काठमाडौं । सत्तारूढ एवम् पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा शीर्ष नेताहरू नै बेरोजगार देखिन थालेका छन् ।
९ सदस्यीय सचिवालय (हेडक्वाटर) को बैठकसमेत नियमित बस्न छाडेर मुख्य छलफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा मात्रै केन्द्रित हुन थालेपछि सचिवालयकै पनि अधिकांश नेता बेरोजगार देखिन थालेका हुन् । त्यसभन्दा तल्लो तहको बैठक नै बस्न सकेको छैन ।
ने क पाका चौथो वरियताका नेता झलनाथ खनालले पार्टीको बैठक नै बस्न छाडेको र छलफलबाट टाढिँदै गएकाले नेताहरू जिम्मेवारीविहीन बन्न थालेको प्रतिक्रिया दिन्छन् । “एक महिना भयो, सचिवालयको बैठक नै बस्न सकेको छैन । बैठक बसेर जिम्मेवारी बाँडफाँट गरेको भए पो नेताहरूले रोजगारी पाउनु,” उनको तर्क छ ।
उनले यो अन्यौलता छिट्टै हट्ने विश्वास गरे । “मंसिर ६ गते सचिवालयको बैठक बोलाइएको छ, त्यसपछि पार्टीले गति लिन्छ, नेताहरूले पनि भूमिका पाउँछन्,” उनको भनाइ छ ।
कुन–कुन नेता भूमिकाविहीन् ?
एकीकरणपूर्व एमालेमा २७ सदस्यीय स्थायी कमिटी थियो र सबैको परिभाषित् जिम्मेवारी । तर, एकताले अधिकांश नेताहरूलाई भूमिकाविहीन तुल्याइदिएको छ । पूर्वमाओवादीको अवस्था पनि उस्तै छ । एकतापूर्व माओवादी केन्द्रको ४० सदस्यीय सचिवालय थियो । तीमध्ये अधिकांश नेता ‘बेरोजगार’ छन् ।
माधव नेपाल
एकीकरणपूर्व नेता माधव नेपाल पार्टीको वैदेशिक मामिला विभाग प्रमुख थिए । एकीकरणसँगै उनको भूमिका ओझेल परेको छ । १४ वर्ष पार्टी प्रमुख र २१ महिना मुलुकको प्रधानमन्त्री पद सम्हालेका नेता नेपाल पार्टी एकतायता प्रायः बेरोजगार छन् ।
एकता प्रक्रियाअन्तर्गत पार्टीको विभाग र केन्द्रीय निकाय गठन नहुँदा नेताहरूले उपयुक्त भूमिका पाउन नसकेको खनालको दाबी छ ।
झलनाथ खनाल
दुईठूला कम्युनिस्ट पार्टीको एकता नेता–कार्यकर्ताका लागि फलिफाप भयो । तर, झलनाथ खनाललाई अफाप । खनाल उपचारको सिलसिलामा चीनमा थिए, यता पार्टी एकता भयो । उनी वरीयता घटुवामा परे । नवौं महाधिवेशनले निर्वाचित गरेको उनी वरिष्ठ नेता थिए तर एकता हुँदा उनी चौथो वरीयतामा पुगे ।
एकतापश्चात उनको वरीयता मिचिएको मात्रै छैन । भूमिकाविहीनसमेत भएका छन् ।
“नेताहरूको कार्यव्यस्ताले सचिवालय, स्थायी कमिटीको बैठक बस्न सकेको छैन, बैठक नहुँदा सरकार, पार्टीको कामको समीक्षा पनि हुन सकेको छैन, नेताहरू पनि भूमिकाविहीन् छन्,” उनको भनाइ छ ।
वामदेव गौतम
तत्कालीन एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम ने क पा गठनपछि पूर्णतया बेरोजगार छन् । आफूलाई ‘एकताको सूत्राधार’ बताउँदै आए पनि एकता पछि पार्टीले कुनै परिभाषित जिम्मेवारी नदिँदा सचिवालय तहका नेतामात्रै भएका छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको चुनाव हारेपछि संसद जाने बाटो थुनिएका नेता गौतमले यसबीचमा सांसद बन्ने बाटो पनि खोजिएका थिए । तर, पार्टीले अनुमति नदिएपछि उनी अहिले भूमिकाको खोजीमा छन् ।
