काठमाडौं । “एमाले पार्टी नभएर गुटहरूको महासंघ बन्न पुगेको छ !” वर्षौंअघि कुनै सन्दर्भमा नेकपा एमालेका तत्कालीन नेता घनश्याम भुसालले उठाएको प्रसंग ने क पाभित्र अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
गत जेठ ३ गते एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता प्रक्रियामा पूर्णविराम लागेको छैन । केन्द्रमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्यको टुंगो लागेको छ । तर, पोलिट्व्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन । त्यस्तै विभाग र केन्द्रीय निकायमा रहने पदाधिकारीको पनि टुंगो लाग्न बाँकी छ । यसबारेमा टुंगो लगाउन रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेललाई जिम्मा दिएको छ, सचिवालयले ।
प्रदेशको हकमा पनि त्यस्तै छ । २८ पदाधिकारीको टुंगो लागेको छ तर प्रदेश सदस्यहरू मनोनीत भएका छैनन् । जिल्ला र स्थानीय तहका कमिटी कहिले बन्ने हुन्, अनिश्चित छ ।
एकताको अध्याय नै पूरा हुन नसकेको ने क पाभित्र आन्तरिक ध्रुवीकरण भने तीव्रतर रूपमा हुन थालेको छ ।
एमाले र माओवादी केन्द्र एकता भएर ने क पा बन्दा पनि त्यहाँभित्रका गुटहरू खजमजिएनन् । र, घनश्याम भुसालले भनेझैँ ने क पा रूपमा विशाल कम्युनिस्ट पार्टी बन्यो तर यथार्थमा गुटहरूको महासंघ ।
ने क पाभित्र अहिले पनि झन्डै आधा दर्जन गुट सक्रिय छन् ।
ने क पाको अन्तरिम विधानअनुसार ०७७ जेठ ३ भित्र एकताको महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । तर, महाधिवेशन आउन डेढ वर्ष बाँकी हुँदै ने क पाभित्र तीव्र ध्रुवीकरण शुरू भएको छ ।
ने क पाका चौथो वरीयताका नेता झलनाथ खनाल पार्टीको एकता प्रक्रियामा घुन–पुत्ली लाग्न थालिसकेको र त्यसले पार्टीलाई दिनप्रतिदिन खोक्र्याएर धूलोपीठो बनाउने तर्क गर्छन् । उनी त अझ अघि बढेर गुटबन्दी पार्टी विभाजनको भ्रूण भएको टिप्पणी गर्छन् ।
पार्टी नेतृत्व कमजोर भयो भने त्यस्ता गुट सलबलाउने र पार्टीलाई क्षयीकरणको दिशामा धकेल्ने हुनाले बेलैमा ‘घाँटी निमोठ्नु’पर्ने तर्क गर्छन् खनाल ।
तर, झलनाथले जतिसुकै गुटबन्दीको कटू आलोचना गरे पनि पार्टी गुटबन्दीको दलदलबाट उम्कने छाँट देखिँदैन । र, झलनाथ स्वयम् पनि गुटबन्दीबाट अछुतो रहन सकेका छैनन् ।
गुटमय पूर्वएमाले
०६५ फागुन ५–१० मा सम्पन्न बुटवल महाधिवेशनबाट एमालेले आन्तरिक लोकतन्त्रको सूत्रपात गरेको हो । नेतृत्व चुन्न प्रतिनिधिहरूको बीचमा खुलमखुला बाकस थाप्यो ।
आठौँ महाधिवेशनले एमालेको आन्तरिक जीवलाई लोकत्रान्तिककरणमात्र गरेन, गुटहरूलाई बैधानिकता दियो । कम्युनिस्टहरूले अंगीकार गर्दै आएको ‘दुईलाइन सङ्घर्ष’लाई नेतृत्व हत्याउने कसीका रूपमासमेत विश्लेषण गरिदियो ।
नवौँ महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र नीति, सिद्धान्तभन्दा पनि गुटगत विचार र त्यसमा आधारित क्रियाकलापले नै वैधानिकता पायो । र, परिणामस्वरूप पार्टीमा नयाँ गुट–उपगुटले मुन्टो उठाउने केही नेता–कार्यकर्ता किनाराकृत हुने अवस्था पनि सिर्जना भयो ।
