site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्यो, ट्रम्पको चेतावनीपछि के हुन्छ ?

काठमाडौं । इजरायलले युद्धविराम सम्झौताको ‘उल्लङ्घन’ गरेको आरोप लगाउँदै प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायली बन्धकहरूको निर्धारित रिहाइ रोक्ने घोषणा गरेको छ ।

इजरायलले हमासको घोषणालाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लङ्घन’ भनेको छ । यससँगै इजरायलका प्रधानमन्त्रीले आफ्नो सेनालाई सतर्क रहन निर्देशन दिएका छन् । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिँदै शनिबारसम्म सबै बन्धकहरू रिहा गर्न समयसीमा तोकेका छन् । 

Argakhachi Cement Island Ad

ट्रम्पले भनेका छन, “यदि हमासले बन्धकहरू रिहा गर्दैन भने युद्धविराम सम्झौता रद्द गरिनुपर्छ ।” 

हमासको घोषणा

हमासले सोमबार अर्थात फेब्रुअरी १० मा इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेको थियो । हमासले इजरायलमाथि ‘युद्धविराम सम्झौता उल्लङ्घन’ गरेको आरोप लगाउँदै उक्त घोषणा गरेको थियो । 

“इजरायलले युद्धविराम सम्झौताका सर्तहरू पालना गरिरहेको छैन,” हमासले आफ्नो विज्ञप्तिमा भनेको छ । 

हमासले विज्ञप्तिमा भनेको छ, “विगत तीन हप्तामा बारम्बार युद्धविराम सम्झौता उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको हाम्रो नेतृत्वले देखेको छ ।”

आफ्नो विज्ञप्तिमा हमासले इजरायललाई ‘विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्काउन ढिलाइ गरेको’ र ‘गाजा पट्टीका धेरै क्षेत्रहरूमा गोलाबारी गरेको’ आरोप लगाएको छ । यसबाहेक, हमासले सहायता आपूर्तिसम्बन्धी सम्झौता पनि इजरायली पक्षबाट पनि ‘उल्लङ्घन’ गरिरहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघले के भन्यो ?

इजरायली बन्धकहरूको रिहाइमा ढिलाइ गर्ने हमासको निर्णयप्रति संयुक्त राष्ट्रसंघले प्रतिक्रिया जनाएको छ ।  संयुक्त राष्ट्रसंघ (यूएन)ले इजरायल र हमासले युद्धविराम सम्झौताको आ–आफ्नो पक्ष कायम राख्नुपर्ने बताएको छ ।

“हामी सबै पक्षहरूले युद्धविरामअन्तर्गत आ–आफ्नो सम्झौताको पालना गरेको सुनिश्चित गर्न चाहन्छौं,” संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान हकले पत्रकारहरूलाई भने ।

हमासको घोषणा युद्धविरामको उल्लङ्घन हो कि होइन ? भन्ने प्रश्न गर्दा संयुक्त राष्ट्रसंघका प्रवक्ताले ‘कुनै पनि ढिलाइ’ एक ‘समस्या’ हुने बताए ।

“हामी यो सुनिश्चित गर्न चाहन्छौं कि कुनै ढिलाइ, कुनै अवरोध नहोस् र इजरायल र हमासबीचको सम्झौता पूर्व तय गरिएको सम्झौता अनुसार कार्यान्वयन होस्,” उनले भने । 

हमासको घोषणाको अर्थ के हो ?

इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूका लागि अर्को रिहाई मिति फेब्रुअरी १५ (अर्को शनिबार) का लागि तय गरिएको थियो । 

उक्त दिन तीन इजरायली नागरिकलाई हमासले रिहा गर्ने भनिएको थियो, तर हमासले यो रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । हमासले पाँच दिनअघि बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेको थियो ।

यसको एउटा अर्थ यो हुन सक्छ, हमासले गतिरोध समाधान गर्न समय दिइरहेको छ ।  टेलिग्राममा जारी गरिएको आफ्नो आधिकारिक विज्ञप्तिमा हमासले आफ्नो घोषणा इजरायलका लागि ‘चेतावनी’ भनेको छ ।  हमासले इजरायललाई ‘आफ्नो दायित्व पूरा गर्न पर्याप्त समय’ दिइरहेको बताएको छ । हमासले अर्को निर्धारित रिहाइलाई अस्वीकार गरेको छैन र वार्ताको विकल्प ‘खुला’ राखेको छ ।

यस्तो देखिन्छ कि हमासले गतिरोध समाधान गर्न समय दिइरहेको छ । तर प्रश्न यो छ, गतिरोध के हो ? के हमासले साँच्चै इजरायलले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेको गुनासो गरिरहेको छ वा यो अरू नै केही हो ?

युद्धविरामको पहिलो चरणमा के भयो ?

युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकहरूलाई रिहा गरिने भनिएको थियो । १६ जना इजरायली बन्धकहरू रिहा भइसकेका छन् भने १७ जना बन्धकहरूको रिहाइ हुन बाँकी छ ।

इजरायलले १७ इजरायली बन्धकमध्ये आठ जनाको मृत्यु भएको बताएको छ । यसको अर्थ ९ जना इजरायलीहरूलाई अझै रिहा गर्न बाँकी छ ।

हमासले छुट्टै सम्झौताअन्तर्गत पाँच थाई नागरिकलाई पनि रिहा गरेको छ । युद्धविराम सम्झौताअन्तर्गत इजरायलले लगभग १ हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बताएको छ । तीमध्ये सयौं पहिले नै रिहा भइसकेका छन् । 

सम्झौताको दोस्रो चरणको वार्ता गर्न इजरायली प्रतिनिधिमण्डल कतारमा छ, जसमा थप बन्धक र कैदीहरूलाई रिहा गर्ने कुरा उल्लेख छ । हमासको घोषणाले यी वार्ताहरूमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा अझै स्पष्ट छैन ।

हमासलाई ट्रम्पको चेतावनी

हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन् । 

ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यका लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएका छन् । “जहाँसम्म मेरो चासोको कुरा छ, यदि सबै बन्धकहरूलाई शनिबार १२ बजेसम्ममा रिहा गरिएन भने, म भन्छु, यसलाई (सम्झौता) रद्द गरियोस् र विध्वंस मच्चाइयोस्,” ट्रम्पले भने । 

ट्रम्पले शनिबार दिउँसो १२ बजे हो या मध्यरात १२ बजे भन्ने अझै स्पष्ट छैन । यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि स्पष्ट छैन ।

ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिनुपर्ने बताएका छन्, पटक पटक होइन ।

यदि यो भएन भने ‘विनाश मच्चाउने’ भन्ने उनको भनाइको अर्थ के हो भनी ट्रम्पलाई सोध्दा उनले जवाफ दिए, “तपाईंलाई थाहा हुनेछ र उनीहरूले पनि थाहा पाउनेछन् । हमासले मेरो मतलब के हो भनी बुझ्नेछ ।”

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नाम नलिई ‘यो मेरो समयसीमा हो’ भनेका थिए । (बीबीसीबाट भावानुवाद)
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्