विशेष
(अधिकारी रबिन्द्र, बनेपा )
मानिसको जीवनमा गुरु धेरै हुन्छन् । निर्जीव वस्तु नै भए पनि जेबाट केही सिकिन्छ त्यसैलाई गुरु मान्ने परम्परा छ । सिकाइ कहिल्यै सकिँदैन । तैपनि, आषाढ शुक्ल पूर्णिमालाई गुरुपुर्णिमाका रूपमा मनाइन्छ । गुरुलाई सम्झने र श्रद्धा गर्ने क्रममा म एक जना गुरुको चर्चा गर्दैछु ।
गुरु हुन विद्यार्थी हुनुभन्दा धेरै मुस्किल हुन्छ । कठिन तपस्याले मात्र व्यक्तिलाई असल गुरु बनाउँछ । यस्ता असल गुरुमध्येका एक जना हुन् — उमारुद्र बस्नेत अर्थात् उमासर ।
हुनत, थुप्रै आदरणीय गुरुजनसँग सिक्न पाउने मौका मिलिरह्यो । म मेरो ज्ञानको क्षितिजलाई फराकिलो बनाउन भूमिका खेल्ने सबै गुरुजनप्रति आभारी पनि छु । तर यो लेख ती सबै महान् गुरुहरूमध्येका पनि आदर्श गुरु उमा सरका बारेमा छ ।
उमासरको यो चित्र २०५६/५७ सालतिर विद्यार्थीको नाताले संपर्कमा आउँदा मेरो मानसमा बनेको हो । यो चित्र स्फटिकजस्तै सफेद तर गाढा छ । उहाँसँग आजभोलि आक्कल झुक्कल भेट भए पनि म भने ५६ सालकै उमा सर खोजिरहेको हुन्छु: आदर्शको आकाश, निस्वार्थको भकारी र सरसताको प्रतिमूर्ती । शिक्षक त अरू पनि पाउन सकिएला तर उमासर पाउन धर्तीले एउटा पुस्ता कुर्नुपर्छ ।
उहा दिनहुँ काभ्रेको कपालकोटबाट कुशादेवीसम्म पैदल आउनु हुन्थ्यो । विद्यार्थी र शिक्षण भनेपछि उहाँ कतिसम्म समर्पित हुनुहुन्थ्यो भने हाफ टाइममा पढाउनु भयो, तीन चालीसको घर जाने घन्टी बजिसकेपछि अतिरिक्त कक्षा लिनुभयो सबै सबै निःशुल्क । अरू शिक्षकहरू ट्युसन र कोचिङ भनेर विद्यार्थीसँग पैसा असुलेर पढाउन लोभिन्थे वा समय सकिने घन्टी बज्नुअघि नै कक्षा छोड्न तयार रहन्थे उहाँ निःशुल्क थप कक्षा लिनु हुन्थ्यो । खल्ती रित्तो भए पनि लगभग अँध्यारो भएपछि प्रशन्नचित्त घर फिर्नु हुन्थ्यो । परिवार भएको शिक्षकले विद्यार्थीलाई आफ्नै परिवार नसोचेसम्म त्यसो त्यसो गर्न सक्दैन ।
चौथो पेरियडमा सन्चो छैन भनेर भाग्ने विद्यार्थीको घरमा गएर उसलाई कक्षामा ल्याउनु हुन्थ्यो । कक्षामा पूरक सङ्ख्या नपुगुन्जेल एउटै विद्यार्थी भए पनि कुरेरै बस्न रुचाउनु हुन्थ्यो । एक्पटक मस्तेलाई उसकै घरमा गई क्लासमा आइज भनी खाना खाँदाखाँदै हातबाट थाल छुटाएर पाखुरामा समातेरै कक्षामा ल्याउनु भयो ।
