काठमाडौं । सैनिक जवानलाई बंकरबाट ब्यारेकमा सार्न १० अर्ब रुपैयाँ खर्च गरिसक्दा पनि अझै ठूलो संख्यामा सैनिक बंकरमा बस्न बाध्य छन् । वर्षमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदै आएको ८ वर्ष बितिसक्दा पनि तल्लो तहका सैनिक जवानहरु पाल, कच्ची घर, जस्तापाताले बारेको पोष्टबाट पक्की भवनमा सरी ओत लाग्न पाएका छैनन् ।
बाह्रखरीलाई रक्षा मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो ७ वर्षमा सैनिक जवानलाई बंकर (पाल, टहरा, कच्ची भवन, जस्ता पाताले बारेको पोष्ट) बाट ब्यारेक (पक्की भवन)मा सार्न सैनिक मुख्यालय जंगी अड्डाले ८ अर्ब ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खर्च गरिसकेको छ । चालु आर्थिक वर्ष २०७५–०७६ मा सेनाको ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमको लागि १ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ छुट्टयाइएको छ । यो दुवै जोड्दा यस आर्थिक वर्षसम्म जंगी अड्डाले बंकरदेखि ब्यारेक कार्यक्रममा खर्च गर्ने कूल रकम १० अर्ब २४ करोड ३७ लाख ६ हजार रुपैयाँ हुन आउँछ ।
“१० वर्षभित्र ५ हजार ८ सय ५० वटा पक्की घर बनाई सेनालाई ब्यारेकमा सार्ने योजनाअनुसार बंकरदेखि ब्यारेक कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बाह्रखरीसँग भने, “यो कार्यक्रम अन्तर्गत शौचालयदेखि ठूला भवनगरी हालसम्म कूल ३ हजार ५४ वटा साना ठूला भवन निर्माण भएका छन् ।”
२०६२–०६३ को जनआन्दोलन पछि तत्कालिन विद्रोही माओवादीसँग शान्ति सम्झौता भएपछि आर्थिक वर्ष २०६५–०६६ मा पहिलो पटक ‘बंकरदेखि ब्यारेक’ अवधारणा ल्याइएको थियो । तत्कालिन सांसदहरुको एक टोलीले नेपाली सेनाका जवानहरु बसेको बंकरहरुको निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा सैनिक जवानको बसाइ दयनिय देखिएपछि बंकरदेखि ब्यारेक अवधारणालाई अघि बढाउने निर्णय भएको थियो । सोही बमोजिम सरकारले आर्थिक वर्ष २०६८–०६९ देखि बंकरदेखि ब्यारेक कार्यक्रम शिर्षकमा जंगी अड्डाको लागि बजेट छुट्टयाउन थालेको हो ।
आर्थिक वर्ष २०६८–०६९ देखि २०७४–०७५ सम्मको ७ वर्षको अवधिमा बंकरदेखि ब्यारेक कार्यक्रममा ८ अर्ब ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खर्च भएको छ । प्रत्येक वर्ष बजेटमा व्यवस्था गरेभन्दा बढी रकम उक्त कार्यक्रममा खर्च भएको देखाइएको छ । यो सात वर्षको अवधिमाम शौचालय देखि ठूला गरी कूल ३ सय ५४ वटा भवन निर्माण भएका छन् । उक्त अवधिमा औषतमा एउटा भवन निर्माण गर्दा जंगी अड्डाले २७ लाख ७६ हजार ९१ रुपैयाँ खर्च गरेको देखिन्छ ।
“रथीको अध्यक्षतामा सात सदस्यीय समिति हुन्छ । सोही समितिले प्राथमिकताका आधारमा कहाँ बंकरदेखि ब्यारेक कार्यक्रम अन्तर्गत भवन निर्माण गर्ने भन्ने निर्णय लिन्छ र निर्माण कार्य सुरु गरिन्छ,” सैनिक प्रवक्ता भण्डारीले भने ।
चालु आर्थिक वर्ष २०७५–०७६ मा मा निवास, भान्छा घर, कार्यालय भवन, डाइनिङ हल, शौचालय लगायतका १ सय ६९ भवन निर्माण गर्न १ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ जंगी अड्डाको नाममा विनियोजन गरिएको छ । यो वर्षमा उक्त रकमभित्रै १ सय ६९ साना–ठूला भवन निर्माण सम्पन्न भए एउटा भवन निर्माण गर्न जंगी अड्डाले औषतमा १ करोड ४ लाख ६३ हजार ३ सय १३ रुपैयाँ खर्च गर्नेछ ।
पछिल्लो ८ वर्षको अवधिमा जंगी अड्डाले बंकरदेखि ब्यारेक कार्यक्रममा कूल १० अर्ब २४ करोड ३७ लाख ६ हजार रुपैयाँ खर्चिने देखिन्छ, जसअनुसार जंगी अड्डाले एउटा सानोदेखि ठूलो भवन निर्माण गर्न औषतमा ३१ लाख ६८ हजार ३ सय १३ रुपैयाँ खर्च गर्ने देखिन्छ ।
रक्षा मन्त्रालय स्रोतका अनुसार यो वर्ष पूर्व पृतना अन्तर्गत १३, मध्यपूवी पृतना अन्तर्गत १८, मध्य पृतना अन्तर्गत १२, पश्चिम पृतना अन्तर्गत २०, मध्य पश्चिम पृतना अन्तर्गत २०, उत्तर पश्चिम पृतना अन्तर्गत १०, सुदुर पश्चिम पृतना अन्तर्गत १४ र उपत्यका पृतना अन्तर्गत ६२ वटा साना–ठूला भवन निर्माण गरिनेछ । बंकरदेखि ब्यारेक कार्यक्रम अन्तर्गत यस वर्षको लागि नयाँ भवन निर्माण गर्न नक्सा तथा लगत इस्टिमेटको तयारी भैसकेको छ ।
