site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनजीओको वार्षिक खर्च २० अर्ब बढी

काठमाडौं । नेपाल भित्र विभिन्न परियोजना तथा कार्यक्रम सञ्चालन गर्दै आएका गैर सरकारी संस्था (एनजीओ) को वार्षिक खर्च २० अर्ब रुपैयाँभन्दा बढी हुने गरेको पाइएको छ । उनीहरुले उक्त रकम देशभित्रैका संघ संस्था तथा दातृ राष्ट्र, निकाय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट प्राप्त गरेका हुन् । 

समाज कल्याण परिषदबाट प्राप्त तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा नेपालमा सञ्चालित ७ सय २३ एनजीओले कूल २० अर्ब २९ लाख ७४ हजार ५३ रुपैयाँ खर्च गरेको देखिएको छ । एनजीओहरुले नेपालमा खर्च गरेको उक्त रकममध्ये १७ अर्ब ४६ करोड ७७ लाख ८ हजार ५ सय ३८ रुपैयाँ बाह्य स्रोत (दातृ राष्ट्र तथा निकाय) बाट प्राप्त गरेका हुन् भने बाँकी २ अर्ब ५३ करोड ५२ लाख ६५ हजार ५ सय १५ रुपैयाँ आन्तरिक स्रोत (देशभित्रकै विभिन्न संघ संस्था तथा व्यक्ति) बाट प्राप्त गरेका हुन् । 

“अघिल्लो वर्षहरुमा एनजीओहरुको बजेट यो भन्दा बढी हुने गर्थ्यो । औषतमा वार्षिक २४ अर्ब जति एनजीओले नेपालमा खर्च गर्दै आएका छन्,” समाज कल्याण परिषदका सूचना अधिकारी हरि तिवारीले बाह्रखरीसँग भने, “एनजीओहरुको गत वर्षको खर्च अघिल्ला वर्षहरुको भन्दा कम हो ।” 

गतवर्ष ७ सय २३ एनजीओले नेपालमा एक हजार एक सय ८१ वटा परियोजना तथा कार्यक्रम सञ्चालन गरेका थिए । देशका ७७ वटै जिल्लामा एनजीओका कार्यक्रम सञ्चालन भएका थिए । गतवर्ष औषतमा एउटा एनजीओको भागमा २ करोड ७६ लाख ६६ हजार ६ सय ३० रुपैयाँ परेको थियो । एनजीओहरुले औषतमा एउटा कार्यक्रम तथा परियोजनामा एक करोड ६९ लाख ३७ हजार ३ सय १९ रुपैयाँ खर्च गरेको देखिन्छ । 

“कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने एनजीओमध्ये आधाजतिको मूल्यांकन परिषदले गरेको थियो । मूल्यांकन गरिएकामध्ये अधिकांशले आफ्नो दायरभित्र रही कार्य गरेको पाइएको छ,” तिवारीले भने । 

गतवर्ष नेपालमा सञ्चालित एनजीओमध्ये दाताबाट सबैभन्दा कम आर्थिक सहायता पाउनेले २५ हजार रुपैयाँ र बढी पाउनेले साढे ४ अर्ब रुपैयाँसम्म प्राप्त गरेका थिए । 

गतवर्ष सबैभन्दा ठूलो रकम दाताबाट पाउने नेपाली एनजीओमा भक्तपुरस्थित एसओएस बालग्राम नेपाल रहेको छ । काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, मोरङ, सुनसरी, कास्की, सुर्खेत, बाँके, बर्दिया, रुपन्देही र कैलाली जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्न एसओएस बालग्राम नेपालले गत आर्थिक वर्ष आन्तरिक र बाह्य स्रोतबाट कूल ४ अर्ब ६८ करोड ६५ लाख ७४ हजार ९ सय ६१ रुपैयाँ प्राप्त गरेको देखिन्छ । एसओएस चिल्ड्रेन्स भिलेज इन्टरनेसनल–अष्ट्रेलियाले एसओएस बालग्रामलाई ३ अर्ब १९ करोड लाख ८२ लाख ९३ हजार ३ सय ७४ रुपैयाँ उपलब्ध गरेको थियो भने बाँकी रकम उसले आन्तरिक स्रोतबाट प्राप्त गरेको थियो । 

गत आर्थिक वर्ष लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक्ट ३२५ काठमाडौं नामक एनजीओले लायन्स क्लब्स इन्टरनेसनल फाउण्डेसन (एलसीआईएफ) बाट काठमाडौं, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, म्याग्दी, कास्की र तनहुँमा पुनर्निर्माण सम्बन्धी कार्य गर्नको लागि ३१ करोड ८७ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको थियो । 