विद्यार्थीलाई सबैभन्दा गाह्रो र पट्ट्यारलाग्दो काम पढ्न नै हो । उहाँलाइ पढाउन कति धेरै प्रेम थियो भने उहाँ विद्यार्थीको अरुचिको पात्र बन्नुहुन्थ्यो । अनिवार्य गणित, विज्ञान र अतिरिक्त गणित तिनैवटा गाह्रा र महत्वपूर्ण विषय उहाँले नै पढाउनु हुन्थ्यो ।
उहाँको जीवनै गणितमय थियो । टेबुल टेनिस खेल्दा पाराबोलाको अनि भलिबल खेल्दा त्रिकोणमितिको सिद्धान्त सिकाउनु हुन्थ्यो । कक्षामा ब्ल्याकबोर्डमा चकले छक खाने अक्षर लेख्नु हुन्थ्यो । गोला र निकै राम्रा मसिना हस्ताक्षर थियो उहाँको । अक्षरका ठाडा धर्का भने तल्लो हारसम्म ठोक्किने गरी लामा हुन्थे । उहाँ वास्तवमा ‘मिस्टर पर्फेक्ट’ नै हुनुहुन्थ्यो । शब्दमाथि दिने डिको स्केलले कोरेजस्तै सिधा नहुन्जेलसम्म उहा हजारचोटी मेट्न पनि अल्छी गर्नु हुन्नथ्यो । पढाउँदा उहाँ कक्षाको अगाडि पट्टि दाँया अनि बाँया र त्यस डुल्ती रेखाको मध्यबिन्दुबाट लम्ब बनाई डेस्कहरू बीचको बाटोबाट पछाडि जानुहुन्थ्यो । पछाडि जाँदा उहाको बेग कम हुन्थ्यो र प्रायः सबै विद्यार्थीको अनुहारमा हेर्न भ्याउनु हुन्थ्यो । जस्तै कुनै दिन ‘आफ्नो टुप्पीमाथिको खगोलिय बिन्दुलाई नतांश भनिन्छ’ भन्दै कक्षाको पछाडि टुप्पी मुसार्दै मन्द बेगले जानुहुन्थ्यो । पछाडि पुगिसकेपछि अगाडि फर्केर एकछिन रोकिनुहुन्थ्यो, ध्वनि र गति दुवै टक्क । सबै विद्यार्थीको चालामाला र कानेखुसी पछाडिबाट देख्नुहुन्थ्यो अनि सतर्क गराउनु हुन्थ्यो । त्यसपछि ब्ल्याकबोर्डको आफ्नो चकको अक्षर हेर्नु हुन्थ्यो । सुरुको गति शून्यबाट उहाँ अगणित प्रवेगले हुत्तिएर ब्ल्याकबोर्डको त्यही अक्षरको डिकोमा हात लगाउन पुग्नुहुन्थ्यो जस्को डिको हल्का बाङ्गो हुन्थ्यो । उहाँको कक्षामा अक्षरहरू प्रायः चारपाँच पटकसमेत मेटिने र फेरि लेखिने हुन्थे ।
हिड्दा एउटा हात बढी हल्लाउनु हुन्थ्यो, अर्को हात अलि कम । टाउको उहाँले करिब असी डिग्रीमा ढल्काएर हिँड्नु हुन्थ्यो । उमा सर भन्नासाथ हल्का कालो टिन्टको चस्मा, हरियो रंगको पुरानो ज्याकेट र कालो गोल्डस्टार जुत्ता लगाएको सादा जीवन उच्च विचार भएको दारी छुस्स पालेको अधबैंसे व्यक्ति नै मेरो मानसपटलमा आउँछ ।
धेरै विद्यार्थीले उहाँको त्याग बुझ्दैन थिए । सबै विद्यार्थीका लागि उहाँ खाली पढ् पढ् भनेर कर गरिरहने झर्को लाग्ने शिक्षक हुनुहुन्थ्यो । विद्यार्थीलाई रिजल्ट्मा फेल भइसकेपछि मात्र उहाँको याद आउँथ्यो । आफ्ना सबै विद्यार्थी असल मान्छे बनुन् भन्ने उहाँको ध्येय धेरैपछिमात्र बुझिन्थ्यो । “विषयप्रतिको गम्भीरता नहुनु भनेको लक्ष्यप्रतिको स्पष्टता नहुनु हो” भन्ने भनाइ त उहाँको थेगोजस्तै थियो । यो कथन त कतिपटक ब्ल्याकबोर्डमै लेख्नुभएको थियो ।
