काठमाडौं । पछिल्लो दुई महिना (असोज र कात्तिक) मा नेपाली सेनाका २ सय १३ अधिकृत तथा जवानले १६ देशको भ्रमण गरेका छन् । विभिन्न तालिम तथा सेमिनारको नाममा सैनिक अधिकृत तथा जवानले गरेको आधाजति भ्रमणको खर्च विदेशी सरकार र नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने आपूर्तिकर्ता कम्पनीले गरेका छन् ।
सैनिक अधिकृत तथा जवानले पछिल्लो दुई महिनामा गरेको विदेश भ्रमणमा विदेशी सरकार तथा आपूर्तिकर्ता कम्पनीको अलावा नेपाल सरकारको पनि करिब २ करोड रुपैयाँ खर्च भएको छ ।
“सैनिक अधिकृत तथा जवानहरु विभिन्न तालिम तथा सेमिनारमा सहभागी हुन विदेश जाने अभ्यास छ । अहिले जुन संख्यामा सैनिक अधिकृत तथा जवानहरु तालिम तथा सेमिनारमा सहभागी हुन विदेश गएका छन्, त्यो कम हो,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बाह्रखरीसँग भने ।
सैनिक मुख्यालय जंगी अड्डा उच्च स्रोतका अनुसार पछिल्लो दुई महिनामा नेपाली सेनाको ७९ जनाको टोलीले १६ देशको भ्रमण गरेको छ । उक्त टोलीमा २ सय १३ जना सैनिक अधिकृत तथा जवान सहभागी भएको देखिन्छ । विदेश भ्रमण सैनिक अधिकृत तथा जवानको टोलीमध्ये २९ वटा विदेशी सरकारको खर्चमा, ७ टोली आपूर्तिकर्ता कम्पनीको खर्चमा र ४३ टोली नेपाल सरकारको खर्चमा तालिम तथा सेमिनारमा सहभागी हुन विदेश गएका थिए । यी भ्रमणमा राज्यकोषबाट १ करोड ८३ लाख ३६ हजार १ सय ६६ रुपैयाँ खर्च भएको छ ।
स्रोतका अनुसार असोज र कात्तिक महिनामा मात्र २ सय १३ सैनिक अधिकृत तथा जवानले भारत, बेलायत, अमेरिका, जापान, क्यानडा, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, चीन, जर्मनी, श्रीलंका, हङकङ, युक्रेन, पोल्याण्ड, म्यानमार र युनाईटेड अरब इमिरेट्स (युएई)को भ्रमण गरेको देखिन्छ । “यो सैन्य कूटनीतिकै एउटा पाटो हो,” सैनिक प्रवक्ता भण्डारीले भने ।
बाह्रखरीलाई प्राप्त कागजातअनुसार बंगलादेशमा तालिममा सहभागी हुन जाने एकजना सैनिक अधिकृतको खर्च करिब १८ लाख रुपैयाँ देखाइएको छ । तालिमपछि पेशागत ज्ञानमा अभिवृद्धि भएको सेनाको दाबी छ । यस्तै तालिममा पोल्याण्ड जाने एकजना सैनिक अधिकृतको खर्च करिब ७ लाख रुपैयाँ उल्लेख छ ।
सैनिक अधिकृत तथा जवानको एक टोलीले बेलायत भ्रमण गर्दाको खर्च साढे २० लाख रुपैयाँ देखाइएको छ । थाइल्याण्ड भ्रमण गरेको ५ जनाको सैनिक टोलीले खर्च करिब १७ लाख रुपैयाँ देखाएको छ । यस्तै, चीन गएको सैन्य टोलीले करिब १२ लाख रुपैयाँ, श्रीलंका गएको एक टोलीले साढे १८ लाख रुपैयाँ, पाकिस्तान गएको एक टोलीले साढे १० लाख रुपैयाँ खर्च देखाएको छ । युक्रेन गएका १० जना सैनिक अधिकृत तथा जवानको खर्च ३८ लाख रुपैयाँ देखाइएको छ ।
सरकारले आर्थिक मितव्ययिता अपनाउने भन्दै सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमणमा रोक लगाउने प्रयास गरेपनि नेपाली सेनाले यसलाई पालना नगरेको देखिन्छ । सरकारले खरिद सम्झौता गर्ने अर्को पक्षको खर्चमा विदेश भ्रमण नगर्न भनेपनि सैनिक अधिकृत तथा जवानहरु आपूर्तिकर्ता कम्पनीको खर्चमा खरिद गरिएको सामग्रीको गुणस्तर जाँच गर्न गएको पाइन्छ । बितेका दुई महिनामा सैनिक अधिकृत तथा जवान सम्मिलित ७ वटा टोली आपूर्तिकर्ता कम्पनीको खर्चमा सैन्य सामग्रीको गुणस्तर जाँच गर्न विदेश गएका थिए ।
“सम्झौता वा ठेक्कामा सञ्चालित अयोजना वा खरिद सम्झौताको पक्ष, ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै पनि सरकारी पदाधिकारीलाई वैदेशिक भ्रमणमा मनोनयन गरिने छैन,” सरकारले केही महिनाअघि ल्याएको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ मा भनिएको छ, “आयोजना वा खरिद सम्झौता बमोजिम काम सम्पन्न गर्न वा कार्यक्रम कार्यान्वयनको लागि विशेष सीप, तालिम वा विशिष्ट ज्ञान हासिल गर्न आवश्यक भएमा औचित्यताका आधारमा नेपाल सरकारको खर्चमा वैदेशिक भ्रमणमा पठाउन सकिनेछ ।”
सरकारले कर्मचारीको विदेश भ्रमणलाई पारदर्शी र अनावश्यक भ्रमण रोक्न प्रयास गरेपनि भ्रमणको संख्या भने घटेका छैनन् । निजामति कर्मचारीदेखि सैनिक अधिकृतसम्मले सरकारको नीति विपरित विदेश भ्रमणलाई निरन्तरता दिँदै आइरहेका छन् ।