माओवादी केन्द्रसँग एकता हुनुपूर्व एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको गुट शक्तिशाली थिए । ०७० को दोस्रो संविधान निर्वाचनपछि एमालेभित्र झलनाथ खनाल र माधव नेपालको गुटबीच ध्रुवीकरण भयो ।
संसदीय दलको नेता चयन गर्ने पूर्वसन्ध्यामा भएको कार्यगत एकता ०७१ साउन १ मा सम्पन्न नवौँ महाधिवेशन आइपुग्दा निकै झाँगियो ।
तिनताक नेपाल गुटमा झलनाथ खनालका अतिरिक्त भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, लालबाबु पण्डित, अमृत बोहोरा, बेदुराम भुसाललगायत नेता थिए ।
त्यस्तै ओली समूहमा ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, सुवास नेम्वाङ, भानुभक्त ढकाल, विष्णु रिमाललगायत नेता थिए ।
तर, ०७५ जेठ ३ सम्म आइपुग्दा कित्ताकाट हुने अवस्था आयो । अहिले एकताले थमाएको चौथो वरीयता स्वीकार्न झलनाथ खनाल तयार छैनन् । नवौँ महाधिवेशनले व्यवस्था परेको वरिष्ठ नेता आफूमात्रै भएको दाबी गर्दै माधव नेपाललाई आफ्नो पिठ्युँ चढाएर वरिष्ठ नेता बनाइएको बताउँदै पार्टीमा फरक मत राखेका छन् खनालले ।
तर, सचिवालयमा उनको पक्षमा बोलिदिने नेता नभएकाले उनले माग पूरा गराउन सकेका छैनन् । स्थायी कमिटीमा पनि आफ्नो कुरा राख्ने उनको तयारी छ ।
नवौँ महाधिवेशनमा केपी ओलीलाई पार्टी अध्यक्ष बनाउन काँध हाल्ने नेता हुन्– वामदेव गौतम । आठौँ महाधिवेशनमा झलनाथलाई सघाए भने नवौँमा ‘क्याम्प’ फेरे ।
आठौँ महाधिवेशन अगाडि उनकै ‘पूर्वमाले क्याम्प’ थियो । नवौँमा आइपुग्दा छिन्नभिन्न भयो ।
नवौँमा किरण गुरूङ, रवीन्द्र अधिकारी, दलबहादुर राना, हरि पराजुलीलगायत केही नेताले मात्रै उनलाई साथ दिने अवस्था बन्यो । घनश्याम भुसाल, योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायत युवा नेताले साथ छाडे ।
पार्टी अध्यक्ष बनाउन दर्बिलो साथ दिएका गौतम अहिले ओलीलाई साथ छाड्ने निष्कर्षमा पुगेका छन् । र, नयाँ ध्रुवीकरणको तयारीमा छन् ।
ओलीसँग गौतमको असन्तुष्टि बर्दियामा चुनाव हारेयता हो । पार्टी अध्यक्ष ओलीले नै ‘कान फुकेकाले’ आफू पराजित भएको र त्यसमा ईश्वर पोखरेललेसम्म साथ दिएको उनको आरोप छ ।
त्यसो त अध्यक्ष ओलीसँग ईश्वर पोखरेलसमेतको असन्तुष्टि छ । मन्त्रिमण्डल गठन हुँदा अर्थमन्त्री बन्ने इच्छा व्यक्त गरेका पोखरेलले रक्षामन्त्रीको शपथ खानुप¥यो ।
सबैलाई फलिफाप बनेको एकता प्रक्रिया पोखरेलका लागि अफापसिद्ध भयो र हुँदाखाँदाको महासचिव पद विष्णु पौडेलका भागमा प¥यो ।
त्यसर्थ पनि उनी अध्यक्ष ओलीसँग सन्तुष्ट छैनन् । नवौं महाधिवेशनमा जस्तो ‘क्याम्प’ फेर्ने अथवा अर्को गुटको नेतृत्व गर्ने तहमा उनी नभएको ने क पाका नेता बताउँछन् ।
पूर्वमाओवादी केन्द्रमा पनि त्यस्तै
पूर्वमाओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली गुट चलाउँदै आएका छन् । ०४५ सालमा सेक्टर काण्डपछि पार्टी नेतृत्वमा उदाएका प्रचण्ड त्यसयता लगातार नेतृत्वमा छन् । र, उत्तिकै गुट पनि चलाएका छन् ।
उनको गुटमा वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत, अग्नि सापकोटालगायत नेता छन् । र, ने क पा गठन हुँदासम्म त्यसमा फेरबदल आएको छैन ।
