अफिसको काममा घोत्लिएको थिएँ, फेसबुक मेसेन्जरमा पुलुक्क मेसेज आयो । एकजना पत्रकार साथीको फोटो गोलो घेरामा देखियो ।
'गायकको अन्तर्वार्ता आयो' सँगै लिंक पनि आएको रहेछ ।
सरसर्ती पढेँ । साथीले गरेको संघर्षको कथा रहेछ । विगत ६ वर्षदेखि उसले पाएको हन्डर, सफलता र असफलताको कथा समेटेर अन्तर्वार्ता बुनिएको रहेछ ।
"हाम्रो कहिले त ?" मैले जिस्किएर सोधेँ ।
"१२-१५ वर्षपछि भनेस्," उसले पनि जिस्किएरै जवाफ दियो ।
ऐय्या ! मर्ममै लाग्यो । ६ वर्षअघि गायन यात्रा सुरू गरेको गायकको अन्तर्वार्ता छापेर उसले मलाई देखाउन भ्यायो तर ६ वर्षकै लेखनयात्रा भएको मलाई चाहिँ किन अझै अन्तर्वार्ताका लागि लायक ठानेन उसले ? कारण त खोतल्नै पर्यो ।
आफ्ना पुराना दिन याद आए । संघर्ष भन्ने कि यात्रा भन्ने, दुःख त लेखनमा पनि हुन्छ । रहरमा लेख्दै जाँदा लेखक भनेर पहिचान बनाउन र स्थापित हुन दुःख त्यत्तिकै हुन्छ । कति साहित्यिक कार्यक्रममा सहभागी भइयो, कति आयोजना गरियो । कार्यक्रमका लागि अर्थ संकलन गर्न चहारेका दिन अझै ताजा छन् । साहित्यिक अग्रजहरूसँग सिक्न, भेट्नका लागि अरु काम पन्छाएर समय जुटाइन्थ्यो । एकछिन पनि संगत गर्न पाउँदा फुरुंग परियो । कतिलाई झेलियो, कतिसँग रमाइयो । सुखमै रमाइयो, दुःखको लेखाजोखा राखिएन ।
आफ्नो संघर्षको कुरा सम्झिसकेपछि लाग्यो– ती गायकको संघर्ष मेरोभन्दा बढी भएकै कारण अन्तर्वार्ताका लायक ठहरिए । उनले ६ वर्षमा गरेको दुःख मैले थप १० वर्षमा गर्ने दुःखभन्दा बढी नै हुने रहेछ ।
तर, कसले सोच्दो हो ! गीत लेख्नुको पनि आफ्नै संघर्ष छ । एउटा गीत लेख्न हफ्तौं दिमाग खेलाउनुपर्छ । बल्लतल्ल चट्ट मिलाएर लेखेको गीत संगीतकार/गायकको 'भएन' भन्ने एक वचनले भुइँमा बजारिन्छ । संगीत गर्ने, गाउनेलाई लाग्दो हो– संगीत सिर्जना गर्नु, गाउनु सीप हो, जुन जन्मजात आउँदैन, सिक्नुपर्छ, अभ्यास गर्नुपर्छ, समय दिनुपर्छ । जाबो लेख्ने के हो र ? भावना त जसको नि छ, यसो शब्दमा ढाले पुगिहाल्यो केरे । भावना कसको छैन होला है ?