ललितपुरस्थित कारितास नेपाललाई विभिन्न देशका दाताले बाढीको पूर्व जानकारी दिने सम्बन्धी कार्यक्रम, समुदायको सशक्तिकरण, साना किसानलाई लक्षित कार्यक्रम, पोषण सम्बन्धी कार्यक्रम, भूकम्प पीडितको लागि आवास, भुटानी शरणार्थीको लागि शिक्षा, युवा सशक्तिकरण लगायत १६ वटा कार्यक्रम सञ्चालन गर्न गत आर्थिक वर्ष ८३ करोड ७० लाख  १४ हजार २ सय २६ रुपैयाँ उपलब्ध गरेका थिए । कारितास जर्मनी, कारितास अष्ट्रेलिया, कारितास इन्टरनेसनल, कारितास न्यूजील्याण्ड, कारितास इन्टरनेसनल इटालीलगायतले कारितास नेपाललाई उक्त रकम उपलब्ध गरेका थिए । 

गत आर्थिक वर्षनै काठमाडौंमा रहेको नेपाल वाटर फर हेल्थ (नेवा) नामक एनजीओले सिन्धुली र बाग्लुङमा स्थानीयको खानेपानीमा पहुँच बढाउन भन्दै कूल २८ करोड २१ लाख २० हजार १ सय ५९ रुपैयाँ खर्च गरेको थियो । उक्त रकममध्ये साढे २१ करोड रुपैयाँ अमेरिकाबाट प्राप्त गरेको थियो भने बाँकी आन्तरिक स्रोतबाट जुटाएको थियो । गत आर्थिक वर्षनै लिटिल सिस्टर्स फण्ड, युएसएले काठमाडौंस्थित एनजीओ प्रजातन्त्र तथा विकास केन्द्र (सीडीडी) लाई ‘एजुकेशन फर इमपावरमेन्ट प्रोग्राम’ सञ्चालन गर्न २६ करोड ७६ लाख ३० हजार ५ सय ८४ रुपैयाँ उपलब्ध गर्ने निर्णय गर्यो, जुन सन् २०२२ सम्मको लागि हो । 

आर्थिक वर्ष २०७४–०७५ मा नेपाल जेसुईत सोसाइटी, ललितपुरले बाह्य र आन्तरिक स्रोतबाट ललितपुर र झापाको शिक्षा क्षेत्रमा काम गर्न कूल २६ करोड १६ लाख ११ हजार ६ सय ६३ रुपैयाँ प्राप्त गरेको देखिन्छ, जुन रकम उसले २०२० सम्ममा ती कार्यक्रममा खर्चने छ । सोसाइटीले ७ वटा विदेशी दाताबाट साढे १५ करोड रुपैयाँ र बाँकी रकम आन्तरिक स्रोतबाट जुटाएको थियो । 

भूकम्पपछिको पुनर्निर्माणमा काम गरेको लुमन्ती आवासको लागि सहयोग समूह लुमन्ती, काठमाडौंलाई जर्मनीको एक संस्थाले ललितपुर, काठमाडौंमा र मकवानपुरको लागि भन्दै २३ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गरेको थियो । 

समाज कल्याण परिषद्को तथ्याङ्कअनुसार ललितपुरस्थित नेपाल परिवार नियोजन संघले गत वर्ष ३४ करोड ५० लाख ६६ हजार ५ सय ८२ रुपैयाँ ३१ वटा जिल्लामा कार्यक्रम गर्दा खर्च गरेको छ । काठमाडौंको भेन्छेन फुन्छोक धाग्र्योलिङ् गुम्बाले काठमाडौंको शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दा १६ करोड ६० लाख ३६ हजार रुपैयाँ खर्चेको छ । नेपाल डेभलपमेन्ट सोसाइटीले गत आर्थिक वर्ष सामाजिक विकास परियोजनाको लागि विदेशी दाताबाट १५ करोड १८ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको देखिन्छ । डडेल्धुराको दियालो नामक एनजीओले सन् २०२२ सम्मको लागि टिम युएसएबाट साढे १२ करोड रुपैयाँ गत वर्ष बुझेको थियो । भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल ललितपुरले विभिन्न जिल्लामा भूकम्प प्रतिरोधि भवन निर्माणमा प्राविधिक सहायता उपलब्ध गराउँदा करिव १२ करोड रुपैयाँ खर्च गरेको छ ।  

खोज पत्रकारिता केन्द्र–नेपालले पनि क्षेत्रीय वर्कशप, खोज पत्रकारिताको प्रवर्द्धनको लागि भन्दै गत आर्थिक वर्ष १ करोड ७२ लाख ९१ हजार १ सय ५५ रुपैयाँ खर्च गरेको देखिन्छ । 


 

प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro