site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा क्रिस्चियन संघसंस्थाको वार्षिक २ अर्ब लगानी

काठमाडौं । विभिन्न देशका क्रिस्चियन संघसंस्थाले नेपालमा एक वर्षको अवधिमा २ अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ । उनीहरुले ५७ वटाभन्दा बढी गैरसरकारी संस्था (एनजीओ) मार्फत् नेपालमा उक्त लगानी गरेका हुन् । महिला तथा बालबालिका, क्षमता अभिवृद्धि, आवास, सहकारी तथा उद्यम, स्वास्थ्य, पुनर्निर्माण, शिक्षा, दलित, आदिवासी, कृषिलगायतका क्षेत्रमा उनीहरुको लगानी छ । 

“सबैभन्दा बढी लगानी क्रिस्चियन दाताको छ । गैरसरकारी संस्था (एनजीओ) र अन्तर्रार्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) दुवैमा ठूलो लगानी उनीहरुकै छ,” समाज कल्याण परिषद्का सूचना अधिकारी हरि तिवारीले बाह्रखरीसँग भने । उनले विदेशी क्रिस्चियन संघसंस्थाको नेपालमा गरेको लगानीलाई अलग्गै राखेर परिषद्ले नहेरेको जनाउँदै उनीहरुको लगानी ठ्याक्कै यति छ भन्न नसकिने बताए । 

सूचना अधिकारी तिवारीले अन्तर्राष्ट्रिय क्रिस्चियन संघसंस्थाको नेपालमा गरेको लगानी रकम छुट्टयाएर हेर्न नमिल्ने बताए पनि बाह्रखरीलाई परिषद् स्रोतबाट प्राप्त कागजातमा आर्थिक वर्ष २०७५–०७६ मा क्रिस्चियन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाले नेपालका एनजिओमार्फत् मात्र नेपालमा १ अर्ब ९९ करोड ६४ लाख ९० हजार ६ सय ९९ रुपैयाँ लगानी गरेको देखिन्छ । अन्तर्राष्ट्रिय क्रिस्चियन संघसंस्थाले नेपालमा अधिकांश लगानी यहाँ रहेका क्रिस्चियन एनजिओ मार्फत् गरेका छन् । 

“हामीले क्रिस्चियन संघसंस्थाको लगानी कति छ भनेर छुट्टयाएर हेरेका छैनौं,” सूचना अधिकारी तिवारीले भने । गत आर्थिक वर्षमा विभिन्न अन्तर्राष्ट्रिय क्रिस्चियन संघसंस्थाले ५७ भन्दा बढी एनजिओ मार्फत् नेपालका ४० भन्दा बढी जिल्लामा लगानी गरेका थिए । क्रिस्चियन संघसंस्थाको सहयोगमा कार्यक्रम तथा आयोजना सञ्चालन भएका जिल्लामा चितवन, रुपन्देही, बाँके, कञ्चनपुर, कैलाली, काठमाडौं, महोत्तरी, धनुषा, नवलपरासी, कास्की, काभ्रपलाञ्चोक, धादिङ, झापा, सुनसरी, उदयपुर, सिन्धुली, प्यूठान, इलाम, दाङ, गुल्मी र सुर्खेत छन् । संखुवासभा, बाग्लुङ, गोर्खा, तनहुँ, रोल्पा, सल्यान, दैलेख, डोटी, बैतडी, लम्जुङ, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, ललितपुर, जुम्ला, मुगु, मोरङ, भक्तपुर र कालिकोट जिल्लामा पनि उनीहरुको लगानीमा कार्यक्रम सञ्चालन भएका थिए । 

एनजिओ मार्फत् नेपालमा सबैभन्दा ठूलो लगानी गर्ने अन्तर्राष्ट्रिय क्रिस्चियन संस्थामा कारितास रहेको छ । कारितास जर्मनी, कारितास अष्ट्रेलिया, कारितास इन्टरनेसनल्स, कारितास इटाली, कारितास कोरिया लगायतले एक वर्षमा ८० करोड २१ लाख ८४ हजार १ सय ३२ रुपैयाँ नेपालमा लगानी गरेका छन् । उनीहरुले उक्त रकम ललितपुरमा कार्यालय रहेको कारितास नेपाल नामक एनजीओलाई उपलब्ध गराएका हुन् । 

कारितास जर्मनीले महोत्तरी र धनुषा जिल्लामा समुदायको सशक्तीकरण गर्न कारितास नेपाल ललितपुरलाई एक करोड ८ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको थियो । कारितास अष्ट्रेलियाले उक्त एनजिओलाई २९ वटा जिल्लामा साना किसान एकीकृत कार्यक्रमको लागि भन्दै १ करोड २५ लाख ८३ हजार रुपैयाँ उपलब्ध गराएको देखिन्छ । 

कारितास इन्टरनेसनल्सले दोलखा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा भूकम्प प्रभावितलाई आवास निर्माण गर्दा प्राविधिक सहायता उपलब्ध गराउने भन्दै कारितास नेपाल ललितपुरलाई २३ करोड ३२ लाख ८० हजार ९ सय २९ रुपैयाँ उपलब्ध गराएको थियो । कारितास इन्टरनेसनसले नै उक्त एनजीओलाई दोलखा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीलमा नेपाल अर्थक्वेक रिकभरी प्रोजेक्ट सञ्चालन गर्न थप १४ करोड ६० लाख ८६ हजार २ सय ७६ रुपैयाँ समेत प्रदान गरेको थियो । 

कारितास अस्ट्रेलियाले कञ्चनपुर, बर्दिया, कैलाली, बाँके, नवलपरासी, काभ्रे र ललितपुरमा सहकारी विकास तथा उद्यम प्रबद्र्धन परियोजना अन्तर्गत एक करोड ७८ लाख ५४ हजार रुपैयाँ कारितास नेपाल ललितपुरलाई उपलब्ध गराएको देखिन्छ । कारितास न्युजिल्यान्डले सुर्खेतमा कार्यक्रम सञ्चालन गर्न कारितास नेपाल ललितपुरलाई २८ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको थियो । कारितास इटालीले पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा भूकम्पपछिको पुनर्र्निर्माण सम्बन्धी परियोजनाको लागि भन्दै कारितास नेपाल ललितपुरलाई २९ करोड ६३ लाख ४० हजार १ रुपैयाँ प्रदान गरेको समाज कल्याण परिषद्को विवरणमा देखिन्छ । 

कारितास अष्ट्रेलियाले २८ वटा जिल्लामा विभिन्न कार्यक्रम गर्न ३ करोड ३६ लाख २१ हजार ७ सय ३० रुपैयाँ कारितास नेपाल ललितपुरलाई दिएको थियो । कारितास इटालीले बाँकेमा प्रकोपपछिको पुनर्निर्माणको लागि भन्दै ५८ लाख रुपैयाँ कारितास नेपाल ललितपुरलाई उपलब्ध गराएको देखिन्छ । कारितास जर्मनीले जुम्ला र मुगुमा एकीकृत प्रकोप जोखिम न्यूनीकरण प्रयाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न कारितास नेपाल ललितपुरलाई १ करोड ९ लाख ४७ हजार ३ सय रुपैयाँ प्रदान गरेको थियो । 

कारितास अस्ट्र्लिया, किन्डर मसिन (जर्मनी) सेकोरस क्याथोलिक (फ्रान्स) र कारितास कोरियाले झापा र मोरङमा भुटानी शरणार्थी बालबालिकाको माध्यमिक शिक्षाको लागि भन्दै कारितास नेपाल ललितपुरलाई ७७ लाख ३५ हजार ९ सय ६ रुपैयाँ उपलब्ध गराएको थियो । कारितास जर्मनीले महोत्तरी र धनुषामा समुदायको सशक्तीकरणको लागि १ करोड १० लाख २८ हजार ९ सय ९० रुपैयाँ कारितास नेपाल ललितपुरलाई उपलब्ध गराएको छ । कारितास मिसियोले पनि बाँके, कञ्चनपुर र झापामा युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न भन्दै १ करोड ३१ लाख ७६ हजार रुपैयाँ कारितास नेपाल ललितपुरलाई प्रदान गरेको थियो । 

कारितास जर्मनी लगायतका संस्थाले नेपाल बालबालिका एनजीओलाई सिन्धुपाल्चोकमा बाल विकास केन्द्र स्थापना गर्न १ करोड ४७ लाख ८५ हजार ८ सय १८ रुपैयाँ उपलब्ध गराएको थियो । कारितास इटालीले धादिङमा दिगो आर्थिक सशक्तिकरण कार्यक्रमको लागि डोको नेपाललाई ४७ लाख २१ हजार ९ सय ७० रुपैयाँ उपलब्ध गराएको थियो । 

