
काठमाडौं । केही दिनयता देशमा उकुसमुकुस गर्मी छ । तराई क्षेत्रमा तातो हावाको लहर छ । दिउँसोको समयमा बाहिर निस्कन सकस छ ।
देशका कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि छ । काठमाडौंको तापक्रम पनि ३० डिग्री नाघिसकेको छ । शनिबार (वैशाख १३) काठमाडौंको अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार (वैशाख १२) काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री थियो । बिहीबार (वैशाख ११) काठमाडौंको अधिकतम तापक्रम ३३.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।
गत वर्ष काठमाडौंमा २५ वर्षयताकै गर्मी भएको थियो ।
महाशाखाले शनिबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.२ डिग्री सेल्सियस छ । शुक्रबार भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री थियो । बिहीबार भैरहवाको तापक्रम ४०.६ डिग्री मापन गरिएको थियो ।
शनिबार धनगढीको अधिकतम तापक्रम ४१.० नेपालगन्जको ४०.६, जनकपुरको ३८.३, दिपायल र सिमराको समान ३८.० डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.८ नेपालगन्जको ४०.०, जनकपुरको ३८.८, दिपायलको ३८.२, सिमराको ३८.६ डिग्री थियो ।
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
केही दिन गर्मी घट्ने
आइतबार (वैशाख १४)देखि वर्षाको सम्भावना रहेकाले गर्मी केही घट्ने मौसमविद्ले जनाएका छन् । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबका तीन/चार दिन गर्मीबाट राहत हुने सम्भावना बलियो रहेको उल्लेख गरेका छन् ।
“...वैशाख १७ गतेसम्म गर्मीबाट राहत हुने सम्भावना बलियो,” उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सुदूरपश्चिममा भने यो प्रणालीको असर कम, त्यसमा पनि विशेष गरी कैलाली, कञ्चनपुरमा गर्मीमा हल्का राहत भए पनि पानी पाउन भने वैशाख २१–२२ नै कुर्नुपर्छ जस्तो छ ।”
उनले अगाडि लेखेका छन्, “वाग्मती प्रदेश, गण्डकी, कोसी र मधेसमा भने आउने हप्ता हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरका उच्च पहाडी र हिमाली अनि कर्णालीको उच्च हिमाली क्षेत्रमा भने हल्का प्रभाव देखिन सक्ने ।”
शनिबारको तापक्रमको विवरण हेर्नोस्–