कुनै बेला ‘नागरिक पत्रकारिता’सम्म भनिएको सामाजिक सञ्जाललाई अहिले असामाजिक तत्त्वले ‘घृणा र द्वेष’को मञ्च बनाउँदै गलेको छ । एकजना संवेदनशील एवं सचेत कलाकारको शालीन अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा प्रकट ‘घृणा र असहिष्णुता’ यसको पछिल्लो उदाहरण हो ।
कसैको अभिव्यक्तिप्रति व्यक्ति वा समूह विशेषको चित्त नबुझ्न सक्छ । कसैको चित्त बुझेन भने लोकतान्त्रिक प्रणालीमा त्यसको शिष्ट प्रतिवाद पनि गर्न पाइन्छ । र, यसरी गरिने प्रतिवाद वा असहमति भने शालीन र शिष्ट हुनुपर्छ ।
यो सभ्य र सुसंस्कृत समाजको सामान्य मान्यतामात्र होइन कसी पनि हो । असहमत हुनेबित्तिकै ‘धारे हात’ लगाउने प्रवृत्ति भएको समाज यसैले सभ्य र सुसंस्कृत मानिदैन । सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिका आधारमा नेपाली समाज सभ्य र सुसंस्कृत मान्न सकिँदैन ।
विपक्षीविरुद्ध ‘अरिंगाल’ भएर जाइलाग्न वा ‘निमिट्यान्न’ बनाउन कार्यकर्तालाई उक्साउनेहरू नेताहरू भएको समाजमा असहिष्णु र अशिष्ट प्रवृत्ति बढ्नु अस्वाभाविक भने होइन । अरिंगाल भएर विरोधीमाथि जाइलाग्न उक्साउनेहरूकै विरुद्धसमेत अहिले सामाजिक सञ्जालमा घृणाको खेती भइरहेको देखिएको छ ।
सामाजिक सञ्जालमा धेरैजसो अनुहार लुकाउने हुँडारहरूले फैलाउने भ्रम र घृणाको परिणाम कुनै पनि बेला भयावह हुनसक्छ । राजनीतिकर्मीका लागि त त्यस्तो भ्रमबाट पर्ने प्रभावलाई बेवास्ता गर्न कठिन नहोला तर सामान्य व्यक्तिहरू अझ कलाकारजस्ता संवेदनशील व्यक्तिहरू त बढी नै हतास हुनसक्छन् ।
अभिनेत्री सुरक्षा पन्तले हृदयेन्द्र शाहप्रति लक्षित कुनै गलत टिप्पणी गरेकी थिइनन् । तर, ‘सामन्ती राजतन्त्र’का ताबेदारहरूका लागि उनको सामान्य कलाकारसुलभ टिप्पणी पनि सह्य भएन । तर, नेपाली समाज लोकतान्त्रिक मार्गमा अगाडि बढिसकेकाले ताबेदारहरूको चाहना भने पूरा हुने देखिँदैन ।
सुरक्षाको अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा पनि ‘स्पष्ट र चर्को’ स्वर ध्वनित हुनथालेको छ । यसै पनि नेपाली समाज ‘कट्टरपन्थी’ होइन । त्यसमाथि नागरिकहरूले लोकतान्त्रिक गणतन्त्रको स्वाद चाखेका दुई दशक पुग्न लागेको छ । अब कसैले पनि अरू कसैलाई तर्साएर चुप लगाउने वा ‘सुगा रटाउने’ दिवास्वप्न नदेखे हुन्छ ।
पछिल्ला दिनमा विशेषगरी सामाजिक सञ्जालहरूमा देखिएको चरम असहिष्णु तथा अराजक प्रवृत्ति उन्नत लोकतान्त्रिक समाजको निर्माणमा बाधक हुने देखिँदै गएको छ । यसैले नेपाली समाज र लोकतान्त्रिक गणतन्त्र सुहाउँदो सभ्य सभाजको विकासका लागि यस्ता दुष्प्रवृत्तिलाई हतोत्साही गर्नुपर्छ ।
सामाजिक सञ्जाललगायत राजनीतिकर्मीहरूको अभिव्यक्तिमा देखिने गरेको अशिष्ट अरिंगाले प्रवृत्तिविरुद्ध समाजका प्रबुद्ध नागरिकहरूले आवाज उठाउनु जरूरी देखिन्छ । नेपालको भविष्य र गन्तव्य शिष्ट, शालीन, सभ्य र स्वतन्त्र नेपाली समाजको निर्माण हुनुपर्छ ।