भावना संगीतमा बग्छ, स्वरमा मीठो सुनिन्छ । अरूको मन छुने गरी शब्दमा ढाल्न पनि उस्तै सीप चाहिन्छ, अभ्यास र लगन चाहिन्छ ।
एउटा गीतलार्इ मानव शरीरसँग तुलना गर्न सकिन्छ । गीतको शब्द भनेको आत्मा हो, संगीत भनेको शरीर र स्वर भनेको छाला, अनुहार हो । एउटा भावना अभिव्यक्त हुन आत्मा, शरीर र छालाको उचित संयोजन हुनुपर्छ । तर, हाम्रो विडम्बना के छ भने यहाँ छालामात्र याद हुन्छ, किनकि त्यो देखिन्छ र याद हुन्छ । लेखक भनेका पर्दापछाडिका यस्ता सिर्जनाकार रहेछन्, जसको योगदान स्रोता-दर्शकले बुझ्छन् तर योगदानबापत उचित पहिचान दिन्नन् ।
'केही मीठो बात गर' नारायणगोपालको गीत कि नारायणगोपालले गाएको गीत ? बहसको विषय होला । तर, स्रोताले यसलाई नारायणगोपालकै गीत भन्छन् न कि कालीप्रसाद रिजालको ।
एउटा गीतमा शब्द र भाव नचाहिने हुँदो हो त संगीतकारले पनि वाद्य संगीतमात्रै बनाएर चर्चा बटुल्थे, गायकले पनि राग अलापेर स्रोता-दर्शकको मन जित्थे । एउटा राम्रो गीतको सिर्जनाका लागि जति योगदान गाउने, संगीत दिनेको हुन्छ, त्यति नै योगदान शब्द कोर्नेको पनि हुन्छ । तर, गीत सुन्ने, सुनाउने कसैले पनि यो शब्द कसले लेखेको भन्ने सोधीखोजी गर्दैनन् । कानले सुन्ने आवाज त चिनिन्छ ।
शायद स्रोताले चिन्ने गरी धून रच्नेको पनि एउटा शैली हुन्छ । तर लेखक ? लेखकको शब्द र भावना कसरी चिन्नू ? एउटा गीत बनिसकेपछि त्यो गीत गायकको हुन्छ । त्यसको सिर्जनामा योगदान दिने अरू पक्ष किन गौण हुन्छन् ? गीत सर्जकको परिचय गराउनु न सञ्चारमाध्यमका लागि प्राथमिकतामा पर्छन् न स्रोताको चासोको विषय बन्छ । हुँदाहुँदा सिर्जनाका सहकर्मीहरूले पनि लेखकलार्इ बिर्सन्छन् । लेखकलाई चिनाउन जरूरी ठानिँदैन । स्रोताले पनि चिन्न जरूरी ठान्दैनन् ।
एउटा नायक, जो अरू कुनै नायकको छोरा भएकै कारण नायक भएको छ । उसको पछाडि मिडिया लागेको हुन्छ । एउटा गायक, जसले भर्खरै एउटा हिट गीत दिएको हुन्छ, उसका पछाडि पनि मिडिया लाग्छ । तर, एउटा लेखक, जसले कैयौं लोकप्रिय सिर्जना दिइसकेको हुन्छ, कहिल्यै पनि मिडियाका लागि प्राथमिकतामा पर्दैन । शायद मिडिया पनि लेनदेनमा चल्छ । एउटा खबर, एउटा अन्तर्वार्ता लेखकका लागि खर्च गर्दा फिर्तामा कति चर्चा आउँछ भनेर हिसाबकिताब हुँदो हो ।
विचरा लेखक ! के गरोस् ! पारिश्रमिक त पाउँदैन, फिर्तामा झन् के दिन सक्दो हो ! उसलार्इ कसैले चिन्दैन र उसलार्इ चिनेका कारणले कुनै पनि सञ्चारमाध्यमले स्रोता, दर्शक पाउँदैन ।
गजल लेखनमा गजलकारले शेरमा आफ्नो नाम उल्लेख गरेमा त्यसलाई तखल्लुस भनिन्छ । उहिलेको जमानामा राजदरबारमा मुशायरा (गजल सुनाउने समारोह) हुँदा आफ्नो परिचय पनि आओस् भनेर शायरहरूले तखल्लुस घुसाउने चलन चलाएका रे ! नेपाली सांगीतिक क्षेत्रमा लेखकहरू पनि तखल्लुसको खोजीमा छन् ।