बाप्टिस्ट मिसन सोसाइटी, अमेरिकन बाप्टीष्ट इन्टरनेसनल मिनिस्ट्रिज लगायतका संस्थाहरुले ललितपुर, सिन्धुपाल्चोक र काभ्रेमा मनोवैज्ञानिक परामर्श सेवासम्बन्धी तालिम प्रदान गर्न ललितपुरस्थित एलाइजा परामर्श तथा तालिम केन्द्रलाई ७८ लाख ८८ हजार २६ रुपैयाँ प्रदान गरेका थिए । कारितास स्पेनले ८ वटा जिल्लामा भूकम्प पीडितहरुको न्यायमा पहुँच बढाउनका लागि विभिन्न कार्यक्रम गर्न राष्ट्र निर्माण संघ नेपाललाई ४१ लाख ८२ हजार रुपैयाँ उपलब्ध गराएको देखिन्छ । 

प्रोटेस्टेन्ट एजेन्सीले उदयपुर र ललितपुरमा खाद्य सुरक्षासम्बन्धी परियोजना सञ्चालन गर्न सहयोगी हातहरुको समूह (साहस) नेपाललाई ६ करोड १५ लाख २५ हजार रुपैयाँ प्रदान गरेको थियो । बाप्टिस्ट ग्लोबल रेस्पोन्सले सुनसरी, ललितपुर र चितवनमा प्रकोपका बेला समुदाय परिचालनसम्बन्धी कार्यक्रम चलाउन माईका नेटवर्क नेपाललाई ७३ लाख ५९ हजार ९ सय ६८ रुपैयाँ उपलब्ध गराएको थियो । एसिया प्यासिफिक बाप्टिस्ट एड, अमेरिकन बाप्टिस्ट इन्टरनेसनल मिनिस्ट्रिज, कोअपरेटिभ बाप्टीस्ट फेलोसिपलगायत संस्थाले ललितपुरमा स्वास्थ्य शिक्षा परियोजना सञ्चालन गर्न बहुद्देश्यीय सामुदायिक विकास सेवालाई २ करोड ५३ लाख ९७ हजार ९ सय ८७ रुपैयाँ प्रदान गरेका थिए । तिनै अन्तर्राष्ट्रिय संस्थाहरुले मोरङमा प्रकोप राहतसम्बन्धी परियोजना सञ्चालन गर्न बहुद्देश्यीय सामुदायिक विकास सेवालाई थप ५० लाख ८० हजार ९ सय रुपैयाँ उपलब्ध गराएका थिए ।

कारितास इटालीले काभ्रेमा होस्टल निर्माण गर्न नेपाल जेसुइत सोसाइटीलाई ५१ लाख ४५ हजार २ सय ५७ रुपैयाँ प्रदान गरेको देखिन्छ । अस्ट्रेलियन क्याथोलिक वुमन्स मुभमेन्टले नेपाल महिला विश्वासी संघलाई ८० लाख ५६ हजार १ सय ८८ रुपैयाँ उपलब्ध गराएको देखिन्छ । बाप्टीस्ट मिसन सोसाइटी र टियर अस्ट्रेलियाले रुपन्देहीमा सामुदायिक विकास कार्यक्रम चलाउन नयाँ जीवनको लागि हातेमालो नामक एनजीओलाई ४९ लाख ९८ हजार ७ सय ३० रुपैयाँ प्रदान गरेको थियो । स्व–सशक्तीकरणका लागि व्यवहारिक सहयोग नामक एनजीओले सिन्धुपाल्चोक जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्न भन्दै कारितास अस्ट्रेलियाबाट ५ करोड १२ लाख ९९ हजार ८० रुपैयाँ प्राप्त गरेको थियो । कारितास अस्ट्रेलियाले सोही एनजीओलाई सिन्धुपाल्चोकमा शिक्षाको पूर्वाधार निर्माण गर्न भन्दै ९ करोड ३३ लाख ८७ हजार ६ सय १८ रुपैयाँसमेत प्रदान गरेको थियो । 

क्रिस्चियन संघसंस्थामाथि नेपालमा धर्म परिवर्तन गर्न ठूलो लगानी गर्दै आएको आरोप लाग्दै आएको छ । उनीहरुले विभिन्न बहानामा नेपाल प्रवेश गरी धर्म परिवर्तन गर्ने कार्यमा सहयोग गरिरहेको आरोप सामान्य व्यक्तिदेखि ठूला दलका नेतासम्मले लगाउँदै आएका छन् । समाज कल्याण परिषद् भने यस्ता कुराबारे कुनै जानकारी नभएको बताउँछ । 
“उनीहरुको क्रियाकलापलाई लिएर अहिलेसम्म उजुरी परेको छैन । एक–दुईवटा गुनासा आएका थिए, हामीले निराकरण गरिसक्यौं । उजुरी नआइन्जेलसम्म हामीले यसै भन्न सक्ने स्थिति छैन,” परिषद्का सूचना अधिकारी तिवारीले भने ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro