण कम्पनीले कटिङ कार्य गरिरहेका छन् । काप्राङवेशीबाट करिब एक सय मिटर सिस्नेरीतर्फ अघि बढेपछि दु्रत मार्ग माग्मती नदीको दुई तर्फ बन्दै गरेको देखिन्छ । 

“यहाँनेर ठाउँ अलि साँघुरो भएको कारण बाग्मतीको दुईतर्फ सडक निर्माण गर्नु परेको हो । नदीको दुईतर्फ पर्ने सकड वान वे हुनेछन् । दुवै तर्फ दुई–दुई लेनको सडक हुनेछ,” सिस्नेरी स्थित सेनाको क्याम्पका ओभरसियर तुलाराम खड्काले जानकारी दिए । 

द्रुत मार्ग ४ लेनको हुनेछ । खोकनादेखि सिस्नेरीसम्मै दु्रत मार्ग बागमती नदीको किनारै किनार हुनेछ । केही ठाउँमा बागमतीलाई बायाँ त केही ठाउँमा दायाँ, एक ठाउँमा भने बागमतीलाई बीचमा पारेर दायाँ र बाायाँ दुवैतर्फ द्रुत मार्ग बनिरहेको छ । काप्राङवेशीबाट सिस्नेरी तर्फ जाँदा बन्दै गरेको द्रुत मार्गमा दायाँतर्फ सेनाले र बायाँतर्फ अन्य निर्माण कम्पनीले कटिङको कार्य गरिरहेका छन् । 

“हाम्रो जिम्मेवारीमा परेको सडक खण्ड (काप्राङवेशी देखि सिस्नेरीसम्म)को कार्य पनि ८० प्रतिशत सकिएको छ । बाँकी २० प्रतिशत काम ३ महिना भित्र सक्ने लक्ष्य हाम्रो छ,” ओभरसियर खड्काले भने । 

यस आर्थिक वर्षभित्र द्रुत मार्ग अन्तर्गत पर्ने ५४ किलोमिटर खण्डको खन्ने तथा पुर्ने कार्य सक्ने लक्ष्य सेनाले लिएको छ । कटिङको कार्य सकिएपछि रिटेनिङ वाल (पर्खाल) लगाउने कार्य सुरु गरिनेछ । त्यसपछि फिलिङ, ढल, पुल र पीचको कार्य हुनेछ । 

सेनाले दु्रत मार्ग निर्माणको लागि यसै वर्षभित्र वेशक्याम्प निर्माण, पहुँचमार्ग, बाँकी रुख कटान कार्य, जग्गा अधिग्रहण लगायका कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

सरकारले २०७४ वैशाख २१ गते चार वर्षभित्र दु्रतमार्ग निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । त्यसपछि सोही वर्षको साउन २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नेपाली सेनालाई आयोजना हस्तारण गरिएको थियो । २०७४ जेठ १४ गते दु्रतमार्गको शिलान्यास गरिएको थियो । एसियाली मापदण्ड अनुसार निर्माण गरिने द्रुतमार्गको लम्बाई ७६.२ किलोमिटर रहने छ ।

द्रुतमार्गमा ९९ सय वटा पुल रहनेछन्, जसमध्ये ७ वटा ठूला, ५७ वटा मझौला र ३५ वटा साना पुल हुनेछन् । पछिल्लो पटक सेनाले वैकल्पिक टनेल प्रस्ताव गरेको छ, जसअनुरुप अघि बढे पुलको संख्या केही घट्नेछ । एसियाली विकास बैंक (एडिबी)ले पेश गरेको सुरुको प्रस्तावमा १.३७ किलोमिटरको एकमात्र टनेल उल्लेख थियो । तर पछि सेनाले वैकल्पिक कूल ६.०७ किलोमिटर लामो तीन वटा टनेल प्रस्ताव गरेको छ, जसले गर्दा द्रुतमार्गको लम्बाई ३.४५ किलोमिटर घट्ने दाबी सेनाको छ । 

सरकारले आर्थिक वर्ष २०७४–०७५ मा दु्रतमार्गको लागि ९ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षमा सरकारले यो मार्गको लागि १५ अर्ब ३९ करोड रुपैयाँ बजेट छुट्याएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro