काठमाडौं । २०७४ मंसिर ३ गतेको धूमिल बिहान । तत्कालीन नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष एवम् वाम गठबन्धनका उमेदवार केपी शर्मा ओलीको चुनावी क्षेत्रमा थिए, सुदूरपूर्वी झापाको बिर्तामोडमा ।
उज्यालो खस्नु अगावै दाहालको कानमा खबर पर्यो– साकार दाहाल (प्रकाश) रहेनन् !
यो खबर दाहालका लागि जति आश्चर्यजन थियो, सर्वसाधारणका लागि उत्तिनै ‘सकिङ’ ! केही दिनअघि मात्रै पार्टी अध्यक्ष एवम् आफ्ना बाबुको चुनावी क्षेत्रमा प्रचार–प्रसारका कार्यक्रममा सरिक भएर काठमाडौं फर्किका प्रकाशले छिट्टै महाप्रस्थानको बाटो समात्लान् भनेर कसले पत्याउनू !
प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्षको आजैको दिन सम्झिए, “म दमकमा थिएँ, उहाँ (पुष्पकमल दाहाल) बिर्तामोडमा हुनुहुन्थ्यो । एकाबिहानै उहाँले फोन गरेर छोरा प्रकाश नरहेको कुरा बताउनुभयो । शुरूमा त पत्याउनै मन लागेन । तर, नपत्याइ सुखै थिएन । किनभने प्रकाश दिवंगत भइसकेका थिए ।”
दाहाल परिवार पुत्र–शोकबाट गुज्रिएको सोमबार एक वर्ष पूगेको छ । मलमासले तिथि पर धकेलिए पनि सोमबारै परिवारले प्रकाशको स्मृति सभा आयोजना गर्यो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू, मन्त्री, सांसद् र देशका लब्धप्रतिष्ठित व्यक्तिहरू परिवारको अवर्णनीय शोकको साक्षी बन्न दाहाल निवास पुगे । प्रकाशको सम्झनामा शिर झुकाए । फूलैफूलले झकिझकाउ तस्बिरमा श्रद्धाको अर्को फूल चढाए ।
छोराको निधनको एकवर्ष बित्दा पनि आमा सीता दाहालको आँखा ओभाएका छैनन् । शरीर दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।
दुई छोरी (रेणु र गंगा)को सहारामा जेनतेन मञ्चमा आइपुग्न सकेकी सीताको हृदय–विदारक अवस्थाले जो–कसैको मन भक्कानिन्थ्यो । विक्षिप्त बन्थ्यो ।
पुत्र शोक संसारकै असाधारण र अकल्पनीय शोक हो । उत्तिकै पीडादायी पनि । यो पीडाबाट पार पाउन दाहाल परिवारलाई निकै सकस परिरहेको छ । तीन वर्षअघि जेठी छोरी ज्ञानुलाई क्यान्सरले निलेको चोट खाटा नबस्दै लागेको पुत्रवियोगको घाउ कुन औषधिले निको पार्ने ? अन्यौलमा छ दाहाल परिवार ।
प्रकाशको निधन हुँदा परिवार लाजिम्पाट बस्थ्यो । अहिले सरेर खुमलटार पुगेका छन् । घर सर्दैमा पीडा कहाँ पर जान्छ र ! साथै लागेर खुमलटार पुगेको छ ।
दाहाल पाषणझैं कठोर दिल पारेर पीडा सहन कोशिस गरिरहेका छन् । तर, आमा सीता सकिरहेकी छैनन् । छोराको शोकले निकै गाँजेको छ उनलाई । शरीरमा रोग–उपरोगको चाङ लागेको छ ।
पीडाकै बीचमा दाहालले उनलाई उपचारका लागि सिंगापुर पुर्याए । केहीदिनअघिको मात्रै पनि म्याग्दी, सिंगाको तातोपानी कुण्डमा लगे । तथापि शोक सन्तप्त शरीरले अझै तरान पाएको छैन । ३६ वर्षे छोरो अल्पायुमै गुमाउनुपर्दाको पीडा उनका आँखाबाट अविश्रान्त बगिरहेकै छन् ।
० ० ०
दाहाललाई नजिकबाट चिन्नेजान्नेहरू भन्छन्– उनको सहनशीलता अवर्णनीय छ । धीरता उच्चकोटीको छ ।
जवान छोरालाई दागबत्ती दिएर आर्यघाटमा उपस्थित शुभेच्छुकलाई दुवै हात हावामा फैलाएर अभिभादन गर्दा सबको हृदय आँसुमय भएथ्यो । तर, शोकको एक वर्षसम्म पनि दाहालको मन सम्हालिन सकेको छैन । छोराकै बरखीको बीचमा पार्टी एकीकरण भए पनि अनुहारको शोकको तुवाँलो अझै फाट्न सकेको छैन ।
“नेपालीहरूको माया, सद्भाव र प्रेरणा नभइदिएको भए, हाम्रो परिवार विघटन भइसक्थ्यो !,” सोमबारको स्मृतिसभामा दाहाल निकै भावुक बने ।
पार्टी, नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकमात्रै होइन सिंगो मुलुककै अपूर्व साथ–सहयोग नपाएको भए परिवारमा अर्को दुर्घटना निम्तन्थ्यो भन्दै मन्तव्यकै बीचमा स्तब्ध, निःशब्द भए दाहाल ।
‘शोकहरू अप्रत्यासित ढंगले आउँछन्’
दसैँलगत्तै बिरामी परेर तंग्रिएपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा खासै निस्किएका छैनन् । सिंहदरबारको नियमित काम समेत बालुवाटारबाटै गरिरहेका छन् । सोमबार केही ढिलागरी खुमलटार पुगेका प्रधानमन्त्री ओली पनि निकै गम्भीर देखिए ।
एकवर्ष दाहाल मनोदशाको साक्षी बसेका प्रधानमन्त्री ओलीले दाहालले धीरताका साथ शोकलाई पार लगाएको अनुभूत गरे ।
“संसारको नियम यस्तै छ, दिवंगत हुनैपर्छ,” प्रधानमन्त्री एकाधबेर भावुक पनि भए, “उमेर, अपेक्षा बाँकी हुँदाहुँदै असमयमै निधन हुँदा त्यसले ठूलो नोक्सानी निम्त्याउँछ । तर दाहालले असाधारण ढंगले सामना गर्नुभयो ।”
उनले चुनावको बीचमा प्रकाशको निधन भए पनि आँसुलाई तागतमा रूपान्तरण गर्दै चुनावमा जित हासिल गरिएको बताए ।
“जीवनमा शोकहरू अप्रत्यासित ढंगले आउँछन्, टार्न नसकिने ढंगले आउँछन्, सहनुबाहेक हामीसँग अरू विकल्प छैन,” शोक सन्तप्त परिवारजनप्रति उनको समवेदना थियो ।