काठमाडौं । आइतबार झापाको शिवसताक्षीको लालझोडामा डरलाग्दो आगलागीको घटना घट्यो ।
राति साढे दश बजे सल्किएको आगोमा परी एकाघरमा ४ जनाको निधन भयो । आगोको प्रकृति यस्तो थियो, छिमेकीले गुहारभन्दा पनि बचाउन सकेनन् । आगोले ३४ वर्षका लक्ष्मण खनाल, उनकी श्रीमती राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र काखे छोरा टिकारामलाई अँगार तुल्यायो ।
यो त सुदूरपूर्वी झापाको कुरा भयो । सोमबार राजधानीमा यस्तै डरलाग्दो प्रकृतिको आगलागीको अर्को घटना घट्यो ।
बुद्धनगर, यूएनपार्कको सम्मुखमा दिउँसो साढे तीन बजे सल्किएको आगो नियन्त्रणमा लिन डेढ घन्टा लाग्यो । अग्नि नियन्त्रकसहित डेढ सय सुरक्षाकर्मी खटिँदा पनि आगो नियन्त्रणमा लिन हम्मेहम्मे पर्यो ।
युनएनपार्क नजिकै मेलुङ गाउँपालिका–३ दोलखाका राम कार्कीको गौरशंकर फर्निचर उद्योगको गोदामगृह राखेका थिए । त्यहाँ उनले कुर्सी, फर्निचरजन्य भण्डारण गर्दै बेचबिखन गर्दैै आएका थिए ।
तर, सोमबार अकल्पनीय आपत् आइलाग्यो । कार्की सुनाउँछन्– “बाटाको धूलो पस्यो भनेर कामदारहरू सरसफाइ गर्दै थिए, म बजारतिर निस्किएको मात्रै थिएँ, घरधनीले फोन गरिहाल्नुभो– बाबु गोदाममा आगो सल्कियोजस्तो छ !”
उनी हतारिँदै आउन त आए, उनी आउनुभन्दा अगाडि नै आगोले झन्डै सात करोड बराबरको फर्निचर खरानी बनाइसकेको थियो ।
१० दमकललाई डेढ घन्टा
घना बस्तीछेउमा आगो लागेको घटना शुरूमा त छिमेकीले समेत पत्तो पाएनन् । बागमती छेउ नजिकै धुवाँ पुतपुताएले कतिपयले खाली जग्गामा फोहोर सल्काएको होला भन्ठाने । तर, गोदामभिर रहेका कामदार ‘लौ न आगलागी भयो’ भन्दै बाहिर निस्किएपछि मात्रै स्थानीयलाई थाहा भयो– फर्निचरमा आगो सल्किएछ !
युएनपार्क माथिको आकाश धुवामय भइसक्दा पुलकै छेउमा सुरक्षाकर्मी टहलिँदै थिए । बाटामा पानी बोकेको ट्याङ्कर पनि ओहोरदोहोर गरिरहेका थिए ।
तर, केहीको ध्यान दमकल बोलाउनेतिर देखियो । छिमेकीले सयमा फोन गरेर प्रहरीलाई समेत जानकारी गरायो । तर, आगलागी शुरू भएको पन्ध्र मिनेटपछि मात्रै सुरक्षाकर्मी पुगेर भीड पन्छाउन थाले ।
त्यतिबेलासम्म पनि दमकल आइपुगेको थिएन । दमकल आइपुग्दा जस्ताले छाएको भण्डारण कक्षको आकाशमा आगाको लप्का फैलिइसकेको थियो । पहिलो दमकलले खन्याएको पानी आगामा तेल हालेझैँ भयो । शुरूमा काठमाडौँ महानगरपालिकाको तीनवटा दमकल आइपुगेका थिए । तीनैवटा दमकलले आगो नियन्त्रणमा लिन सकेनन् ।
त्यसपछि ललितपुर महानगरपालिका, सेना, प्रहरीको गरी दश दमकलले धाराप्रवाह पानी हालेपछि डेढ घन्टामा आगो नियन्त्रणमा त आयो तर फर्निचरको सामग्री खरानी भयो ।