एउटा कुशल चित्रकारले उहाँको मुखाकृति क्यान्भासमा रंगीन ब्रसले पोत्यो भने नजानिदो पीडा मिश्रित भावको श्यामल अनुहार बन्छ होला । उहाँको हाँसो भने दुर्लभै थियो । क्लासको सबैभन्दा लद्दु विद्यार्थीलाई नौ नम्बर ज्यामिती साध्य मुखाग्र आएमात्र उहाँ हाँस्नु हुन्थ्यो । गणितमा शून्य अंक आउनेदेखि नब्बे आउनेसम्मका विद्यार्थीलाई उहाँ चैनको सास फेर्न दिनु हुन्नथियो । सबै हिसाब सबैले गर्नै पथ्र्याे न आए पनि प्रयास गरेको प्रमाणै चाहिन्थ्यो उहाँलाई । प्रथमदेखि अन्तिम हुने सम्मका सबै विद्यार्थीलाई हौसला दिने गरी उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘धेरै आयो भनेर केराउ फुल्या जस्तो फुल्ने अनि आएन भनेर मरिचजस्तो चाउरिने गर्नु हुँदैन’ । एसएलसीमा आफ्ना विषयमा नब्बे कटाउनेलाई वर्षैपिच्छे आफ्नै प्रयासमा अक्स्फोर्ड डिक्सनरी र भित्ते घडी दिने घोषणा गर्नुभएको थियो ।
लाग्थ्यो, उहाँ गणितमा जिउनुहुन्थ्यो र विज्ञानमा सपना देख्नुहुन्थ्यो । उहाँको जिन्दगीको एक वर्षको एउटा पानामा सयभन्दा बढी विद्यार्थी प्रवेशिका परीक्षा दिएर स्कुलबाट बाहिरिन्थे । पाना फेरिँदै गए पनि उहाँको दिनचर्या र उद्देश्य उस्तै नै रह्यो । शिक्षार्थी फेरिए पनि उहाँले दिने शिक्षा र शिक्षण पद्धति त्यस्तै रह्यो । उहाले पढाउने विषय नै विद्यार्थीको भविष्य निर्धारणमा निर्णायक हुन्थे । उहाँले पढाएको आम्ल र क्षार नजानेको भए जिन्दगीको पाइलामा हुने प्रत्येक ‘लिट्मस टेस्ट’मा असफल हुने पक्का थियो ।
गुरुपुर्णिमाको अवसरमा दोबाटोमा कुरेर हजारांै विद्यार्थीलाई पथ प्रदर्शन गरिरहने गुरुलाई कोटीकोटी नमन । र, आज पनि इन्द्रेश्वर माध्यमिक विद्यालयमा सेवारत हुनुहुन्छ । धेरै विद्यार्थी उहाँ अन्धकारमा टुकी बालेर बस्ने दोबाटोसम्म पुग्न सकेनन्, कोही दोबाटोकै वरपर अल्झिरहे । धेरैले त्यो दोबाटो छिचोलेर कोसांै परसम्म पुगे र पुग्दैछन् । उमा सरको एउटामात्रै कक्षा लिएको छ भने पनि सबैले उमा सरलाई सम्झिनै पर्छ । उहाँप्रति अभार प्रकट गर्नै पर्छ ।
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३ १२:२६
प्रतिक्रिया दिनुहोस्