त्यसो त सरकार गठनलगत्तै विकास र सुशासन सम्बन्धि सुझाव दिन गौतमकै संयोजकत्वमा सात सदस्यीय सुझाव कार्यदल गठन गरिएको थियो । त्यतिबेला उनले विकास प्राधिकरण गठनको प्रस्ताव तयार पारेर आफैँले जिम्मेवारी लिने अमूर्त इच्छा पनि देखाएका थिए । ठूला विकास आयोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारले तयारी गरेपछि गौतम अहिले पार्टीभित्र उपयुक्त भूमिकाको खोजीमा छन् ।
युवराज ज्ञवाली
ने क पाका संगठक र विचार दुवै हुन् स्थायी कमिटी सदस्य, युवराज ज्ञवाली । पार्टी एकतापूर्व उनी एमालेका उपाध्यक्ष थिए र ६ नम्बर (हालको कर्णाली) प्रदेश प्रमुख पनि । तर, एकताले उनको पद र भूमिका दुवै ओझेल पारिदियो । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य त परै जाओस्, राष्ट्रियसभाको समेत टिकट पाएन् ।
अहिले सो प्रदेशको इन्चार्ज जनार्दन शर्मालाई दिइएको छ भने ज्ञवाली बेरोजगार बनेका छन् ।
नारायणकाजी श्रेष्ठ
एकतासँगै भूमिकाविहीन हुने अर्का हेभिवेट हुन्– नारायणकाजी श्रेष्ठ । पदीय जिम्मेवारीका हिसाबले उनी पार्टी प्रवक्ता त हुन् । तथापि ‘बैठकका सूचना दिनेबाहेक अन्य भूमिका नभएको’ भन्दै पदप्रति सन्तुष्ट हुन सकेका छैनन् । पार्टीभित्र महासचिव पद हावी भएकाले आफू ‘निर्णय सुनाउने’ पात्रका रूपमा मात्रै उभिनुपरेको गुनासो गर्न थालेको उनी निकट नेताहरू बताउँछन् ।
अग्नि सापकोटा
ने क पाभित्रका उदीयमान नेता हुन्– अग्नि सापकोटा । ०५१ सालदेखि नै नेकपा माओवादीको सदस्यहुँदै राजनीतिमा होमिएका नेता सापकोटाको पनि पार्टी एकतासँगै ओझेल परेका छन् र पार्टीका मञ्चमा बिरलै देखा पर्छन् । एकतापूर्व पार्टी सचिवालय रहेका नेता ने क पाको वर्तमान कार्यसमितमा स्थायी कमिटीमा त छन् तर परिभाषित जिम्मेवारी नहुँदा एकताले उनलाई छायामा पारिदिएको छ ।
घनश्याम भुसाल
ने क पाका प्रभावशाली विचारक चिन्तक हुन्– घनश्याम भुसाल । माक्र्सवादका अध्येतामात्रै नभइ व्याख्यातासमेत मानिन्छ उनलाई । सँगै उपमहासचिव निर्वाचित भएका विष्णु पौडेललाई पार्टी एकताले महासचिव पद प्रदान गर्दा उनी ‘भूमिकाविहीन’ बन्न पुगेका छन् ।
स्थायी कमिटी सदस्य छन् तर चार महिनादेखि बैठक नै नबस्दा र जिम्मेवारी बाँडफाँट नहुँदा नेतृत्वको अपनत्व महसुस गर्न पाएका छैनन् ।
पम्फा भुसाल
माओवादी आन्दोलनको प्रवाहबाट अलग्गिएर पुनः मूल शिरामै समाहित भएकी पम्फा भुसाल ने क पाभित्रकी प्रभावशाल नेतृ हुन् । पार्टी एकतापूर्व उनी माओवादी केन्द्रकी प्रवक्ता थिइन् । तर, एकताप्रक्रियाभित्र उनको प्रवक्ता पदमात्रै विलुप्त भएन, भूमिका पनि ओझेल पर्यो । ने क पाकी स्थायी कमिटी सदस्य रहेकी भुसाल पनि उपयुक्त जिम्मेवारीको खोजीमै रहेको बताउँछिन् ।