काठमाडौं । नेपालमा होटल व्यवसायको क्षेत्रमा ५ लाख जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो तथ्यांक होटल संघ नेपालमा दर्ता भएका होटलमा रोजगार पाएकाहरुको मात्र हो । एक जना व्यक्तिमा ५ जनाको परिवार आश्रित हुने हो भने २५ लाख व्यक्ति दैनिक जिविको पार्जनका लागि होटलमा आश्रित छन् । यो बाहेकसाना होटलमा पनि रोजगारी गर्नेको संख्या पनि उल्लेख्य छ ।
होटलमा रोजगारी पाउनेमा ३० प्रतिशत महिला छन् । होटल महिलाले रोजगारी पाउने कम्पनीमा विश्वमै अग्रणी स्थानमा मानिन्छ ।
होटल संघ नेपालमा १ हजार १५० होटल दर्ता भएका छन् । हानमा प्रत्यक्ष ३२७ छन् र देशभर रहेका १२ शाखामा ८२३ गरी १ हजार १५० होटल हानमा दर्ता भएका छन् ।
“जति होटल थपिँदै गयो त्यति नै रोजगारी पनि बढ्दै जाने हो,” होटल संघ नेपाल (हान) का महासचिव तथा प्रवक्ता विनायक शाह भन्छन्, “पर्यटकको आगमन र आन्तरिक पर्यटनको संस्कृति बढेसँगै रोजगारी पनि त्यही अनुपातमा बढ्दै जान्छ ।”
विश्व व्यापार संगठनका अनुसार एक जना पर्यटक आउँदाहोटल, सवारी, पथप्रदर्शक लगायत औषतमा ११ जनाले रोजगारी पाउँछन् ।
हानमा आबद्ध भएका होटलमा अहिले ३८ हजार बेड क्षमता छ । यी बेडमा करिव ८० प्रतिशत भने काठमाडौंमा, १८ प्रतिशत पोखरा र ५ प्रतिशत चितवनमा रहेको प्रवक्ता शाह बताउँछन् ।
अहिले औषतमा ३८ हजारको ५५ प्रतिशत ‘अकुपेन्सी’ छ । प्रवक्ता शाक्यका अनुसार पर्यटनको ४५ प्रतिशत भने आन्तरिक पर्यटनले धान्दै आएको छ ।
“सन् २०२० सम्म नेपालमा वार्षिक १८ लाख वार्षिक पर्यटक धान्ने हामीसँग होटल तयार हुँदैछन् । हामीले उक्त अवधीमा ल्याउने योजना छ,” प्रवक्ता शाक्यले भने, “यदी हामीले टार्गेट मिट गर्न सकेनौं भने हाम्रो लगानी खेर जान्छ । तर, इच्छा शक्ति हुने हो भने यो महत्वाकांक्षी योजना भने हैन ।”
प्रकृतिले दिएको सम्पदालाई प्रचारप्रसार गर्नसके मात्रै पनि नेपालमा पर्यटन प्रबद्र्धन गर्न सकिने उनको भनाइ छ ।
उनी भन्छन्, “तीन दशकपछि नेपालमा इन्टरपोलको बैठक भइरहेको छ, भीआएपी आएका छन्, एयरपोर्टबाट सोल्टी पुग्न कम्तिमा २ घण्टा लाग्छ, बाटो खनेर बिगारिएको छ, तर पाइप पुरेपछि महिनौ बितेपनि सडक बनाइएको छैन । यस्तो नेपाल देखेर आएकाहरुले कस्तो सन्देश लैजान्छन् । र व्यापार प्रर्वद्धन हुन्छ ?”
“हामीले गर्न सक्ने धेरै ठाउँछन् । सरकार र निजी क्षेत्र दुवै मिलेर गर्ने हो भने छोटो समयमा नेपालको ठूलो संख्यामा पर्यटक बढाउन सकिन्छ,” हानका निर्देशक प्रवेश अर्याल भन्छन्,” हाम्रो मार्केटिङ जहाँ कम छ त्यहाँ गरे पुग्छ । यसका लागि सरकारले समन्वयकर्ताको भूमिका खेलिदिएमात्र पुग्छ ।”
उनले ल्याटिन अमेरिकी मुलुकमा नेपाली पर्यटनको मार्केटिङ गर्नुपर्ने आवश्यकता औंल्याए । अहिलेसम्म होटलहरुले आफ्नै तरिकाले प्रचारप्रसार गरिरहेको भन्दै उनले भने, “सबै सरकारले गरिदिनुपर्छ भन्ने होइन तर सरकारले राज्यकातर्फबाट समन्वयकारी भूमिका खेलिदियो भने निजी क्षेत्रलाई पहुँच र प्रवद्र्धनका हिसावले सहज हुन्छ ।”