
विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । शनिबार (वैशाख १३) विराटनगरमा भएको उद्घाटन खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि दुई विकेटको संघर्षपूर्ण जित दर्ता गर्यो ।
१३१ रनको झिनो लक्ष्य आर्मीले ३७.२ बलमा आठ विकेट गुमाएर पूरा गरेको हो । आर्मीको जितमा ‘प्लेयर अफ द म्याच’ नरेन साउदले ६४ रनको योगदान गरे । सुमित श्रेष्ठले अविजित २१ र पवन कार्कीले पनि अविजित १० रन जोडे ।
एपीएफका दिवन पुनले तीन विकेट लिए । कप्तान भुवन कार्की र विकास अग्रिले दुई/दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४४.३ बलमा सबै विकेट गुमाउनुअघि १३० रन बनाएको थियो । एपीएफका प्रकाश जैशीले अविजित ३४ रन जोडे । कप्तान भुवन कार्कीले २५, दीपक बोहराले १६, अभिषेक पालले १२ रन बनाए ।
आर्मीका दुगेश गुप्ताले तीन विकेट लिए । विशाल सुस्लिङ र नरेन राउदले दुई/दुई विकेट लिए ।
एमएम कप फाउन्डेसनको आयोजनामा यही वैशाख २० गतेसम्म सञ्चालन गरिने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष टिमले फाइनल खेल्नेछन् ।
यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । ०७५ सालमा पहिलो र ०७६ को दोस्रो संस्करण दुवैको उपाधि आर्मीले जितेको थियो ।
तेस्रो संस्करणमा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोसी प्रदेश, वाग्मती प्रदेश, नेपाल पुलिस क्लब, आर्मी र एपीएफले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
प्रतियोगिता विजेतालाई नगद चार लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । उपविजेताले दुई लाख र ट्रफी पाउनेछ ।