-1743496306.jpg)
काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरकी महिला प्रहरी नायव निरीक्षक (सई) पार्वती उपाध्यायविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरीको चाङ नै लाग्ने गरेको छ । प्रहरी जवानदेखि नै ललितपुर परिसरमा सादा पोसाकमा खटिएकी पार्वती हालसमेत सादा पोसाककै सई हुन् ।
उनी प्रहरी सेवाको २५ वर्षदेखि सादा पोसाकमै खटिएकी छिन् । तर, पछिल्लो समय उनीमाथि विभिन्न व्यवसायीलाई प्रभावमा पारेर आर्थिक लाभ लिने गरेको आरोप लाग्दै आएको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन समितिमा र हेलो सरकारमार्फत उनीविरुद्ध उजुरीको चाङ नै लाग्ने गरेको छ ।
पार्वतीविरुद्ध हरेक महिना आर्थिक प्रभावबारेको उजुरी आउने गरेको प्रहरी प्रधान कार्यालय उजुरी छानबिन समितिका एक अधिकारीले बताए । पछिल्लो समय भने उनीविरुद्धको उजुरीउपर छानबिन गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पत्राचार नै गरेको छ ।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले छानबिनका क्रममा कमजोरी देखिए उनलाई कारबाही हुने बताए । उनले भने,‘‘प्रहरी प्रधान कार्यालयले पठाएको पत्र मैले हेर्न पाएको छैन । म कहाँ आइपुगेको छैन । तर, छानबिनमा कमजोरी देखिए कारबाही हुन्छ ।’’
बैंकिङ कसुर र प्रहरीमा पर्ने ठाडो उजुरीका मुद्दाका पीडित र पीडक दुवैलाई प्रभावमा पारेर पार्वतीले आर्थिक लाभ लिने गरेको आरोप लाग्ने गरेको हो ।
पार्वतीलाई ठाडो उजुरी शाखाकै अर्का प्रहरी सहायक निरीक्षक (असई) धर्मराज खड्काको साथ छ । उनीहरूले मिलेमतोमा आर्थिक लाभ लिएर अनुसन्धान प्रक्रिया नै प्रभावित पार्ने गरेको आरोप लागेको छ । खड्का पनि करिब १५ वर्षदेखि ललितपुर प्रहरी परिसरमै सादा पोसाकमा कार्यरत छन् ।
पटक–पटक छानबिन तर उही जिम्मेवारी
यसअघि समेत सई पार्वती र खड्कामाथि पटक–पटक छानबिन भएको थियो । आर्थिक अनियमितताबारे गुनासो आएपछि उनीहरु दुवैजनालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरबाट तानेर सामाखुशीस्थित प्रहरीको गण पठाएको थियो ।
तर, उनीहरू केही समय मात्रै गणमा हाजिर भएर पुनः ललितपुर पुगेर पुरानै जिम्मेवारीमा फर्किएका हुन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले जुनियर प्रहरी अधिकारीको छानबिन जिल्लाकै एसएसपीले गर्ने हुँदा छानबिनबारे आफूलाई जानकारी नहुने बताए ।
यसअघि उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा एआईजी विश्वराज पोखरेल हुँदा लामो समय सादा पोसाकमा एउटै कार्यालयमा खटिँदा कामभन्दा पनि आर्थिक लाभमा फसेको गुनासो आएपछि अधिकांशलाई उनले गण तानेका थिए ।
तर, पछि शक्तिकेन्द्रको दबाबमार्फत सबै पुरानै ठाउँ फर्किएका थिए । रानीपोखरीका अर्का एआईजी दिवेश लोहनीको पालामा त पार्वतीले बालाजुकी सोनी गुरुङलाई जबरजस्ती चेक कटाएको खुलेको थियो ।
त्यो बेला पनि रानीपोखरीमा गुनासो परेपछि उनलाई ललितपुरबाट रानीपोखरी तानेर त्रिभुवन विमास्थल पठाइएको थियो ।