भीडको मनोविज्ञान
फर्निचर थुपारेको कक्ष धुवाँउने बित्तिकै दमकललाई खबर पुगेको थियो । ललितपुर र काठमाडौँ महानगरपालिकाबाट धेरै टाढाको दूरीमा पनि थिएन । आधा घन्टा लगाइदिँदा आगाले विशाल रूप लिइहाल्यो ।
छरछिमेक र बाटो हिँड्ने बटुवा पनि उस्तै देखिए– रमिते । सेल्फीवाला । हातहातमा मोबाइल लिएर आगो लागेको दृष्य मोबाइलमा कैद गरिरहेकालाई पन्छाएर आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे नै पर्यो ।
करोडौँको धनमाल थुपारेको कक्षमा आगो लागेपछि अताल्लिएका कामदार धमाधम प्लास्टिकका कुर्सी बाटोमा मिल्काउँदै थिए । उनीहरूलाई सघाउन स्थानीयबासी तत्पर भएनन् । सुरक्षाकर्मी आइपुगेपछिमात्रै कामदारको सास आयो ।
बस्तीको बीचमा गोदाम
फर्निचर गोदाममा सल्किएको आगाको प्रकृति डरलाग्दो भएको सुरक्षाकर्मी बताउँछन् । एकपछि अर्को दमकल प्रयोग गर्दा पनि आगो झन्भन् सल्कन थालेपछि अग्निनियन्त्रक शुरूआतमा त निकै हतास देखिएका थिए । नेपाली सेनाका अग्निनियन्त्रक त यसप्रकारको भवितव्य नदेखेको अनुभव सुनाउँदै थिए । प्रज्ज्वलनशील प्लास्टिक निर्मित फर्निचर सल्किएकाले पनि आगो निभाउन नसकिएको उनीहरू बताउँथे ।
दिउँसो भएकाले मानवीय क्षति भएन र वरपर घरमा सामान्य क्षति पनि भएन । यही घटना राति भएको भए बस्ती नै स्वाहा हुने खतरा रहने बताउँदै थिए, अग्निनियन्त्रक ।
यसको कारण हो– बस्तीको बीचमा कारखान र गोदाम । “दुवैतिर बाटाले जोडेकै ठाउँमा त डेढ घन्टा लाग्यो । यस्तै प्रकारको आगलागी बस्तीको बीचमा हुने हो भने के हुन्छ ? घटनाबाट पाठ सिक्नुपर्छ,” एक अग्निनियन्त्रकले बाह्रखरीसँग भने ।
गोदाम भण्डारण कक्ष कस्तो बनाउने भनेर कार्कीले पनि सुरक्षा सावधानी अपनाएको देखिएन । ठूला लगानीका यस्ता फर्निचर भण्डारण कक्षमा सञ्चालक स्वयम्ले आगालागीबाट बच्ने उपाय अवलम्बन गर्नुपर्छ । तर, सामान्य सचेतना समेत नअपनाउँदा कार्कीले करोडौँको क्षति बेहोर्नुपर्यो ।
कार्कीका अनुसार आगलागीको कारण त खुलेको छैन तर प्रकृति हेर्दा विद्युत् नै सर्ट भएको हुन सक्ने आगलागी नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी बताउँछन् ।
आगलागीको उच्च जोखिममा रहेका प्लास्टिक निर्मित कुर्सीहरू एकैठाउँमा थुपार्दा र वरिपरि जस्ताले बार्दा आगो नियन्त्रणमा लिन कठिन भएको अग्नि नियन्त्रकको भनाइ छ ।
अन्तिममा नेपाल प्रहरीका केही सुरा अग्निनियन्त्रकले जस्ताको बार तोडेर पानीको फोहोर हालेपछिमात्रै आगो नियन्त्रणमा आएको थियो ।
तस्बिरहरू : सरिता खड्का