गत आर्थिक वर्ष २०७४–०७५ मा बंकरदेखि ब्यारेक कार्यक्रम अन्तर्गत डायनिङ हल, शौचालय, कार्यालय भवनको लागि साना–ठूला २ सय १७ वटा भवन निर्माण गर्दा जंगी अड्डाले १ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ खर्च गरेको थियो । यो वर्ष औषतमा एउटा भवन निर्माण गर्दा ६३ लाख ५३ हजार ९ सय १७ रुपैयाँ जंगी अड्डाले खर्च गरेको छ ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएको सैनिक संरचना पुनर्निर्माणको लागि जंगी अड्डालाई छुट्टै बजेटको व्यवस्था गरिएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जंगी अड्डालाई १ अर्ब २० करोड उपलब्ध गरेको थियो, जुन सम्पूर्ण रकम २०७५ असार मसान्त सम्म खर्च भइसकेको विवरण सेनाले तालुकदार मन्त्रालयलाई पठाएको छ । यो रकम बंकरदेखि ब्यारेक कार्यक्रम अन्तर्गत पर्दैन । प्राधिकरणले उपलब्ध गरेको रकममा सैनिक मुख्यालय भद्रकाली, सैनिक प्रहरी गण भद्रकाली, लक्ष्मीनिवास महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र गणेशदल गण तोपखानाको पुनर्निर्माण भइरहेको छ ।
बंकरदेखि ब्यारेक कार्यक्रम सञ्चालन हुनुअघि पनि सरकारले जंगी अड्डालाई भवन निर्माण शिर्षकमा यस्तो रकम उपलब्ध गर्दै आएको थियो । आर्थिक वर्ष २०६५–०६६ मा सरकारले जंगी अड्डालाई ब्यारेक निर्माणको लागि २५ करोड उपलब्ध गरेको थियो । यसको अर्को वर्ष अर्थात आर्थिक वर्ष २०६६–०७७ मा ब्यारेक निर्माणको लागि सरकारले सेनालाई ४५ करोड रुपैयाँ दिएको थियो । आर्थिक वर्ष २०७७–०८८ मा यो रकम बढेर ७१ करोड २५ लाख रुपैयाँ पुगेको थियो । पछिल्लो ११ बर्षमा सरकारले जंगी अड्डालाई सैन्य भवन निर्माणको लागि करिव ११ अर्ब रुपैयाँ उपलब्ध गरिसकेको छ जुन खर्च पनि भैसकेको देखिन्छ । यति ठूलो रकम खर्च भइसक्दा पनि सेनालाई आवश्यक साना–ठूला ५ हजार ८ सय ५० भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन । १० वर्षे योजनाको ८ वर्ष बित्न लागिसक्यो काम भने आधा मात्र सम्पन्न भएको छ ।
“जति बजेट प्राप्त हुन्छ, सबै रकम कार्यक्रम अन्तर्गत ब्यारेकको लागि आवश्यक भवन निर्माणमा खर्च हुन्छ,” सैनिक प्रवक्ता भण्डारी भन्छन्, “रकम अपुग भएर लक्ष्य अनुसारको भवन निर्माण हुन नसकेको हो ।” झण्डै ८ वर्षमा ३ हजार ५४ वटा साना–ठूला भवन निर्माण गरेको जंगी अड्डाले अबको दुई वर्षमा २ हजार ७ सय ९६ साना–ठूला भवन निर्माण गर्नुपर्ने हुन्छ ।
बंकरदेखि ब्यारेक कार्यक्रम सुरुभएकै वर्ष (आर्थिक वर्ष २०६८–०६९) सरकारले जंगी अड्डालाई ब्यारेक निर्माणको लागि ९० करोड रुपैयाँ बजेट दिएको थियो । उक्त वर्ष जंगी अड्डाले छुट्टयाइएको भन्दा २ करोड २२ लाख २० हजार बढि रकम उक्त कार्यक्रम शिर्षकमा खर्च गरेको देखिन्छ । आर्थिक वर्ष २०६९–०७० मा बंकरदेखि ब्यारेक कार्यक्रमको लागि ८० करोड ८५ लाख ९० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो तर जंगी अड्डाले भने उक्त कार्यक्रममा ९३ करोड ८५ लाख ७७ हजार रुपैयाँ खर्च गरेको देखाएको छ ।
आर्थिक वर्ष २०७०–०७१ मा बंकरदेखि ब्यारेक कार्यक्रमको लागि एक अर्ब रुपैयाँ बजेट छुट्टयाइएकोमा ९९ करोड ९९ लाख ४६ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७१–०७२ मा यो खर्च बढेर १ अर्ब ४२ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्यो, जबकी उक्त वर्ष बंकरदेखि ब्यारेक कार्यक्रमको लागि १ अर्ब ११ करोड १ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७२–०७३ मा बंकरदेखि ब्यारेक कार्यक्रमको लागि १ अर्ब २२ करोड रुपैयाँ बजेट छुट्टयाइएकोमा खर्च १ अर्ब ५० करोड ७२ लाख ४४ हजार भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३–०७४ मा सरकारले जंगी अड्डालाई ब्यारेक निर्माणको लागि भन्दै १ अर्ब २४ करोड ९२ लाख ३३ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको थियो । उक्त वर्ष जंगी अड्डाले १ अर्ब २९ करोड ९० लाख रुपैयाँ खर्चेको देखिन्छ । गएको आर्थिक वर्ष (२०७४–०७५) जंगी अड्डाले १ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ बंकरदेखि ब्यारेक कार्यक्रमको नाममा खर्च गरेको छ ।