काठमाडौं । रेखा पौडेलको दुई गोलको मद्दतमा नेपालले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो चरणको आशा जिवितै राख्न गर या मरको अवस्थामा मैदान उत्रिएको नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरिन् । खेलको ५९ औँ मिनेटमा अफ साइड ट्रयापलार्इ विट गर्दै रेखाले गोल गरेकी थिइन् । एकपछि अर्को गर्दै अवसर खेर फालेकी रेखाले ५९ औं मिनेटमा टोलीलाई दिलाएको अग्रता ८८ औं मिनेटमा दोब्बर बनाइन् । भारतीय गोलरक्षक अगाडि आएको फाइदा उठाउँदै रेखाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
एकै महिनामा दुइपल्ट भारतविरुद्ध भिडेको नेपालले बाजी मारेको छ । यसअघि भुटानमा सम्पन्न यु–१८ साफ च्याम्पियनसिपमा पनि नेपालले भारतको यही टोलीलाई पराजित गरेको थियो । जितसँगै नेपालले दोस्रो चरणको सम्भावना कायम राखेको छ । नेपालले अब समूहका सबै खेलमा जित निकाल्नुपर्नेछ ।
पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० को हार बेहोरेको थियो भने भारतले पाकिस्तानलाई १८–० ले हराएको थियो ।
नेपालले समूहको अन्तिम खेल आइतबार पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिप छनोटमा ६ समूहका बिजेता र उपबिजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । दोस्रो चरणको छनोट खेल आगामी अप्रिलमा हुनेछ ।