पूर्वमाओवादी केन्द्रमा प्रचण्डपछिको शक्तिशाली गुट रामबहादुर थापा ‘बादल’को छ । मोहन वैद्य नेतृत्वका माओवादीबाट पुनः माओवादीमै जोडिएको यो समूहको नेतृत्व बादलले गरेका छन् । र, उनलाई साथ दिएका छन्– पम्फा भुसाल र देव गुरूङले ।
त्यसबाहेक शान्ति प्रक्रियामा आएलगत्तै माओवादीमा मिसिएको अर्को समूह पनि छ । त्यसको नेतृत्व नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गरिरहेका छन् भने उनलाई साथ दिने गिरिराजमणि पोखरेल, विश्वनाथ साह, लिलामणि पोख्रेल, शशी श्रेष्ठ, अञ्जना विसंखेलगाायत नेता छन् ।
ध्रुवीकरणको तयारी
पार्टी एकतालाई आधारभूत तहमा पुर्याउन निकै कठिनाइ झेलिरहेको ने क पाभित्र आन्तरिक ध्रुवीकरण तीव्र भएको छ ।
विशेषतः गएको ५ असोजमा प्रदेश इन्जार्च, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेपछि र त्यसमा प्रचण्डले अध्यक्ष ओलीलाई साथ दिएपछि नयाँ गुटको बीजारोपण भएको चर्चा ने क पाभित्रै हुन थालेको छ ।
त्यस निर्णयप्रति असहमति जनाउँदै नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ नै लेखे ।
५ असोजकै निर्णयप्रति पार्टीका अर्का नेता झलनाथ खनालको पनि असहमति पनि थियो । तर, उनले ‘नोट अफ डिसेन्ट’को कुनै उपादेयता देखेनन् ।
“५ असोजको निर्णयले पार्टीभित्र नयाँ गुट जन्माएको छ,” एक स्थायी कमिटी सदस्यले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा बताए ।
‘नोट अफ डिसेन्ट’ नेताद्वय नेपाल र श्रेष्ठले स्थायी कमिटीमा प्रस्तुत गर्नुपर्ने बताइरहँदा खनालले त्यसप्रति पनि कुनै विधि नभएको र स्थायी कमिटीमा लैजान समझदारीसमेत नभएको बताउँदै आएका छन् ।
कता जालान् वामदेव ?
०५९ सालमा एकता हुँदा पार्टी महासचिव (प्रमुख) नेता नेपालको पक्षमा थिए वामदेव गौतम । आगामी महाधिवेशनमा सघाउलान् भन्ने नेपालको अपेक्षा थियो । तर, गौतम झलनाथको इष्ट बने र ०६५ को महाधिवेशनमा उनैलाई सघाए ।
०७१ मा पुनः ‘क्याम्प’ फेरेर झलनाथको कित्तामा उभिएकाले नेपालको पार्टी अध्यक्ष बन्ने लालसा ४४ मतले पछि पर्यो ।
पार्टी एकतापछि भने कुन कित्तामा उभिन्छन् वामदेव भन्ने प्रश्न झनै पेचिलो बनेको छ ।
७० वर्षे उमेरहद पाखा लगाइसकेकाले नेतृत्वमा आउने बाटो खुलै छ उनको ।
बर्दियामा चुनाव हारेपछि उपनिर्वाचन गरेर भए पनि संसद्मा आउन खोजेका थिए उनी । काठमाडौँ–७ का रामवीर मानन्धरलाई मनाएर राजीनामा दिन ठिक्क पनि पारेका थिए । तर, दसैँ खल्लो हुनेगरी उनी निर्णयबाट पछि हट्नुपर्यो ।
त्यसको ‘प्रतिशोध’ साँध्न पनि उनी अध्यक्ष ओलीको ‘क्याम्प’मा रहने छैनन् ।
त्यसैले वामदेव अब प्रचण्ड क्याम्पमा जान्छन् भन्ने चर्चा पनि राजनीतिक वृत्तमा हुन थालेको छ । र, दुवैलाई साथ दिन आइपुग्नेछन्– पार्टीका चौथो वरीयताका नेता झलनाथ खनाल ।
वरीयताबारे बाक्लो विवाद र अध्यक्ष ओलीसँग असन्तुष्टिका कारण ओली, नेपाल दुवैको क्याम्पमा खनाल जाने सम्भावना छैन ।
खनालको पक्षमा सचिवालयमा मात्रै होइन, ४५ सदस्यीय स्थायी कमिटीमै एकजना पनि खुलेका छैनन् । आफैं गुटको नेतृत्व गर्ने हैसियत समाप्तप्रायः भएकाले प्रचण्ड–गौतमको साथ लाग्नु खनालको बाध्यताजस्तै भएको ने क पाका नेताहरू बताउँछन् ।